Skip to content

‘लगानीकर्तालाई केहि घाटा हुन्न भन्दापनि यसले समग्र पूँजी बजारलाई नकारात्मक असर गर्छ भन्ने कुरा हो’

Dish Home

अर्थ सरोकार

सेयर कारोबारमा ब्रोकरलाई दिने कमिसनमा ‘भ्याट’ लगाउने प्रसङ्ग फेरि उठेपछि लगानीकर्ताका विभिन्न समूह र संघहरुले यसको विरोध गरेका छन् । तीन ब्रोकर हाउसहरुमा करदाता सेवा कार्यालयले करिव ४ करोड भ्याट तिर्न पत्र काटेपछि यो विषयले चर्चा पाएको हो । यता लगानीकर्ताको हक हितका लागि भन्दै खोलिएका विभिन्न संघ संगठनहरुले पनि यसको विरोध गरेका छन् । आखिर यो विरोध के का लागि ? ब्रोकर कमिसनमा भ्याट लगाउँदा लगानीकर्तालाई घाटा हुँदैन र पनि किन विरोध ? हामीले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलसँग संक्षिप्त कुराकानी गरेका छौं ।
१. ब्रोकर कमिसनमा भ्याट लगाउँदा लगानीकर्तालाई कहाँनेर घाटा हुन्छ र तपाईंहरुले यसको विरोध गरिरहनु भएको छ ?
लगानीकर्तालाई कहाँनेर घाटा हुन्छ भन्दा पनि समग्र पूँजी बजारमा यसले कस्तो असर गर्छ भन्ने कुरा महत्पूर्ण कुरा हो । भर्खरै बामे सर्न लागेको हाम्रो पूँजी बजारलाई यसले नकारात्मक असर गर्छ । हाम्रो बजार भनेको मनोविज्ञानमा चल्ने हो । यसले लगानीकर्ताको मनोविज्ञानमा असर गर्छ । यसले बजारलाई दिगो नबनाउन भूमिका खेल्छ । त्यहि भएर तत्काल सेयर कारोबारबापत ब्रोकरलाई दिने कमिसनमा भ्याट लगाउन नहुने हाम्रो धारणा हो । 

२. भनेको बजार घट्ने डरले तपाईंहरु यसको विरोध गर्दैहुनुहुन्छ हो ?
त्यस्तो पनि होइन । हामी दिगो बजार चाहान्छौं । अहिले सेयर कारोबारमा भ्याट लगाएर लगानीकर्ता तर्साउने काम भएको छ । हाम्रो विरोध त्यसमा हो । सरकारले पाइरहेको राजश्व पनि गुम्छ कि भन्ने हाम्रो चिन्ता हो ।
३. राजश्व विभागले त पेलेरै जाने देखिएको छ ? अव के गर्नुहुन्छ ?
हामीलाई विश्वास छ, विभागले यो निर्णय फिर्ता लिन्छ । लिनुपर्छ । अव लिंदै नलिएको खण्डमा त के गर्नुपर्ने हो त्यो सल्लाह गरेर गर्नुपर्छ । तर विभागले यो निर्णय फिर्ता लिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
४. केहि समय अगाडी यहि प्रकरणमा बजार नै बन्द गराउने सम्मको काम भयो । त्यस्तो केहि प्लान त छैन नि ?
यो निर्णय फिर्ता हुन्छ भन्ने कुरामा हामी ढुक्क छौं । निर्णय फिर्ता हुन्छ । फिर्ता नभए के गर्ने भन्ने विषयमा सल्लाह गर्न बाँकी छ । तर त्यसपछिको संघर्ष पक्कै पनि कडा हुन्छ ।
५. नेप्सेका महाप्रबन्धकसँग मिलेर नै यो सब भएको भन्ने चर्चा छ नि ? तपाईंले केहि बुझ्नु भएको छ ?
हामी भोलिदेखि विभिन्न निकायहरुमा हाम्रो कुरा राख्न जाँदैछौं । नियामक निकाय र रेगुलेटरहरुसंगको छलफलपछी कुरा के हो भन्ने बुझ्छौं । हाम्रो कुरामाचाहिं हामी स्पष्ट छौं, ‘यो निर्णय कुनै पनि हालतमा लागु हुनु हुँदैन ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्