Skip to content
LAXMI SUNRISE BANK

एनपीएल सिजन-३: जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

अर्थ सरोकार

काठमाडौँ । राजधानीमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ । यो जनकपुरको दोस्रो जित हो । ३ खेलबाट ४ अंकसहित जनकपुर दोस्रो स्थानमा समेत उक्लिएको छ । लगातार दोस्रो खेल हारेको पोखरा भने पुछारमा छ ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । जनकपुरका मोइन अलिले ३, कप्तान हर्मित सिंह र सैफ हसनले २÷२ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे ।

तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन् । यस्तै अभिषेश तिवारीले २४ , मोइन अलीले २१ रन बनाए। पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए ।

प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा मध्यान्ह १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK