Skip to content
LAXMI SUNRISE BANK

रसुवा महाप्रलयः मृतकको संख्या १ हजार २ सय ५२ पुग्यो, झण्डै १२ हजारको जीवितै उद्धार

अर्थ सरोकार

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर हालसम्म १ हजार २ बढीले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीमा परेर बिहीबार १२ बजेसम्म १ हजार २ सय ५२ जनाले ज्यान गुमाएको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३ सय ५५ जनाको मृत्यु भएको छ । जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् । 

त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

विपद्मा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले मात्रै हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका लागि सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन् । 

बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । जसमध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भइरहेको छ भने नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरहरूमा ३ हजार ९४८ जना आश्रित छन् ।

बाढीका कारण हालसम्म ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना स्थानीय बासिन्दा रहेका छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू समेत बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ । 

खोज तथा उद्धार कार्यका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावरले काम गर्न थालेका छन् । प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । सरकारले प्रभावित जिल्ला र स्थानीय तहहरूका लागि तत्काल नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोटलाई १-१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै, प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट समेत राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्याएको छ । प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति र उपचाररतहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK