Skip to content
LAXMI SUNRISE BANK

राहत संकलनका नाममा हुने दुरुपयोग रोक्न कडाई, सरकारले तोकेको बाहेक अन्य ‘क्युआर’मा सहयोग गर्न नदिइने !

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले व्यक्तिगत तथा संस्थागत खाताको नम्बर वा क्युआर कोड सार्वजनिक गरी राहत सङ्कलन नगर्न आग्रह गरिएको जानकारी दिएका छन् । उनले सङ्कलित रकम सिधै सरकारको खातामा जम्मा गर्न आग्रह गरेका छन् ।

बैठकले जिल्लामा प्राप्त हुनसक्ने राहत सामग्रीको विवरण तयार पार्ने र तत्काल राहत सामग्री सङ्कलन नगर्ने निर्णयसमेत गरेको छ । राहतलाई व्यवस्थित बनाउन तथा दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको सहायक प्रजिअ आचार्यले बताए ।

त्यस्तै, रसुवाको भोटेकोशी बाढीमा परी म्याग्दीका दुई जना बेपत्ता भएका छन् भने तीन जना सम्पर्कमा आएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मालिका गाउँपालिका-४ ओखरबोटका २५ वर्षीय भूपेन्द्र रेग्मी र धवलागिरि गाउँपालिका-२ खोरियाका २३ वर्षीय प्रविण पुर्जा सम्पर्कविहीन छन् ।

त्यस्तै, मङ्गला गाउँपालिका-५ किर्चौरका तीर्थविक, धवलागिरि गाउँपालिका–२ खोरियाका टीकाबहादुर र प्रदीप पुर्जा सम्पर्कमा आएका प्रशासनले जनाएको छ । सहायक प्रजिअ आचार्यका अनुसार उनीहरू रसुवाको त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए । बाढी आएपछि उनीहरू सुरक्षित स्थानतर्फ भागेका थिए ।

धादिङको गल्छीमा काम गर्दै आएका तीर्थ विकले बाढी आएपछि भागेर ज्यान जोगाएको र चार दिनपछि परिवारसँग सम्पर्कमा आएको बताए । उनले भने, ‘बाढी आएको सूचना पाउनेबित्तिकै भागेर ज्यान जोगाएँ । चार दिन पैदलयात्रा गरेर गल्छी आएपछि बल्ल परिवारसँग सम्पर्क गर्न पाएँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK