- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल राष्ट्र बैंकले तोकेको सीआरआर ‘मेन्टेन’ गर्न नसक्दा राष्ट्र बैंकले २ वाणिज्य बैंकलाई नगद जरिवाना सहितको कारवाही गरेको छ । रास्ट्र बैंकले सीआरआर नपुर्याउने लक्ष्मी बैंक र मेगा बैंकलाई कारवाही गरेको हो ।
राष्ट्र बैंकले लक्ष्मी बैंकलाई ५ लाख ४० हजार २ सय २४ रुपैयाँ र मेगा बैंकलाई २ लाख २६ हजार ९ सय ७८ रुपैयाँ जरिवाना गरेको हो । साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गणना हुने सीआरआर नपुर्याउने अन्य केहि बैंकलाई पनि कारवाहीको तयारी राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकको नियमअनुसार वाणिज्य बैंकहरूले आफ्नो कुल निक्षेपको ६ प्रतिशत रकम अनिवार्य नगद मौज्दातका रूपमा राष्ट्र बैंकमा राख्नुपर्छ । सो रकम पनि राख्न नसकेपछी यी दुइ बैंक राष्ट्र बैंकको कारवाहीमा पारेका हुन् ।