- दिक्षा कट्टेल
काठमाडौँ – स्थान नयाँ बानेश्वर, समय विहान १० बजे । कार्यालय हिंडेका, जागिर खोज्न हिंडेका, कलेज हिंडेका, कलेजबाट फर्किएका थुप्रै अनुहारहरु बसमा चढ्छन् । तीनलाई गन्तव्यमा पुर्याउन बसका चालक र सहचालक लागि परेका हुन्छन् । तीनै सहचालकको भीडमा यस्ता बालबालिकाहरु पनि छन् जसको भविष्यको टुंगो छैन ।
काठमाडौँका बसहरुमा अझै पनि बालबालिकाको श्रमशोषण हुने गरेको छ । काँधमा झोला बोकेर स्कुल जानुपर्ने बालकहरु सहचालक बन्न बाध्य छन् । कानुन:त यसरी कुनै पनि व्यवसायमा बालबालिका प्रयोग गर्न पाईदैन । तर कानुन बनाउनेदेखि कानुनको पालना गर्न सिकाउनेहरुले देखेका यस्ता अनुहारहरुको भविष्य अझै पनि अन्धकार छ ।
सहचालक बन्नु रहर होइन उनीहरुको । कसैको घरमा खानै नपुगेर शहर छिरेका छन्, कोहि घरमा झगडा परेर हिंडेका छन् । तर आज शिक्षा दिवसको दिन लाखौँ खर्च गरेर अनेकौं कार्यक्रम गर्नेहरुले यी निर्दोष अनुहारका प्रति केहि गर्न आवश्यक छ ।