पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ ।
छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ । किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ ।
सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन् । स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए । छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ । ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो ।
प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ । ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम-कारबाही गोप्य राखिनुपर्छ । गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने । ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए ।
प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै सिलवालको खोजीका लागि ७७ जिल्लामा पत्राचार गरेको छ । त्यति गर्दा पनि उनी नभेटिए अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहार्ने तयारीमा प्रहरी मुख्यालय छ ।
काठमाडौं प्रहरीले किर्तेमा अभियोग दर्ता गरेलगत्तै सिलवालले ट्विट गर्दै ‘सन् २०१७ मा आफूले धेरै पाठ सिकेको र २०१८ को लागि आफू तयार छु’ भनेका थिए । त्यसपछि अर्को ट्विट गर्दै उनले भने, ‘हे ईश्वर, आइज तेरो खुट्टामा मलम लगाइदिन्छु । कतिका सपनालाई लात हान्दा चोट त लागेकै होला ।’
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको तथ्य फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात न्यायाधीश संलग्न इजलासले किर्तेमा संलग्नमाथि छानबिन गरी कारबाही चलाउन सरकार र प्रहरी प्रधान कार्यालयलाई परमादेश दिएको थियो । सोही फैसलाका आधारमा छानबिनका लागि अभियोग दर्ता गर्न प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीले काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् ।
सिलवाल काठमाडौंमै रहेका बेला अर्याल र रेग्मीले पक्राउ गर्न काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निर्देशन दिएका थिए तर धानुकले छानबिनकै क्रममा रहेका कारण पक्राउ गर्नु ‘उचित नहुने’ जवाफ दिएका थिए । ललितपुर प्रहरीले सिलवालको गोदावरीस्थित घर/ठेगानामा गएर खोजतलास पनि गरेको थियो ।
सिलवालको छानबिनको विषय नयाँ बन्ने सरकारसँग जोडेर हेर्न थालिएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि गोप्य रहनुपर्ने उजुरी छानबिनको विषय बाहिर ल्याउन नहुने प्रतिक्रिया दिए । सूचना गोप्य राख्न प्रहरी चुकेको उनले स्विकारेका छन् तर सिलवाललाई प्रहरीले नभगाएको दाबी उनको छ । उनले भने, ‘प्रहरीले भगाएको होइन तर छानबिनका गोप्य विषयलाई बाहिर ल्याउन हुने थिएन । त्यहाँ काठमाडौं प्रहरी चुकेको देखिन्छ ।’
काठमाडौं प्रहरी प्रवक्ता रामदत्त जोशीले पनि छानबिनका विषय बाहिर आएको विषयमा आफू अचम्मित भएको बताए । ‘छानबिनका विषय बाहिर ल्याउन नहुने हो तर आइरहेका छन् । सिलवाललाई प्रहरीले नै भगाएको भन्ने आरोप सही होइन’, उनले भने । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्