कैलाली । नेपाल फोटोग्राफर एसोसिएसन कैलालीको आयोजनामा घोडाघोडी नगरपालिका-सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा फोटोग्राफरहरूबीच पेनाल्टी सुटआउट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । फोटोग्राफी पेसामा आबद्ध व्यक्तिहरूबीच आपसी एकता, सद्भाव, भाइचारा र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाल फोटोग्राफर एसोसिएसन कैलालीका अध्यक्ष दिवाकर सिंह ठेकरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. १ का अध्यक्ष घनश्याम ओझा प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा अध्यक्ष ठेकरेले फोटोग्राफी पेसामा आबद्ध व्यवसायी तथा प्राविधिकहरूलाई एउटै संगठनमा एकताबद्ध गर्दै आपसी सहयोग, सहकार्य र व्यावसायिक हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि घनश्याम ओझाले पनि यस्ता कार्यक्रमले स्थानीय स्तरमा आपसी सद्भाव, एकता र सामाजिक सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने बताउँदै आयोजकको प्रयासको प्रशंसा गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल फोटोग्राफर महासंघका सचिव कुलराज चौधरीले आफ्नो मन्तव्य राख्दै फोटोग्राफी क्षेत्रको विकास, व्यवसायीहरूको एकता, संगठनको महत्व र पेसागत हकहितका विषयमा आफ्ना विचार व्यक्त गरे । उनले जिल्लादेखि केन्द्रसम्मका फोटोग्राफरहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यक्रमले संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी विशिष्ट अतिथि सीएस अस्पतालका सञ्चालक विष्णु सापकोटाले घोडाघोडी नगरपालिका क्षेत्रभित्रका फोटोग्राफर साथीहरूले आफ्नो परिचयपत्रसहित सीएस अस्पतालमा सम्पर्क गरेमा अस्पतालबाट उपलब्ध हुन सक्ने स्वास्थ्य सेवामा आवश्यक सहयोग गर्ने तथा सम्भव भएसम्म विशेष छुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम सञ्चालन नेपाल फोटोग्राफर एसोसिएसन कैलालीका महासचिव ध्रुव सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा फ्रेम तथा भिडियो संयोजक हरि तिवारी र प्रेस सल्लाहकार उत्तम थापालगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा कैलालीका विभिन्न क्षेत्रबाट नौवटा उपसमितिका टोलीहरूको सहभागिता रहेको थियो। सहभागी टोलीहरूमा हसुलिया फूलबारी, धनगढी ‘ए’ , अत्तरिया, घोडाघोडी ‘ए’, गौरीगंगा ‘ए’, घोडाघोडी ‘बि’ , गौरीगंगा ‘बि’ , धनगढी ‘बि’ र टीकापुर उपसमिति रहेका थिए ।

प्रतिस्पर्धात्मक पेनाल्टी सुटआउट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै घोडाघोडी नगरपालिका-सुखड उपसमितिको टोली प्रथम हुन सफल भएको छ भने टीकापुर उपसमितिको टोली दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
समग्रमा प्रतियोगिता केवल खेलकुदमा सीमित नभई कैलाली जिल्लाभरिका फोटोग्राफरहरूलाई एउटै मञ्चमा जोड्ने, आपसी परिचय बढाउने र संगठनात्मक एकतालाई थप मजबुत बनाउने महत्वपूर्ण अवसर बनेको छ । यस्ता कार्यक्रमले फोटोग्राफी पेसामा आबद्ध व्यक्तिहरूबीच नयाँ उत्साह, ऊर्जा र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्