काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण बिहीबारदेखि शुरु हुँदैछ । उनको भारत भ्रमणका क्रममा कुनै अनिष्ट सम्झौता होला कि भन्ने सन्त्रास अझै कायम छ । आकंककै रुपमा फैलिएको यस्तो शंकाको पछाडि विगतमा भएका अप्रत्याशित सम्झौताहरुले भूमिका खेलेको बुझ्न सकिन्छ ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा गए । फर्केर आउँदा मात्रै उनले बिप्पा सम्झौता गरेको खबर बाहिरियो । आन्तरिक रुपमा छलफल नै भएको थिएन । भट्टराईले सबैलाई झुक्याएर सम्झौता गरेका थिए । आफ्नो बचावट गर्दै उनले प्रतिक्रिया दिए, ‘मैले जुवा खेलेको हुँ ।’ राष्ट्रको भविष्यसँग जोडिएको विषयमा भट्टराईले दिएको जवाफ स्वभाविक मानिएन ।
नेपालका प्रधानमन्त्रीले भारत गएर कुनै अनिष्ट सम्झौता गर्ने हुन् कि भन्ने त्रास अहिले पनि छ । यो त्रासबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मुक्त भएन । एमाले अध्यक्ष केपी ओली आफै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छ बुँदे ज्ञापन पत्र बुझाए । जसमा सुपुर्दगी सन्धी नगर्न, फास्ट ट्रयाक भारतलाई नदिन, सीमाको नक्सांकनमा हस्ताक्षर नगर्नलगायत विषय समावेश गरिएको थियो ।
एमालेजस्तै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले पनि प्रधानमन्त्री दाहाललाई सुझावका रुपमा एमालेले उठाएजस्तै विषय समावेश गरेर घुमाउरो पारामा खबरदारी गर्यो । बाबुराम भट्टराईले भारतले विराटनगरमा राखेको क्याम्प अफिस हटाउन प्रधानमन्त्री दाहालले भारतसँग कुरा गर्नु पर्ने सुझाव पनि दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार पूर्वप्रधानमन्त्रीहरुसँग पनि भ्रमण सन्दर्भमा छलफल गरे । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराईलगायतले नयाँ सम्झौता नगर्न सचेत गराए ।
भर्चुअल दूनियाँमा लोकप्रिय दल विवेकशिल नेपालीले पनि तीन बुँदे धारणा सार्वजनिक गर्यो । विवेकशिल नेपालीले सार्वजनिक गरेको धारणामा भारतसँग सम्मानजक सम्बन्ध सुधार गर्न, उत्तर–दक्षिण नीति २१ औं सताब्दी सापेक्ष तय गर्न आग्रंह गरेको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धमा देखिएको यति धेरै शंका र आतंक प्रचण्डको हकमा स्वभाविक ठान्छन् । उनी भन्छन्, ‘ प्रचण्ड विश्वास नै गर्न नसकिने खतरनाक पात्र हुन् । नेपालमा राष्ट्रघाती कुनै सम्झौता गर्दिनँ भनिसकेका छन् । तर भारत पुगेर खतरनाक मुभ गर्न सक्छन् । उनको यस्तो चरित्र थाहा पाएर नै सबै डराएका हुन् ।’
‘एमालेले प्रचण्डलाई घाँटी–घाँटी हुने गरी भोग्यो । बाबुरामको त पुरानै अविश्वास हो । नागरिक समाज पनि प्रचण्डको ढुलमुले चरित्रबाट त्रस्त छ । मलाई पनि डर लागेको छ ।’ – आचार्यले भने, ‘घण्टा–घण्टामा बोली र व्यवहार फेर्छन् । यीनले जे पनि गर्न सक्छन् । यसकारण उनको भ्रमणले आतंक सिर्जना गर्नु स्वभाविक हो ।’
- नेपाल आज