काठमाडौँ । के तपाईं घरमा रङ लगाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने घर रंगाउने तयारीमा रहनुभएको तपाईंका लागि आज दिमाग रिङ्ग्याउने खबर छ । घरमा रङ लगाउने भनेपछि ७ देखि १० वर्ष टिक्छ भन्ने त पक्कै सोच्नुभएको होला । टिक्नु पनि पर्छ । तर, तपाईंले लगाउनुभएको रङ बर्जरको पर्यो भने ७ वर्ष त के, ७ महिनामै सो रङ खुइलिन सक्छ । यतिबेला न कम्पनीले तपाईंको कुरा सुन्नेछ, न तपाईंको केही उपाय लाग्नेछ । मात्र तपाईंको पैसा खेर जानेछ, कस्तो कमसल रङ लगाएको भनेर छिमेकीले लुकिलुकी खिसीट्युरी गर्नेछन्, र तपाईंको टाउको आफ्नै घर हेरेर दुख्नेछ । यो हामीले लगाएको आरोप होइन, प्रमाणित तथ्य हो । बर्जर पेन्ट्स लगाउँदा ७ देखि १० वर्षसम्म टिक्छ भनिएको रङ ७ महिना पनि नटिकेपछि, ६ महिनादेखि नै खुइलिन थालेपछि ग्राहकले पाएको हैरानीको तथ्य हो । अझ तिमीले ७ वर्ष त टिक्छ टिक्छ भनेको रङ ७ महिनामै उड्यो, पैसा पनि खेर गयो भनेर गुनासो गर्दा पनि वेवास्ता गरेको बर्जरवाला कम्पनीको कमसल माल बिक्री र झुर कष्टमर रेस्पोन्सको दुखद सत्य हो । हो, बर्जरले कमसल रङ बेच्ने गरेको प्रमाणित भएको छ, कमसल रङ बेचेको कम्पनीले रङ खुइलिँदै पनि कुनै रेस्पोन्स गर्दैन भन्ने तथ्यको पनि खुलासा भएको छ र यसरी कमसल रङ बेच्नेले रङ किन्नेहरुलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने ठहर स्वयम् अदालतले गरेको छ ।
घरमा बर्जर पेन्ट्सको रङ लगाउनेले कसरी दुख पाए त ? ७ वर्ष टिक्छ भनेको रङ कसरी ७ महिना पनि नपुग्दै खुइलियो त ? अनि त्यसपछि के-के भयो, अव बुझौँ ।
भक्तपुरमा डिलरबाट दयाराम कार्कीले किनेको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) कम्पनीले बेच्ने बर्जर पेन्ट्स किनेर लगाए । तर, ७ वर्ष कम्तीमा टिक्छ भनिएको रङ ७ महिनामै खुइलियो । दीपकराज गिरीले पनि १० वर्षसम्म वारेन्टी छ भनी खरिद गरेको रङ ६ महिना पुगेपछि खुइलिन थाल्यो, ८ महिना पुग्दासम्म त घर हेर्नै नहुने भयो । त्यसपछि उनीहरु रङ किनेको बिल सहित डिलरकहाँ पुगे । डिलरले पनि रङ कमसल परेको स्वीकार गरी कम्पनीलाई सम्पर्क गर्यो । कम्पनीका प्रतिनिधिहरु घरमा आएर परीक्षण पनि गरे । उनीहरुले रङ कमसल परेको स्वीकार पनि गरे, र घरमा पुनः अर्को रङ लगाइदिने बाचा पनि गरे । तर उनीहरुले आफ्नो बाचा पूरा गरेनन् ।
