
काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ ।
एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि माओवादी केन्द्रसँग थप नजिकिएका ओली र देउवाबीच गत ५ मंसिरयता एकपटक पनि संवाद भएको छैन।
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय सभा निर्वाचनलाई लिएर फरक धारणा राख्दै आएका यी दुई नेताका चुनावी प्रचारसमेत आरोप प्रत्यारोपमै बित्यो। देउवाले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्ने ओली अडान र राष्ट्रिय सभा निर्वाचन नगरी सत्ता हस्तान्तरण नगर्ने देउवा अडानका कारण पछिल्ला दिन यी दुई नेताबीचको दूरी झन बढेको छ।
सरकार राष्ट्रिय सभा निर्वाचनको कानुनी जटिलता फुकाएर निर्वाचन सम्पन्न भएपछि मात्रै संवैधानिक व्यवस्थाअनुसार सत्ता हस्तान्तरण गर्ने तयारमिा छ। तर, एमाले र माओवादी केन्द्र भने देउवालाई आफूहरूको सहमतिबिना अध्यादेश ल्याउने अधिकार नभएको बताइरहेका छन्।
प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन अध्यादेशका विषयमा पछिल्लो समय सरकारले संवैधानिक बाटोअनुसार अघि बढेको बताउँदै आएको छ। स्थानीय तहको निर्वाचन हुँदा आमनेसामने भएका उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको संघारदेखि नै दूरीमा रहँदै आएका छन्।
गत ५ मंसिरमा बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच औपचारिक संवाद भएको थियो भने त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीका लागि लाजिम्पाटमा देउवा–ओलबीच भेटघाट भएको थियो। सो भेटमा भने दुवै नेताबीच संवाद भएन।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गत मंसिरमा बालुवाटारमा भेटघाट भएको बताए। उनले त्यसयता प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेट नभएको बताए। एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जली सभामा लाजिम्पाटमा भेट भएको तर औपचारिक संवाद नभएको बताए।
यस बीचमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भने भेटघाट र संवाद भएको छ। प्रधानमन्त्री देउवाले केही दिनअघि मात्रै माओवादी अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे संवाद गरेका थिए।
प्रधानमन्त्री देउवाले सो भेटमा राष्ट्रिय सभा निर्वाचनका लागि संवैधानिक बाटोबाट नै सरकारले राष्ट्रपतिसामु अध्यादेश स्वीकृतिका लागि पठाएको र सो स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनको कानुनी बाटो फुकाएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका थिए। राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल मुलुक रिक्तता र तिक्तताको अवस्थामा रहेकाले यस्तो अवस्थामा दूरी बढ्दा कसैलाई फाइदा नहुने बताउँछन्। सत्तामा रहेका र प्रतिपक्षमा रहेका दुई ठूला नेताबीच संवादको आवश्यकता रहेको उनको भनाइ छ।
‘मुलुक रिक्तता र तिक्तताको अवस्थाबाट अघि बढिरहेको छ, यस्तो अवस्थामा सत्तामा रहेका र प्रतिपक्षमा रहेका दुई ठूला नेताबीच झनै संवादको आवश्यकता पर्छ, नियमित संवाद हुनुपर्छ,’ दाहालले भने। राजधानीमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्