काठमाडौँ । केही समय अघि मन्त्री बिराज भक्त श्रेष्ठलाई लगाएर हिमालयन बुलियन कम्पनीले एचबिसी मोबाइलल एप उद्घाटन गर्यो । लगत्तै कम्पनीले किस्ताबन्दीमा चाँदी किन्नुहोस् भनेर विभिन्न सोसल मिडिया प्लेटफर्ममा विज्ञापनसमेत गर्यो । तर, धेरैलाई थाहा नभएको विषयचाहिँ के हो भने नेपालको कानुनले यस्ता एपहरुबाट हुने कारोबारलाई चिन्दै चिन्दैन ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन २०८२ को दफा ३ अनुसार नेपालमा सुन नेपाल बैंकर्स संघको सिफारिसमा क वर्गको बैंकहरुले मात्र नेपालमा सुन आयात गर्न पाउँछन् । सो निर्देशनको दफा ४ मा कति सुन आयात गर्न मिल्ने, कति परिमाणमा लिन मिल्ने लगायत कुरा उल्लेख छ । सोही निर्देशनमा वाणिज्य बैंकले कसलाई सुन बेच्न पाउँछ र कति बेच्न पाउँछ पनि उल्लेख छ । अर्थात्, सुन आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछ र नेपाल बैंकर्स संघको सिफारिसमा क बर्गको बाणिज्य बैंकले निश्चित व्यवसायीहरुलाई मात्र सुन बेच्न पाउँछन् । अर्थात्, यो एकिकृत निर्देशन भन्दा बाहिर भएका कुनै पनि मोबाइल एपले सुनचाँदी बिक्री वितरण गर्न पाउने छैनन्, पाउँदैनन् ।
अव अर्को कानुनी डकुमेन्ट पनि हेरौँ । वस्तु विनियम बजार सम्बन्धी ऐन २०७४ को दफा ३ मा लाइसेन्स नलिई कमोडिटी ट्रेडिङ्ग गर्न पाइन्न । र सुनको यस्तो कारोबार भनेको प्रष्ट कमोडीटी ट्रेडिङ्ग हो । यो लाइसेन्स नेपाल धितोपत्र बोर्डले दिने हो र सो कानुनमा प्रष्टसँग सुनको कारोबार यही नियमले नियमन गर्ने हो भन्ने उल्लेख छ । यो ऐन २०७४ मा आए पनि आजसम्म कसैले पनि यो कारोबार गर्न लाइसेन्स लिएको छैन । हिमालयन बुलियन कम्पनीले लिनुपर्ने लाइसेन्स नै नलिई यो काम गरिरहेको छ ।
अव अर्को कानुन पनि हेरौँ । भुक्तानी तथा फछ्र्योट ऐन २०७५ । यो कानुनले अनुमति नलिई भुक्तानी सेवा चलाउन नपाइने प्रष्ट भनेको छ । यसको अनुमति नेपाल राष्ट्र बैंकले दिने हो । जुन हिमालयन बुलियन कम्पनीले लिएको छैन ।
बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ३१ र ३४ ले इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले बाहेक अरु कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न पाइने छैन भनेर प्रष्ट पारेको छ । सो कानुनको दफा ४९ को उपदफा (फ) ले सुनचाँदी खरिद तथा बिक्री गर्ने काम बाणिज्य बैंकहरुको मात्र भएको प्रष्ट पारेको छ । सोही कानुनको दफा १०३ र १०४ ले यस्तो काम नेपाल राष्ट्र बैंकको अनुमति नलिई गर्नेलाई के कारवाही हुन्छ भनेरसमेत प्रष्ट लेखिएको छ ।
अव कुरा गरौँ हिमालयन बुलियन कम्पनीको । यो कम्पनीले नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिएका छौँ भन्छ । तर राष्ट्र बैंक हामीले सुन बेच्ने किन्ने कम्पनीलाई कुनै पनि स्वीकृति नै दिने गरेका छैनौँ भन्छ ।
नेपाल धितोपत्र बोर्डले पनि यस्तो काम गर्न कसैलाई अनुमति नदिएको बताएको छ । स्वयम् सुनचाँदी व्यवसायी महासंघले पनि डिजिटल गोल्ड को कारोबार गैरकानुनी रहेको प्रष्ट पारेको छ ।
