
ग्लोबल आइएमइ बैँक र जनता बैँकको ‘बिग मर्जर’को ‘बिग’ चर्चा मिडियामा छाइरहेको बेला एउटा समस्या मलाई परेको छ । मिडिया र बैँकका लागि त्यो एकदमै ‘स्मल’ समस्या होला, तर उपभोक्ता र म स्वयंको लागि भने त्यो पनि ‘बिग’ नै हो। हाम्रा क वर्गका बैँकहरुको प्रोफेसनलिजम कस्तो छ र टेक्निकल समस्या समाधानमा उनीहरुको हैसियत कस्तो छ, यसले प्रष्ट बनाउँछ।
गएको जुलाई ७ तारिख आइतबार दरबारमार्गको स्याम्स वन ट्री क्याफेमा बिल तिर्न ग्लोबल आइएमइको डेबिट कार्ड दिएँ। वेटरले फटाफट पिओएस मेसिनमा कार्ड घुसाए, भुक्तानी गर्नुपर्ने रकम १९८८.८० इन्ट्री गरे र मलाई पिन नम्बर इन्ट्री गर्न भने।
मैले इन्ट्री गरेँ।
‘ट्रान्जेक्सन डिक्लाइन्ड’ भयो भनेर उनले भने। स्लिप निस्केन।
वेटरले फेरि अर्को पटक इन्ट्री गर्यो र मलााई पिन नम्बर हान्न भन्यो।
पैसा काट्ला नि, मैले त्यतिबेला जिस्केर भनेको थिएँ।
‘काट्दैन’, उसले भन्यो र मैले फेरि पिन नम्बर थिचेँ।
फेरि पनि ट्रान्जेक्सन सक्सेसफूल भएन र स्लिप निस्केन।
अब के गर्ने त, मसँग क्यास त छैन होला भन्दै पर्स खोतलेँ। धन्न रहेछ हजारका दुई वटा नोट। त्यही दिएँ, १० रुपैयाँको नोटसहित बिल दिए।
त्यहाँबाट म ज्योति भवन, जमलमा सामूहिक विपश्यना ध्यानका लागि गएँ। साढे ५ देखि साढे ६ बजेसम्म दैनिक सामूहिक विपश्यना हुने गर्छ। हप्तामा एक दिन यसरी सँगै बसेर ध्यान गर्दा राम्रो हुन्छ भनिन्छ।
जमलबाट निस्केर पैदलै घरतिर जाँदै थिएँ, हनुमानढोकामा पुग्दा एसएमएसको नोटिफिकेसन बज्यो। के रहेछ भनेर हेर्दा त दुई वटा मेसेज रहेछ। साँझ ६ बजेर ४७ मिनेट र ६ बजेर ५० मिनेटमा गरी ग्लोबल आइएमई बैँकको दुई वटा अलर्ट मेसेज आयो।
५ बजेर ६ मिनेटमा र ५ बजेर ७ मिनेटमा गरी दुई दुई पटक १९८८ रुपैयाँ ८० पैसा मेरो खाताबाट काटिएछ।
लौ, के भएछ यस्तो? बैँकलाई जानकारी त दिनुपर्यो भनेर मैले तत्काल कार्डको पछाडि रहेको फोन नम्बरमा फोन गरेँ। मेरो कार्ड नम्बर, नाम सोधियो। मैले बताएँ। फोन उठाउने ग्लोबल बैँकका कर्मचारीले चार पटक ट्राइ गरिएको र दुई पटक सक्सेस भएको जानकारी दिए। मैले दुई पटक मात्र पिन नम्बर हानेको बताएँ।
तपाईँले स्लिप त पाउनु भएको छैन नि? उनले सोधे।
अहँ, मलाई दिएका छैनन्।
विक्रेताको तर्फबाट ‘क्लेम’ नआएपछि त्यो रकम स्वतः खातामा फिर्ता हुने कुरा उनले बताए।
कति समय लाग्छ फिर्ता हुन? मैले सोधेँ।
‘क्रेडिट कार्ड भए अलि समय लाग्ने हो, डेबिट कार्डको त समय लाग्दैन’, उनले थपे, ‘तपाईँको नजिक कतै ग्लोबलको एटिएम छ भने चेक गर्नुस् त अहिलेसम्म फिर्ता भइसकेको पनि हुनसक्छ। हाम्रो यहाँ अहिले सिस्टम बिग्रेकोले चेक गर्न मिलेको छैन।’
होला नि त भन्ठानेँ। ढुक्क भएर घर फर्किएँ।
तर मेरो ३ हजार ९ सय ७७ रुपैयाँ ६० पैसा फिर्ता भएन।
भोलिपल्ट सोमबार त्यतै रेस्टुरेन्टमा जाने संयोग जुर्यो। त्यही मौकामा मैले रिसेप्सनमा यस्तो यस्तो भयो भनेर बिल देखाएँ। रेस्टुरेन्टका कर्मचारी मिजासिला रहेछन्, ‘केही फरक पर्दैन। हामी तुरुन्तै बैँकमा फोन गरेर बताइदिन्छौँ’ भने। मेरो डेबिट कार्ड नम्बर र नाम फोन नम्बर सबै टिपे।
१५ मिनेट जति पछि ती कर्मचारीले भने, कस्टुमरले नै बैँकमा क्लेम गर्नुपर्छ भन्यो बैँकले। रेस्टुरेन्टले पिओएस मेसिन नेपाल इन्भेस्टमेन्ट बैँकको भएकोले त्यहाँ फोन गरेको रहेछ।
मलाई अब चाहिँ अति भयो भन्ने लाग्यो। मैले हिजै ग्लोबल आइएमई बैँकमा फोन गरेर कम्प्लेन गरिसकेको थिएँ। अर्बौँको नाफा गर्ने बैँकहरुले गुनासो आउँदा दर्ता गर्ने र त्यसको फलोअप गर्ने र फर्छ्यौट गर्ने के सिस्टम छ कुन्नि, नभए बनाउनु पर्यो। आफ्नो गल्ती नभई नभई पनि अरुको गल्तीका कारण आफ्नै पैसा हिनामिना हुँदा फिर्ता पाउन बारम्बार निवेदन दिइरहनु पर्ने ? बैँकले मेरो पैसा त्यसरी काटिएकोमा माफी मागेर रकम फिर्ता गर्नुपर्नेमा उल्टै मैले बारम्बार मेरो पैसा फिर्ता भएन भनेर मेरै खर्चमा फोन गरिरहनु पर्ने?
फेरि फोन गर्नुको साटो मैले यो सब व्यहोरा बैँकहरुको नियामक संस्था नेपाल राष्ट्र बैँकको बैँक सुपरभिजन डिपार्टमेन्टको इमेल bsd@nrb.org.np मा पठाएको छु।
यो ब्लग अपडेट गर्ने समय आज बिहीबार जुलाई ११, बिहान ९ बजेर ३० मिनेटसम्म रकम फिर्ता भएको छैन ।
(ग्लोबल आइएमइ बैंक पीडीतहरुको संख्या बढिरहेका बेला समय सापेक्ष लागेर यो ब्लग माइ संसारबाट साभार गरिएको हो ।- सम्पादक)