केही दिनपछि रङमा कुनै डिफेक्ट छैन भन्ने सन्देश पठाए । रङको बाल्टीमा वारेन्टीको वर्ष छ, सो अनुसारको वारेन्टी पनि दिएनन् । ७ देखि १० वर्ष ढुक्क भनेर गरिएको विज्ञापन हेरेर लिईएको थियो ऋण, तर रङ खुईलिएर घर नै हेर्न नै नसकिने गरी टाटे पाङ्ग्रे हुँदा पनि रङ बेच्ने कम्पनीले केहि हेरेन । उल्टै सकेको गर भन्ने शैलीमा कम्पनीका प्रतिनिधिले व्यवहार गरे, र आफ्नो रङमा कुनै पनि वारेन्टी नभएको बताए । अनि वारेन्टी नभएको भए ७ देखि १० वर्षसम्म वारेन्टी भनेर किन विज्ञापन गरेको त ? भन्ने प्रश्न गर्दा कम्पनीलाई सोध्नुस भनेर उल्टै झर्किए बर्जरका प्रतिनिधिहरु ।
त्यसपछि पिडितहरु उपभोक्ता अदालत गए । अदालतले रङ खुइलिएको स्पष्ट देखिने प्रमाण खोज्यो, पिडितहरुले आफ्नो खुईलिएको घरको फोटो र भिडियो देखाए । अदालतले रङका बाल्टिन र बट्टाहरु जाँच गर्यो । खरिद गरिएको बेलाको बिल हेर्यो । वारेन्टी उल्लेख गरिएको विज्ञापनका फोटो भिडियोहरु हेर्यो । बर्जर वेदरकोट अलगार्ड नामक रंगको बट्टामा ‘एक्स्टेरियर वाल पेन्ट, सिलिकन इन्हान्स्ड’, ‘वेदरकोटः लङ लाइफ एक्स्टेरियर इमल्सन विथ पीयू’ भनी लेखिएको थियो, अदालतले त्यसलाई हेर्यो । रंगका बट्टामा ‘वारेण्टी ७ वर्ष’ भनी लोगो राखिएको तथा कुनैमा ‘वारेण्टी १० वर्ष’ भनी लेखिएको तथ्यलाई पनि अदालतले नोट गर्यो । कम्पनीद्वारा गरिएका विज्ञापनहरूमासमेत ‘वेदर कोट अल गार्ड’को लागि ७ वर्ष वारेण्टी भनिएको तथ्यसमेत हेर्यो अदालतले । र अन्ततः अदालतले बर्जरका नाममा उपभोक्ता ठगिएको ठहर गर्यो र बर्जर पेन्ट्स बिक्रेता कम्पनीलाई उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्यो ।
७ वर्ष टिक्छ भनेर ७ महिनामै खुईलिनेगरी बर्जरले कमसल माल बेचेको प्रमाणित भएपछि पिडितहरुलाई अदालतले क्षतिपूर्तिको फैसला गरेको छ । यसले एकातर्फ विज्ञापनका नाममा बर्जरले जे पनि दाबी गर्ने गरेको तथ्य बाहिरिएको छ भने अर्कोतर्फ बर्जरका रङहरु कमसल हुने गरेकोसमेत रहस्य बाहिर आएको छ । दयाराम कार्कीले १ लाख ४५ हजार ८ सय ९४ रुपैयाँ, र दिपक राज गिरीले १ लाख १९ हजार ९ सय ४१ रुपैयाँ र श्रेष्ठले ३ लाख ४५ हजार ८ सय ४१ रुपैयाँको पेन्ट खरिद गरेका थिए । तर ७ वर्ष टिक्छ भनेको रङ ७ महिना पनि नटिकेपछि, उल्टै कम्पनीले सकेको गर भन्ने आशय दिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको दाबी गर्दै कार्की र गिरी अदालत गएका थिए । र अन्ततः अदालतले गिरीले ३ लाख ४६ हजार १ सय रुपैयाँ, श्रेष्ठले ६ लाख ३४ हजार ८ सय रुपैयाँ र कार्कीले २ लाख ९७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति पाउने फैसला गरेको छ । उपभोक्ता अदालत, काठमाडौंका सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यस्तो फैसला गरेको छ ।
