बागलुङ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा विसं २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो । जग्गा व्यवस्थापन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्वाधार बनाउने काम अझै सुरुवात हुन सकेको छैन ।
ताराखोला-१ भुस्कातमा बन्ने सो ग्रामको गत मङ्सिरमा गण्डकी प्रदेशका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको थियो । बागलुङ-१३ कालाखोलामा बन्ने ग्रामको त शिलान्याससमेत भएको छैन । दुवै स्थानीयतहले कोभिड-१९ ले सिर्जित विषम स्थिति र निर्माण कम्पनीको ढिलासुस्ती जस्ता कारणले काममा ढिलाइ भएको जवाफ दिएका छन् । यही गतिको कामले वर्ष दिनभित्र पूर्वाधार खडा गरेर ग्राम सञ्चालनमा ल्याउने योजना पूरा हुने छाँटकाट देखिन्न ।
ताराखोलाका अध्यक्ष प्रकाश घर्तीले घेराबार, प्रवेशद्वार निर्माण र जग्गा ‘प्लटिङ’को काम सकिएको जानकारी दिनुभयो । ‘खानेपानी, विद्युत् आपूर्ति र भवनलगायतका संरचना निर्माणलाई अब तीब्रता दिन्छौँ’, उहाँले भन्नुभयो, ‘यस वर्षका अन्त्यसम्ममा लगानीकर्तालाई उद्योग सञ्चालनका लागि आव्हान गर्न सकिने स्थिति बन्छ ।’ यसका लागि शुरुको वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुवै स्थानीय तहलाई ९२ लाखका दरले बजेट दिएको थियो । यसपछि प्रदेश सरकालरले पनि थप ३० लाख बजेट उपलब्ध गराएको छ । ताराखोलाले आफ्नै कोषबाट थप ३० लाख थपेको छ ।
बजेट अनुसार खर्च र कामको प्रगति नभएको बागलुङ नगरपालिकाका वरिष्ठ योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । ‘अहिलेसम्म जग्गा व्यवस्थापन र पर्खाल लगाउने मात्र काम भएको छ, अब यस वर्ष कामले अलि गति लिन्छ’, उहाँले भन्नुभयो । ग्रामका लागि सो नगरपालिकाले ८५ रोपनी जग्गा व्यवस्थापन गरेको छ । जग्गा अपुग भए किनेरै भएपनि थप्ने योजनामा नगरपालिका छ । मन्त्रालयले पहाडी क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माणका लागि कम्तीमा सय रोपनी जग्गाको मापदण्ड तोकेको छ ।
यस वर्ष कामको प्रगति मुल्याङ्कन गरी मन्त्रालयले थप बजेट दिने नीति बनाएको उहाँको भनाइ छ । एउटा औद्योगिक ग्राममा २० देखि २५ करोडसम्मका पूर्वाधार निर्माण हुने जनाइएको छ । यसमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लागत साझेदारी रहनेछ । ताराखोलाको एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने ग्राममा दश उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको हो । स्थानीय पहिचानका रुपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्