काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा ठूलो आर्थिक हिनामिना भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले सो नगरपालिकामा ठूलो आर्थिक हिनामिना भएको खुलासा गरेको हो ।
यतिसम्म कि नगरपालिकाका कर्मचारीले कार्यालयको खर्च भन्दै लाखौँ रुपैयाँ भुक्तानी लिएको पनि लेखापरीक्षण प्रतिवेदनले खुलासा गरेको छ ।
प्रतिवेदन अनुसार नगरपालिकाका प्रशासकीय अधिकृत (छैटौँ) अनिल बहादुर बोहराले एक आर्थिक वर्षमै नगरपालिकाबाट ५९ लाख ३८ हजार ५ सय २३ रुपैयाँ भुक्तानी लिएका छन् । सो रकम खाना, खाजा, इन्धन, मर्मत र गाडी भाडाका लागि भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसो त अर्थ मन्त्रालयका बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनको निर्देशन नं. ४५ मा सबै प्रकारका कारोबारको भुक्तानी दिँदा अनिवार्य रुपमा बैंकमार्फत भुक्तानी दिनुपर्ने व्यवस्था छ ।

तर, पुर्चौडी नगरपालिकाले भने खर्चको भुक्तानी दिँदा सम्बन्धित सप्लायर्सको बैंक खातामा नभएर विभिन्न कर्मचारीलाई नगद भुक्तानी दिएको भेटिएको छ । अझ नगरपालिकाले एउटै कर्मचारीलाई झण्डै ६० लाख भुक्तानी गर्नुले बजेटको पारदर्शितामाथि नै प्रश्न उठाएको छ ।
त्यस्तै, नगरपालिकाले औषधि खरिदका लागि लोकेन्द्र बहादुर धामीलाई ७२ हजार, कार्यालय सामान खरिदका लागि उजुरी प्रशासक चक्र बहादुर ढुंगाललाई ९० हजार ४ सय, खाना, खाजा र गाडी भाडाका लागि प्रविन धानुकलाई १ लाख २० हजार ८ सय, खाना-खाजाकै लागि मिना कुमार जोशीलाई ५६ हजार ६ सय र इन्धन तथा मर्मतमा जगदिश जोशीलाई ६ लाख ३ हजार ९ सय ३ रुपैयाँ भुक्तानी गरेको छ ।
यसरी कर्मचारीलाई नगद शोधभर्ना दिँदा सम्बन्धित सप्लायर्सले पाएको सुनिश्चित हुन नसक्ने तथा पारदर्शिता समेत नदेखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बोहोरा भन्छन्- ‘व्यक्तिगत रुपमा भुक्तानी लिनु गल्ती भयो, घोटाला भएको छैन’
यता नगरपालिकाका प्रशासकीय अधिकृत बोहराले भने व्यक्तिगत रुपमा भुक्तानी लिनु गल्ती भएको स्वीकारेका छन् ।
‘अफिसले जिम्मेवारी दियो । अफिसले दिएको जिम्मेवारी अनुसार पेश्की लिएर कार्यक्रम गराएका हुँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बोहराले भने, ‘बजेट फ्रिज जानुभन्दा कार्यक्रम होस् भनेर कार्यक्रम गरेँ । कमजोरी भयो ।’
बोहराका अनुसार सो बजेट आर्थिक वर्षको अन्त्यका सीपमुलक कार्यक्रमका लागि भन्दै आएको थियो । तत्काल टेन्डर आह्वान गरेर कार्यक्रम गर्न नसकिने र बजेट फ्रिज जाने भएपछि पेश्की लिएर कार्यक्रम गर्नुपरेको थियो । बोहराले लिएको ५९ लाख ३८ हजार ५ सय २३ रुपैयाँमध्ये अधिकांश सीपमूलक कार्यक्रममा खर्च भएको उनको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्