
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरी कल बाइपास काण्डमा नेपालमा फँसेपछि रातारात बंगलादेश भगाइए । चौधरी भागेपनि काठमाडौंमा कलबाइपासको डरलाग्दो सञ्जाल भत्किएन । बरु, अझै बढ्यो ।
झोला व्यापारको आवरणमा कल बाइपास केन्द्र चलाइएका एक व्यक्तिलाई प्रहरीले अन्तिम साउनमा पक्राउ गरेपछि सञ्जालको बारेमा खुलासा भएको थियो । पेप्सीकोलाबाट काभ्रे, धुलिखेल–९ का २८ वर्षीय केदार अछामी र सिन्धुपाल्चोक, चौतारा–९ का २६ बर्षीय सुमन श्रेष्ठ पनि कल बाइपासको अभियोगमा प्रहरीको फन्दामा परेपछि काठमाडौंमा अरबौंको ठगी भइरहेको तथ्य खुल्न आएको हो ।
अन्तर्राष्ट्रिय गिरोहको साँठगाँठमा काठमाडौंमा अबैध कल बाइपास केन्द्र चलाइरहेका उनीहरू अत्याधुनिक उपकरणसहित फेला परेका थिए । बानेश्वर, शंखमूल र पेप्सीकोलामा लिएका कोठामै कल बाइपास संचालन गर्ने उपकरण जडान गरेर धन्दा चलाइरहेका थिए। उनीहरूले दराजमाथि फल्स बटन बनाई ती उपकरण लुकाएका थिए।
उनीहरूले बंगलादेशी नागरिकको सहयोगमा उक्त कल सेन्टर चलाउँथे । मुख्य अभियुक्त सुमन श्रेष्ठले तीनै ठाउँका कल बाइपास सेन्टर मोटरसाइकलबाट अनुगमन गर्ने गरेको अनुसन्धानले खुलाएको छ । बिगत तीन महिनादेखि बानेश्वर, शंखमुल, पेप्सीकोलालगायतका क्षेत्रमा अबैध अन्तर्राष्टिय कल बाइपास संचालन भइरहेको सूचना प्रहरीकहाँ पुगेको थियो ।
अवैध कल बाइपासको धन्दामा दुई बर्षअघि पक्राउ परी धरौटीमा छुटेका एक बंगलादेशी मूलका नेपाली नागरिक सोही कान्डमा फेरि पक्राउ परेका छन् । अवैध कल बाइपासको धन्दा गरेको आरोपमा जावेद खानसहित उनका साथीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको फन्दामा परेका हुन् । ताहाचलस्थित भूषण श्रेष्ठ तथा सामाखुसी टाउन प्लानिङस्थित किरण दर्शनको घरमा फ्ल्याट भाडामा लिएर कल बाइपासको काम गर्दै आएका खानसहित उनका सहयोगी दिवाकर नकर्मी, नवीन कायस्थ र जयराम गौतम पक्राउ परेका थिए । उनीहरूमध्ये नकर्मी खानको व्यावसायिक साझेदार थिए भने कायस्थ कल बाइपास हुने ठाउँको जिम्मेवारी लिने व्यक्ति र गौतम सिमकार्ड मिलाउँथे ।
भिओआइपी प्रविधिमा प्रयोग हुने सामान, नेपाल टेलिकमका तीन सय ९३ र एनसेलका ४४ सिमकार्डबाट उनीहरूले कलबाइपासको धन्दा चलाएको अनुसन्धानले खुलाएको छ । खानको संलग्नता अन्तर्राष्ट्रिय गिरोहसँग रहेको सिआइबीले जनाएको छ । हुन्डी र मनी ट्रान्सफरमार्फत कारोबार भिओआइपीका उपकरण वैधरूपमा ल्याउन नपाउने भएकाले उनीहरूले अनलाइनमार्फत् खरिद गरी कार्गोमार्फत् नेपाल ल्याएका थिए । बिभिन्न व्यक्तिका नागरिकता, लाइसेन्स तथा पासपोर्ट प्रयोग गरी उनीहरूले सिमकार्ड निकालेका थिए। पैसा लेनदेन पनि प्रत्यक्ष नभई हुन्डी र मनी ट्रान्सफरमार्फत् गर्दैआएका थिए। दुई वर्षदेखि फरार प्रमुख अभियुक्त जावेद एक लाख धरौटीमा छुटेका थिए ।
२०७० साउन २ गते सिआइबीले उनलाई ग्रान्डी अपार्टमेन्टमा कल बाइपास चलाएको आरोपमा उपकरणसहित पक्राउ गरेको थियो । सो मुद्दामा फैसला गर्दै अदालतले उनलाई दुई बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। अन्य अभियोगमा पनि फरार जावेदविरुद्ध भिओआइपीका अन्य मुद्दामा पनि छन ।
२०७१ असार ६ गते उनका सहयोगीलाई प्रहरीले बसुन्धाराबाट पक्राउ गरेको थियो । हेटौँडामा सुरज जोशीलगायतसँग मिलेर कल बाइपास गरेका थिए । सीआइबीको अपरेशन ‘भ्वाइस फक्स’ मार्फत सञ्जालको बारेमा जानकारी भएको थियो । सिआइबीले अवैध भिओआइपीबिरुद्ध हालसम्म ९१ स्थानमा गरेको कारबाहीमा नेपाली १०६ र विदेशी ३१ गरी १३७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। पक्राउ अभियुक्तबिरुद्ध ११ अर्ब४८ करोड ४२ लाख ६६ हजार ८ सय ७४ को बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । हालसम्म बिभिन्न दुरसंचार कम्पनीका २२ हजार सिम कार्ड र आधुनिक उपकरणहरू समेत जफत गरिएको छ ।
सीआइबी प्रमुख डिआइजी नवराज सिलवालका अनुसार दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अनुसार कुनै व्यक्तिले बदनियतसाथ दुरसञ्चार लाइन, दुरसञ्चार प्रणाली वा यससँग सम्बन्धित अन्य संरचना वा उपकरणमा प्रतिकुल असर पर्नेगरी कुनै काम गरे, बिगारे वा कुनै किसिमले हानी नोक्सान गरे वा त्यस्तो काम गर्न उद्योग गरेमा अपराध गरेको ठहर्छ। यस्तो अपराध गरे नोक्सानीको बिगोबमोजिम जरिवाना वा पाँच बर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।
नेपाल टेलिकम, एनसेल, युटिएल, सिजी टेलिकम, स्मार्ट टेल र नेपाल स्याटेलाइट टेलिकमले मात्र नेपालमा अन्तर्राष्ट्रिय गेटवेको अनुमति पाएका छन्। यी बाहेक गेटवेबाट हुने अन्तर्राष्ट्रिय कललाई नेपालमा अवैध मानिन्छ। कल बाइपासबाट राजश्व चुहावटसँगै संगठित अपराधीको चलखेल सहज भएको प्रहरीले जनाएको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्