
काठमाडौं, १२ भदौ । विखण्डन र सामाजिक सद्भावविरुद्ध अभिब्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा सभासद् अमरेशकुमार सिंहलाई नेपाली कांग्रेसले ६ महिनाका लागि निलम्बन गर्ने तयारी गरेको छ ।
भारतबाट बंगलादेश र पाकिस्तान छुट्याए जस्तै नेपालबाट मधेश छुट्याउने, मधेशबाट पहाडी मुलका नागरिकलाई लखेट्नु पर्ने जस्ता अराजक अभिब्यक्ति दिँदै आएका सभासद् सिंहलाई कांग्रेसले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको चारदिन बितिसक्दा पनि उनले स्पष्टीकरण नवुझाएपछि कारवाहीको तयारी गरेको हो ।
कांग्रेस स्रोतका अनुसार उनलाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट सिंहलाई मुक्त गरिने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिबाट उनलाई निलम्बन गर्र्ने तयारी गरेको छ । वारम्बार चेतावनी दिँदा पनि पार्टी नीति विपरित अभिब्यक्ति दिन नछोडेको जनाउँदै कांग्रेस अनुशासन समितिले कारवाहीका लागि सभापति सुशील कोइरालालाई सिफारिस गरेको छ । सफारिसमा उनलाई ६ महिनासम्म पार्टीको जिम्मेवारीबाट मुक्त गर्नु पर्ने राय पनि पेश गरिएको एक कांग्रेस नेताले बताए ।
प्रधानमन्त्री कोइरालाले पनि शुक्रबार पूर्वक्षेत्रका सभासद्हरुसँग अमरेश कुमार सिंहलाई कारवाही गर्ने संकेत गरेका थिए । पूर्वक्षेत्रका सभासद्हरुले पनि अमरेश कुमारलाई कारवाहीको माग गरेका थिए ।