Skip to content
LAXMI SUNRISE BANK

कुशे औँसी: काठमाडौँको गोकर्णेश्वरमा श्रद्धालुको भीड (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । दिवंगत पितृको स्मरण तथा जीवित बुवाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो ।

कुशे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पुगेर दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहँदै आएको छ । टाढाटाढाबाट आएका श्रद्धालुहरूले बागमती नदी किनारमा स्नान तथा तर्पण गरी पितृप्रति श्रद्धा अर्पण गरेका छन् ।

यस दिन जीवित बुबालाई मिठा परिकार तथा नयाँ कपडा लगायतका सामग्री दिएर सम्मान गर्ने चलनसमेत छ । बाबु नहुनेहरूले भने दिवंगत पितृको सम्झनामा गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर श्राद्ध तथा तर्पण गर्ने गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरूका लागि कुशे औँसी पितृ स्मरण र पारिवारिक सम्बन्धको सम्मान गर्ने महत्वपूर्ण दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार यस दिन गोकर्णमा श्राद्ध तथा तर्पण गर्दा पितृले शान्ति प्राप्त गर्ने विश्वास छ ।

कुशे औंसीलाई ऋषितर्पणी औंसी तथा गोकर्ण औंसीका रूपमा पनि चिनिन्छ । यसै दिन घरमा धार्मिक कार्यमा प्रयोग गरिने कुश भित्र्याउने परम्परा छ। कुशलाई पवित्र वनस्पति मानिने भएकाले धार्मिक अनुष्ठानमा यसको विशेष महत्व रहेको छ ।

गोकर्णमा श्रद्धालुको भीड बढेसँगै मन्दिर तथा नदी किनार क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । श्रद्धालुको सहज आवागमन तथा धार्मिक गतिविधिलाई व्यवस्थित गर्न विभिन्न स्थानमा व्यवस्थापन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK