Skip to content
LAXMI SUNRISE BANK

बुद्ध एयरले बिरामी बोक्न मानेन, सेनाको हेलिकोप्टरले जोगायो चारजनाको ज्यान

अर्थ सरोकार


काठमाडौँ – निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले जाजरकोट सदरमुकाम खलंगामा आगलागीमा परेर जलेका घाइते ल्याउन अस्वीकार गरेको छ ।

बुद्धले नेपाल गञ्जबाट उपचारका लागि बिरामी काठमाण्डु ल्याउन नमानेको हो । पीडितले बुद्ध एयरको आइतबार बिहान नौ बजको नियमित उडानको टिकट लिएका थिए । तर, जहाज उड्ने अन्तिम समयमा आएर पाइलटले बिरामी बोक्न नसक्ने बताएका थिए । खलंगास्थित मानसिंह खत्रीको पसलमा आइतबार बिहान ११ बजेको समयमा भिषण आगलागी भएको थियो ।

आगलागीका कारण खत्रीकी छोरी १८ वर्षीया संगीता खत्री बोहराको जलेर घटनास्थलमै मृत्यु भयो । त्यस क्रममा मानसिंहसहित स्थानीय गोकर्ण चन्द, प्रेम रानामगर र प्रहरी हवल्दार रमेश शाह घाइते भए । घाइतेमध्ये सिंहको अवस्था गम्भीर छ । जाजरकोट जिल्ला अस्पतालले रेफर गरेपछि घाइतेलाई आइतबार साँझ भेरी अञ्चल अस्पताल नेपालगञ्ज ल्याइएको थियो । तर, उक्त अस्पतालले समेत त्यहाँ उपचार नहुने भन्दे काठमाण्डु लैजान भनेपछि पीडितले बुद्धको टिकट लिएका थिए ।

 बुद्ध एयरले बिरामी बोक्न नमानेपछि माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गणेशप्रसाद सिंह ‘घाइतेको जीवन बचाइदिन’ आग्रह गर्दै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगे । जाजरकोटकै स्थायी बासिन्दा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले रक्षासचिव महेशप्रसाद दाहाललाई टेलिफोन गरी घाइतेको उद्धार गर्न आग्रह गरे ।

दाहालले लिखित पत्र पठाउन भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शमा आचार्यले रक्षामा चिठी पठाउन लगाए । रक्षाको निर्देशनमा नेपाली सेनाको हेलिकोप्टरले नेपालगञ्जबाट सोमबार साँझ करिब ५ बजे काठमाडौँ ल्यायो । घाइतेलाई वीर अस्पताल लगिएकामा वीरले कीर्तिपुरस्थित सामुदायिक अस्पताल रेफर गरेको छ ।

सिंह, चन्द र रानामगरको कीर्तिपुर सामुदायिक अस्पतालमा र प्रहरी हवल्दार शाहको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको आचार्यले जानकारी दिए । ‘माओवादी केन्द्र जाजरकोटका इन्चार्ज सिंहले बुद्ध एयरको जहाजले बिरामी बोक्न नमानेको भन्दै कारबाहीको माग गरेका छन् ।


‘मानिसको ज्यान जान लागिसक्यो, घाइते छटपटाएर चिच्याइरहेका छन्, यो सबै देख्दादेख्दै पनि तर बुद्ध एयरले बिरामी बोक्न मानेन’, सिंहले  भने, ‘के व्यवसाय पैसा कुम्ल्याउन मात्र गर्ने हो ? मानवीयता भन्ने व्यवसायमा हुँदैन र ?’
  • काठमाडौँ टुडे 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK