काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो ।
बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ ।
उक्त निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ । बोलकबोलमा न्यूनतम रु १० करोड र त्यसपछि रु १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्मको रकम बोल गर्न सकिने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोलको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ ।
आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।
स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ । बोल स्वीकृत भएको बैंक तथा वित्तीय संस्थाको खातामा उक्त उपकरण निष्कासन हुने दिन पर्याप्त मौज्दात नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाइने छ ।
निक्षेप सङ्कलनको भुक्तानी मितिमा तोकिएको ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन गरिएको रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोका रूपमा गणना गर्न सकिने तर अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने जनाएको छ । राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्