अव हिमालयन बुलियन कम्पनीले गरेका सबै कारोबार गैरकानुनी छन त ? त्यसो भने होइन । हिमालयन बुलियनले फिजिकल रुपमा जुन सुनचाँदी बेच्छ त्यो कानुनसम्मत नै छ । भलै, कम्पनीले ठगी गर्यो भनेर धेरै उपभोक्ता अदालत गएका छन्, त्यसको चिरफार हामी अर्को अंकमा गर्नेछौं । तर, हिमालयन बुलियन कम्पनीले मोबाइल एपबाट गरिरहेको चाँदीको कारोबार भने पूर्ण रुपमा गैरकानुनी छ ।
कानुनी छिद्र प्रयोग गरेर हिमालयन बुलियन कम्पनीले जे गरिरहेको छ त्यसमा बैंक तथा वित्तीय संस्था ऐन लगायतका ऐनविरुद्धको कसुर आकर्षित हुन्छ । तर, कानुनको अपव्याख्या गरेर कम्पनीले यो काम जारी राखेको छ । २०८३ असोजमा लन्च गरिएको ‘एचबिसी’ एप्लिकेशनमार्फत हिमालयन बुलियन कम्पनीले एपमार्फत चाँदी खरिद गर्न सकिने अफरहरु राखेको छ । कम्पनीले एपमार्फत ‘सिल्भर टार्गेट’ पूरा गरेपछि आफूले सुरक्षित गरेको चाँदी लिन पाइने भनेको छ । तर त्यसको रेगुलेसन कसले गर्छ, त्यो चाँदी कहाँ हुन्छ ? र भोलि कम्पनी भाग्यो भने त्यसको जिम्मा कसले लिन्छ भन्ने प्रश्न उठेको छ । कुरा प्रष्ट छ, भोलि कम्पनी भाग्यो भने त्यसको जिम्मा कसैले लिनेवाला छैन र कम्पनीमा छ भनिएको चाँदी नहुन पनि सक्छ ।
फेरी पनि दोहोर्याऔं, नेपालमा वाणिज्य बैंकहरुले बाहेक कसैले पनि विदेशबाट सुन आयात गर्न पाउँदैनन् । ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८’ को दफा १२ मा बैंकहरुले आयात गरेको सुन नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भइ स्थायी लेखा नम्बर प्राप्त गरेका तथा व्यवसायीहरुको आधिकारिक संघ/संगठनमा आबद्ध सुनको कारोबार गर्न अनुमति प्राप्त गरेका व्यवसायीलाई मात्र बिक्री गर्न पाउनेछन् । यदि कमर्सियल बैंक वा आधिकारिक डिलर बाहेक कुनै एपले सुनचाँदी बेच्न पूर्ण रुपमा प्रतिबन्ध छ । त्यस्तै, ‘वस्तु विनियम बजार सम्बन्धी ऐन, २०७४’ को दफा ३ मा इजाजतपत्र (लाइसेन्स) नलिई कमोडिटी एक्सचेञ्ज मार्केट, कमोडिटी ट्रेडिङ बिजनेश, क्लियरिङ र सेटलमेन्ट बिजनेश तथा वेयरहाउस सञ्चालन गर्न नपाइने उल्लेख छ । लाइसेन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लिनुपर्ने प्रावधान छ । ‘भुक्तानी तथा फस्र्यौट ऐन, २०७५’ को दफा ६ अनुसार भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा कानून अनुसार कम्पनी स्थापना गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमति समेत लिएको छैन । तर पनि कारोबार गरिरहेको छ हिमालयन बुलियन कम्पनीले, जसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
अनि जनताको असीम आशा र भरोसा बोकेका नेताहरुले पनि कस्तो संस्थाको उद्घाटनमा जाने, कस्तोमा नजाने भन्ने ख्याल गर्नुपर्ने देखियो है । किनकि एचबिसी मोबाइल एप उद्घाटन रास्वपाका प्रिय नेता बिराजभक्त श्रेष्ठले हो । अव भोलि कम्पनी भाग्यो भने उनको राजनीति पनि जोखिममा पर्न सक्छ । त्यसैले नेताहरुले पनि ख्याल गरौँ । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्