Skip to content
LAXMI SUNRISE BANK

नाडा अटो शो भदौ ९ गतेदेखि हुँदै, २०० भन्दा बढी स्टल रहने

अर्थ सरोकार

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको अटो शो विशेष रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीले नेपालमा तीव्र गतिमा विकसित हुँदै गएको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ ।

आयोजकका अनुसार करिब तीन लाख वर्गफुट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन तथा वित्तीय र बीमा सेवाप्रदायक कम्पनीहरूको सहभागिता रहनेछ ।

त्यस्तै, अटोमोबाइल पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, एक्सेसरिज तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादन र सेवाका करिब ७० वटा स्टल रहने आयोजकले जनाएको छ । नेपालमै एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेटलगायत सामग्रीसमेत प्रदर्शनीमा राखिनेछन् ।

नयाँ प्रविधि र रोबोट मुख्य आकर्षण

यस वर्षको अटो शोमा G1 Humanoid Robot र Go2 Quadruped Robot समेत प्रदर्शन गरिने भएको छ । भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा प्रयोग हुन सक्ने प्रविधिबारे आगन्तुकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले रोबोट प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।

त्यस्तै, ‘Made in Nepal / Made for Nepal Pavilion’ मार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गर्ने उद्देश्यले प्रोडक्ट लन्च, स्मार्ट मोबिलिटी तथा सवारी क्षेत्रको दिगो विकासका विषयमा सिम्पोजियम लगायत कार्यक्रमसमेत आयोजना हुनेछन्।

टिकटिङदेखि पार्किङसम्म विशेष व्यवस्था

आयोजकले आगन्तुकको सुविधाका लागि विभिन्न व्यवस्था गरिएको जनाएको छ । खल्तीमार्फत अग्रिम टिकट खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।

प्रदर्शनीस्थलमा छुट्टै मिडिया डेस्क तथा काठमाडौं महानगर ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सूचना डेस्क सञ्चालन गरिनेछ । क्याफेटेरियामा सफा तथा स्वस्थ खानाको व्यवस्था, आपत्कालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा आगलागी नियन्त्रणको प्रबन्धसमेत गरिने आयोजकले जनाएको छ ।

पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत व्यवस्था गरिनेछ। साथै, ह्वीलचेयरमैत्री सुविधा उपलब्ध गराइनेछ ।

करिब दुई लाख आगन्तुक आउने अपेक्षा

नाडाका अनुसार विगतका संस्करणको तुलनामा यस वर्ष प्रदर्शनीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाइएको छ। आयोजकले छ दिनमा करिब दुई लाख आगन्तुकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ।

अटोमोबाइल व्यवसायी, उद्योगी, सवारीसाधन खरिदकर्ता, अटोप्रेमी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एउटै स्थानमा नयाँ सवारीसाधन, प्रविधि र सेवाबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यस वर्षको अटो शोमा शिखर इन्स्योरेन्स कम्पनी को-स्पोन्सर तथा इन्स्योरेन्स पार्टनर, CAMPA बेभरेज पार्टनर, GI Charger चार्जिङ पार्टनर, The Plaza हस्पिटालिटी पार्टनर, Khalti by IME टिकटिङ पार्टनर, YANGO मोबिलिटी पार्टनर र WorldLink कनेक्टिभिटी पार्टनरका रूपमा सहभागी छन् ।

त्यस्तै, HIKVISION CCTV Nepal सर्भिलेन्स पार्टनर, Alka Hospital अस्पताल पार्टनर, The Bakery Cafe फुड पार्टनर तथा Global Exposition & Management Services (GEMS) इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK