
काठमाडौँ – कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार ५०० मा लिलाम बिक्री गरेको पाइएको हो ।
अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री गत फागुनमै लिलाम बिक्री गरेको पाइएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । अस्पताल विकास समितिलाई समेत जानकारी नगराई करोडौँको उपकरण कवाडीको भाउमा बिक्री गरेको पाएपछि जिल्लामा विरोध सुरु भएको छ ।
अस्पतालले कवाडी भनेर लिलाम बिक्री गरेका सबै उपकरण मर्मत गरेर नयाँ निजी अस्पतालमा उपयोगमा ल्याउने तयारी गरेपछि मात्र स्थानीयवासीले थाहा पाएका थिए । सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण निजी अस्पतालमा पु¥याइनुमा कर्मचारीकै मिलोमतो रहेको दिक्तेलका छत्रकुमार बजिमयले जानकारी दिए । सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरिएको विषयमा कसैलाई पनि जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको बजिमयले बताए ।
कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि सूचना टाँस गरेको पाइएको छ । लिलाम बिक्री गरिएका कतिपय उपकरण सिल प्याक नै नतोडिएको रहेको पाइएको खरिद गर्नेमध्येका एक सदस्यले जानकारी दिएका छन् । जिल्ला जनस्वास्थ्य प्रमुख चिकित्सक डा रामबहादुर केसीले भने अस्पतालको उपकरण लिलाम बिक्री र दिक्तेलमा निजी अस्पताल सञ्चालन गर्ने तयारी संयोग मात्र भएको बताए ।
अस्पतालले चार थान प्रिन्टर क्यानन, सातवटा कम्प्युटर डेस्कटप, दुई थान फ्याक्स मेसिन, दुईवटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, आठवटा स्टेविलाइजर, एक थान फलामे सेफ, दुई थान यासिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुईवटा कम्प्युटर टेबल, दुई थान कम्प्युटर कुर्सी, दुई थान कलर टेलिभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एकवटा पेसेन्ट ट्रली, एकवटा ह्विल चियर, चार थान इसिसी मेसिन, चारवटा एक्स–रे मेसिन, एक थान एचपी लेजर जेड प्रिन्टर, एक थान युपिएस, ११ वटा स्टेथेस्कोप, ३८ वटा बिपी सेट, २१ वटा हस्पिटल बेड, १३ वटा बेडसाइड लकर, एक थान बेड लेबर डेलिभरी टेबल, दुई थान स्ट्रेचर, चार थान अटोस्कोप, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामान लिलाम बिक्री गरेको पाइएको छ ।
कसैलाई पनि थाहा नदिई सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरेको पाएपछि उद्योग वाणिज्य सङ्घको आग्रहमा सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।
- दियो पोष्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्