अदालतले सोझा नेपालीलाई कमसल रङ बेच्ने बर्जरलाई क्षतिपूर्ति दिन मात्र भनेको छैन, कम्पनीले गरिरहेको विज्ञापन पनि गलत भएको ठहर गरेको छ । ‘वेदरकोट लङलाइफः एक्स्टेरियर इमल्सन विथ पीयू’ भन्ने ब्राण्डमा ‘रिपेल्स हेभी रेन, ग्यारेन्टी अफ १० इयर्स’ भनी आमसञ्चार माध्यम मार्फत प्रचार गरेको देखिएको अदालतको ठहर छ । यति मात्र होइन, कम्पनीले त वारेन्टी सर्टिफिकेटमै ४० लिटर भन्दा बढी रङ किन्नेलाई मात्र हुने भनेर अचम्मको सर्त लेखेको रहेछ । वारेन्टी भनेको त एक लिटरमा पनि हुनुपर्छ नि । यो यहि तथ्य अदालतले पनि बोलेको छ । उपभोक्ता सिद्धान्त श्रेष्ठका लागि जारी गरिएको ‘वारेण्टी सर्टिफिकेट’ मा ‘वारेण्टी इज गिभेन अन अ मिनिमम पर्चेज अफ ४० लिटर्स अफ वेदर कोट अल गार्ड’ भनी राखिएको सर्त पनि कानूनबमोजिम सही नभएको अदालतको ठहर चाह । ‘रंगको विज्ञापन गर्दा र बिक्रीका लागि बजारमा पठाउँदा प्रत्येक बट्टामा वारेन्टी भएको भनी प्रचार गर्ने तर वारेन्टी सर्टिफिकेट जारी गर्न न्यूनतम ४० लिटर लिनुपर्ने भनी सर्त तोक्ने कार्य तर्कसंगत मान्न सकिएन ।’, फैसलामा भनिएको छ ।
कमसल रङ बेच्ने बर्जरलाई मात्र होइन, अदालतले सो रङको डिलरले समेत क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ (१) (च) तथा दफा ११ बमोजिम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले १२ लाख १४ हजार ५ सय रुपैयाँ र बिक्रेता डिलर फ्रेण्ड्स फरइभर ट्रेडिङ प्रालिले ६३ हजार ९ सय रुपैयाँगरी १२ लाख ७८ हजार ४ सय रुपैयाँ क्षतिपूर्तिबापत दिनुपर्ने फैसला भएपछि अव डिलरहरु पनि कम्पनीलाई देखाएर उम्किन पाउँदैनन् है भन्ने तथ्य प्रमाणित भएको छ ।
दयाराम कार्की र दिपक राज गिरीले त बर्जरले बेचेको कमसल रङका बारे आवाज उठाए, अदालत गए र क्षतिपूर्ति पाए । तपाईंहरुमध्ये कतिको घर यसैगरी बर्जरको रङले बिगारेको छ होला, तपाईंलाई पनि ७ देखि १० वर्ष टिक्छ भनेर बेचिएको रङ ७ महिनामै खुईलिएपछि तपाईंहरुलाई पनि तनाव भएको छ होला । कम्पनीले गल्ती नस्वीकार्ने, यता घरको बिजोग हुँदा तपाईंलाई पनि खिन्न भईरहेको छ होला । यदि छ भने तपाईंलाई अदालतले साथ दिनेछ, कानुनी लडाई लड़नुस । तपाईंलाई फेरी कताको वकिलको तनाव, कता के भन्ने लाग्छ भने हामी छौँ तपाईंको साथमा, गलतलाई गलत भन्ने आँट गर्नुहोस्, बाँकी तपाईंको कानुनी लडाईमा हामी साथ दिन्छौँ । तर, नेपालीहरु सोझा छन् भनेर उनीहरुको सपनाको घरमा लापरवाही गर्ने अधिकार बर्जर वा कसैलाई पनि छैन । यता गलत कामविरुद्ध हामी लड्नैपर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्