Skip to content
LAXMI SUNRISE BANK

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो-२०२६’ हुँदै

अर्थ सरोकार

चितवन । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो-२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११ देखि १३) भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरेका छन् ।

घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

संघका अध्यक्ष अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाई चलायमान बनाउन सामूहिक पहल आवश्यक रहेको बताए । ‘घरजग्गा तथा निर्माण क्षेत्रमा आएको सुस्तताले यससँग जोडिएका उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभाव पारेको छ ।’, उनले भने, ‘यस्तो अवस्थामा स्वदेशमै लगानीको वातावरण सिर्जना गर्ने, आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले हामीले बिल्ड नेपाल एक्स्पो आयोजना गर्न लागेका हौँ । यो एक्स्पो व्यवसाय प्रवद्र्धनसँगै समग्र निर्माण क्षेत्रलाई नयाँ दिशा दिने प्रयास पनि हो ।’

एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ । घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

घर निर्माण गर्न चाहने उपभोक्ता, घरजग्गा व्यवसायी, निर्माण कम्पनी, इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री उत्पादक तथा विक्रेतालाई एउटै थलोमा जोड्ने एक्स्पोको लक्ष्य छ । घर निर्माणका क्रममा देखिने लागत वृद्धि, समयको बर्बादी र गुणस्तरसम्बन्धी समस्याबारे उपभोक्तालाई सही जानकारी तथा प्राविधिक परामर्श उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

एक्स्पो अवधिमा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ, इन्जिनियर तथा उपभोक्ताबीच अन्तरक्रिया, परामर्श, अभिमुखीकरण र छलफलका कार्यक्रमसमेत सञ्चालन हुनेछन् । घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पनि उपलब्ध गराइनेछ ।

राजधानी काठमाडौँ पछिको महत्वपूर्ण आवास तथा निर्माण बजारका रूपमा विकास हुँदै गएको चितवनमा घरजग्गा तथा निर्माण क्षेत्रको सम्भावना उजागर गर्नु एक्स्पोको अर्को महत्वपूर्ण उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए ।

‘चितवन घरजग्गा तथा निर्माण व्यवसायका लागि सम्भावनायुक्त क्षेत्र हो। यहाँको भौगोलिक अवस्था, पूर्वाधार विकास र बढ्दो सहरीकरणले आवास तथा निर्माण क्षेत्रमा ठूलो सम्भावना देखाएको छ । हामी चितवनलाई केन्द्र बनाएर देशका विभिन्न जिल्लामा लगानीको वातावरण विस्तार गर्न चाहन्छौँ ।’, अधिकारीले भने, ‘यस एक्स्पोले लगानीकर्ता, व्यवसायी र उपभोक्ताबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुर्याउनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार एक्स्पोले चितवनसहित देशका सम्भावनायुक्त जिल्लाहरूमा लगानी आकर्षित गर्दै आर्थिक गतिविधि बढाउन योगदान पुर्याउनेछ । विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने, रोजगारीका नयाँ अवसर सिर्जना गर्ने र देशभित्रै लगानीको सम्भावना पहिचान गराउने लक्ष्यसमेत एक्स्पोले राखेको छ ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ । इच्छुक प्रदर्शकका लागि स्टल बुकिङसमेत खुला गरिएको छ ।

निर्माण कम्पनी, घरजग्गा व्यवसायी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेछन्। सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ केवल घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनी मात्र नभई सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अघि बढाइएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK