Skip to content
LAXMI SUNRISE BANK

सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने सरकारको निर्णय, अब सेयर बजार के होला ?

अर्थ सरोकार

काठमाडौँ । सरकारले सेयर बजारको पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो ।

पुँजीगत लाभकर घटाउनेबारे निर्णय भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले अर्थ मन्त्रालयले जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३’ अनुसार सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाउने निर्णय भएको जानकारी दिएका छन् ।

योसँगै अब प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिसम्म स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर तिर्नुपर्नेछ ।

यसअघि ३६५ दिनभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको हितको लाभ रकममा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लाभमा १० प्रतिशत अग्रिम कर लाग्दै आएको थियो ।

सरकारको यो निर्णयसँगै सेयर लगानीकर्तामा गुमेको मनोबल फर्किएको सेयर लगानीकर्ताहरुले बताएका छन् ।

सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै यो निर्णयले सेयर बजार पुनः लयमा फर्किने मनोबल बढेको सेयर विश्लेषकहरुको भनाई छ । उनीहरुले अब बजारको बढ्नेमा विश्वास व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK