Skip to content
LAXMI SUNRISE BANK

बाढी-पहिरो र मन्दीको मारमा मूर्ति व्यवसाय, मूर्ति व्यवसायी भन्छन्- ‘यसपालि साँवा पनि उठ्दैन’

नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । चितवनको भरतपुरस्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत पारस बसपार्क नजिकै गाडीहरूको होहल्ला र सडकमा मानिसहरूको आउजाउ बाक्लो छ । विश्वकर्मा पूजा, कलकारखाना, ग्यारेज र गाडीहरूको धुमधामका साथ पूजाअर्चना गरिन्छ । तर, यही राजमार्गको छेउमा भाडाको एउटा अस्थायी ठाउँमा चलिरहेको ‘विशाल मूर्ति स्टोर’मा भने अर्कै दृश्य देखिन्छ ।

पूजाका लागि भन्दै तयार गरिएका विश्वकर्मा बाबाका आकर्षक मूर्तिहरूलाई रङ्गरोगन र सिँगारपटार गरेर अन्तिम रूप दिन एउटै परिवारका सदस्यहरू तल्लीन छन् । झट्ट हेर्दा ती रंगीचंगी मूर्तिहरू चिटिक्क र सुन्दर देखिन्छन्, तर तिनलाई आफ्नै पसिनाले ढाल्ने कारिगरहरूको अनुहारमा भने खास खुसी वा उत्साहको चमक छैन ।

मूल घर रौतहटको सकुवा धोमोरा भई तराईका विभिन्न ठाउँमा मूर्ति बनाउँदै आएका राजेश पण्डित विगत १८ वर्षदेखि भरतपुरमा बसेर यो काम गरिरहेका छन् । कुमाल जातिमा जन्मिएका राजेशका लागि माटो मुछ्‌नु र मूर्ति बनाउनु व्यवसाय मात्र नभई पुर्ख्यौली धर्म, परम्परा र जातिगत पहिचान पनि हो ।

विगत ३० वर्षदेखि यही कलामा रमाउँदै आएका राजेशको पछाडि दुई पुस्ताका करिब १० जना परिवारका सदस्यहरू यही पेशामा पूर्ण रूपमा आश्रित छन् । अहिले भरतपुरमा राजेश, उनकी श्रीमती निर्मला कुमारी पण्डित, र उनीहरूका दुई छोराहरू गरी ४ जना सदस्यहरू दिनरात नभनी काममा खटिएका छन् ।

२ महिनाको पसिना, २ लाख लगानी र २५ हजारको भाडा
एउटा मूर्ति तयार पार्न सामान्य मिहिनेतले पुग्दैन । माटो, काठ र पराल ल्याएर ढाँचा तयार पार्ने, आकार दिने, सुकाउने र अन्त्यमा रंगाउने प्रक्रिया निकै जटिल हुन्छ । एउटा मूर्तिलाई ढाँचामा ल्याउन मात्रै सिङ्गो एक दिन लाग्छ भने ४-५ वटा मूर्तिको समूहलाई तयार पारेर सुकाउन र रंगाउन ४ देखि ५ दिनको कडा एकाग्रता र मिहिनेत चाहिन्छ ।

पण्डित परिवारले पछिल्लो २ महिनादेखि निरन्तर खटेर यस सिजनका लागि ६० देखि ७० वटा मूर्तिहरू तयार पारेका थिए । भारतबाट भन्सार तिरेर कच्चा पदार्थ र सिँगारका सामान ल्याई तयार पारिएका यी मूर्तिमा निर्मला कुमारीका अनुसार २ लाख रूपैयाँभन्दा बढी लगानी भइसकेको छ । महिनाको २५ हजार रूपैयाँ त ठाउँ र कोठाको भाडा नै बुझाउनुपर्छ ।

अघिल्लो वर्ष देशमा भएको जेन-जी आन्दोलनका कारण व्यापार बिग्रिएको थियो भने यसपालि बाढी-पहिरो र विपद्का कारण मानिसहरू शोक र पीडामा परेकाले चाडपर्वको रौनक हराएको छ । ‘पोहोर सरकार (आन्दोलन)ले खायो, यसपालि बाढीले खायो। लगानी नै निस्किने छाँटकाँट छैन ।’, थकान मिश्रित स्वरमा उनी भन्छिन् ।मुख्य गरी ग्यारेज, फ्याक्ट्री, कारखाना र सवारी साधनका धनीहरूले विश्वकर्मा पूजाका लागि यी मूर्तिहरू लैजाने गर्छन् । आकार अनुसार एउटा मूर्तिको मूल्य ३ हजार, ३ हजार ५ सयदेखि ५ हजार रूपैयाँसम्म पर्छ। तर, पूजाको पूर्वसन्ध्या भइसक्दा पनि ६०–७० वटा मूर्तिहरूमध्ये मुस्किलले २० देखि २५ वटा मात्र बुकिङ भएका छन् ।

बिक्री नभएका ४० भन्दा बढी मूर्तिहरूलाई अब अर्को वर्षका लागि पुनः भाडाको कोठा लिएर थन्क्याउनुपर्ने बाध्यता छ । ‘नाफाको त कुरै छाडौँ, सावाँ लगानी नै ननिस्किने स्थिति भयो ।’, निर्मला कुमारीले निराशा व्यक्त गरिन् ।राजेश पण्डितले आफ्ना बाबुबाजेबाट हेर्दाहेर्दै सिकेको यो कला आफ्ना २८ वर्षका छोरा नितेश कुमार पण्डितलाई पनि हस्तान्तरण गरेका थिए । १५ वर्षको उमेरदेखि नै बुबासँगै माटो मुछ्न र मूर्ति बनाउन खटिएका नितेशलाई विगतमा पुर्खाको काम गर्दा निकै खुसी लाग्थ्यो । तर, पछिल्लो दुई वर्षदेखि व्यापार लगातार खस्किँदै गएपछि र परिवार पाल्नै धौ–धौ भएपछि उनी निराश बनेका छन् । ‘यस पेशामा अब टिक्नै सकिने अवस्था छैन ।’, नितेशले गह्रौँ मन बनाउँदै भने, ‘अहिले नेपालमा कामै छैन, युवाहरू सबै विदेशतिर गएका छन्। यस्तै हो र काम चलेन भने म पनि विदेश जानुको विकल्प छैन ।’

आस्थाका निर्माता आफैँ सङ्कटमा
पण्डित परिवारका लागि यी मूर्तिहरू बिक्री गर्ने सामान वा व्यापार मात्र होइनन् । ‘यी हाम्रा पनि भगवान् हुन्, हामी आफैँ पनि पूजा गर्छौँ र आफ्ना लागि पनि एउटा मूर्ति छुट्ट्याउँछौँ ।’, राजेश पण्डितले भने । माघमा सरस्वती पूजा र दशैँमा दुर्गा पूजाका मूर्ति बनाउने उनीहरू, यसपछि दुर्गाको मूर्ति बनाउने तयारीमा त छन्, तर त्यसमा पनि बजार चल्ने आश खासै छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK