×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्रीमा ‘मनपरी’ : सीइओले कानुन मानेनन्, डेपुटी सीइओ नियुक्ति र सपथ बिना नै पदमा, अन्य बदमासी यस्ता…!

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- बिगत लामो समयदेखि नै विवादमा आएको मञ्जुश्री फाइनान्समा कम्पनीका सीइओ, डेपुटी सीइओ र क्रेडिट हेडले मनोमानी गरिरहेको खुलासा भएको छ । नियामकले गरेको ‘इन्सपेक्सन’का क्रममा कम्पनीभित्र उच्च तहका कर्मचारीहरुले मनपरी गरेको खुलासा भएको हो । अर्थ सरोकार डटकमले गोप्य स्रोतबाट पाएको ‘इन्सपेक्सन रिपोर्ट’ मा कम्पनीका सीइओ सन्तोष निरौला, डेपुटी सीइओ नारायण सुवेदी, र क्रेडिट हेड बिकास राज शाक्यले मनोमानी गरेको पाइएको छ । कम्पनीका सीइओ सन्तोष निरौला आफैं पनि कम्पनीका प्रमोटर हुन् । यता डेपुटी सीइओ नारायण सुवेदी एक वाणिज्य बैंकको कलङ्कीस्थित साखाको ब्रान्च मेनेजर पद छोडेर मञ्जुश्रीमा आएका व्यक्ति हुन् । इन्सपेक्सन रिपोर्टमा माथि उल्लेखित तीनै कर्मचारीमाथि इन्सपेक्सन टोलीले ‘कैफियत’ देखाएको छ ।
सीइओ निरौलाकै यस्तो मनपरी !
अर्थ सरोकार डटकमले प्राप्त गरेको गोप्य कागजात अनुसार कम्पनीका सीइओ सन्तोष निरौलामाथि कर चुक्ता प्रमाणपत्र तथा कर्जा सुचना केन्द्रबाट साख सुचना नलिएको कैफियत देखाइएको छ । उनले कर चुक्ताको प्रमाणपत्र समेत लिएका छैनन् भने कर्जा सूचना केन्द्रबाट नियम अनुसार अनिवार्य रुपमा लिनुपर्ने साख सुचना समेत नलिएको पाइएको छ । उनले कम्पनीभित्र यतिसम्म मनोमानी गरेको पाइएको छ कि, उनको नियुक्तिपत्रसमेत फाइलहरुमा संलग्न नरहेको ‘कैफियत’ निरीक्षण टोलीले रिपोर्टमा उल्लख गरेको छ । आफैं प्रमोटर भएपछी आफ्नै ‘किराना पसल’ चलाएको शैलीमा उनले तलव सुविधा पनि मनपरी रुपमा बढाएको वा परिवर्तन गरेको पाइएको छ । उनले तलव भत्ता तथा सुविधामा विभिन्न समयमा गरिएको परिवर्तन सम्बन्धि कागजात फाइलमा नै समावेश नगरेर मनपरी गरेको उक्त रिपोर्टमा उल्लेख छ । 
डेपुटी सीइओको मनोमानी उस्तै 
एक वाणिज्य बैंकको ब्रान्च मेनेजर पद छोडेर मञ्जुश्रीमा आएका नारायण सुवेदीलाई कम्पनीले डेपुटी सीइओ नै भनेर वेव साइटमा उल्लेख गरेको छ । तर उनलाई डेपुटी सीइओ कसैले बक्सिस दिएको शैलीमा प्रस्तुत भएको खुलासा भएको छ । किनकि न उनले डेपुटी सीइओको नियुक्ति लिएका छन्, न सपथ खाएका छन् । यो सरासर नियामकको अटेरी हो । अझ डेपुटी सीइओको हकमा यतिसम्म पनि बदमासी भएको छ कि उनी डेपुटी सीइओमा नियुक्त हुँदाको नियुक्ति पत्र तथा सपथ ग्रहण तथा उक्त पदमा नियुक्ति हुँदाको कुनै पनि कागजात फाइलमा संलग्न नगरेको पाइएको छ । यद्यपी उनले डेपुटी सीइओ सरहकै हैसियत पाइरहेका छन् भने सोहि अनुसारको तलव सुविधा लिइरहेका छन् । उनको हकमा यहाँसम्म बदमासी भएको छ कि विगतमा गरेको कामको अनुभवहरु प्रष्ट पार्ने कागजातसमेत फाइलमा संलग्न नरहेको समेत पाइएको छ । उनले स्वास्थ्य परिक्षण गरेको शुल्क पनि कागजात नै नपुर्याई ‘क्लेम’ गरेको पाइएको छ । स्वास्थ्य परिक्षण सम्बन्धि कागजात तथा कर चुक्ता प्रमाण पत्र पनि फाइलमा संलग्न नरहेको पाइएको छ ।
यस्तै कम्पनीका क्रेडिट हेड बिकाश राज शाक्यमाथि पनि कार्य सम्पादन मुल्यांकन प्रतिवेदन, बढुवा हुँदा सो सँग सम्बन्धित कागजातहरु फाइलमा अध्यावधिक नगरेको पाइएको छ । नियामकको नियम एक-एक पल्टाउने हो भने उनको बढुवा हुँदा कागजात नै संलग्न नरहेको पाइएपछि उनको बढुवा नै ‘अवैधानिक’ हुने पक्का छ । तर जसो जसो पुरोहित, उसै उसै स्वाहा भनेजस्तै जसो जसो सन्तोष निरौलाले भने त्यसै त्यसै गर्ने प्रवृतिले कम्पनीले एकातर्फ नियामकको नियम रद्दीको टोकरीमा फ्याँकेको छ भने अर्कोतर्फ कम्पनीलाई तहस-नहस बनाएर जनताको पैसामाथि मोजमस्ती केहि व्यक्तिहरुले गरिरहेका छन् ।
यसअघि कम्पनीका सीइओ रहेका नवराज थापा फरार थिए । उनलाई सीआइबीले समातेको भन्ने चर्चा चलेको भएपनि सीआइबीले भने यस विषयमा तत्काल केहि जानकारी दिन नमिल्ने र आफुहरु अनुसन्धानकै क्रममा रहेको बताएको छ । बिगतदेखि नै थुप्रै फाइलहरु बिग्रेको मञ्जुश्रीका सीइओ सन्तोष निरौला आफ्ना कर्तुतहरु लुकाउन सकेसम्म कम्पनीलाई मर्जरमा लैजाने प्रयास गरिरहेका छन् । एपेक्स बैंक प्रकरणमा विष्णु धितालले पनि यस्तै गर्न खोजेका थिए । पछि उनी सीआइबीको फन्दामा परेरै छोडे । निरौलाको पनि त्यस्तै दिन आउने संकेत देखिएको छ । स्मरण रहोस् फाइनान्स कम्पनीमा काम गर्ने चार्टड एकाउन्टेन्टहरुमध्ये सन्तोष निरौला सबैभन्दा बढी विवादित सिए हुन् ।
१४ पटक कल गर्यौं, २ पटक एसएमएस गर्यौं तर सम्पर्कमा आएनन् निरौला !
कम्पनीका सीइओ सन्तोष निरौलाले यतिसम्म दादागिरि देखाईरहेका छन् कि, उनले आफ्नो कर्तुत लुकाउन सञ्चारकर्मीको फोन समेत उठाउन छोडेका छन् । अर्थ सरोकार डटकमले गोप्य रुपमा पाएको कागजातमा उल्लेख भएका कुराहरुबारे बुझ्न हामीले पटक पटक उनलाई सम्पर्क गर्यौं । सम्भवत : २ बर्षको इतिहासमै समाचार बनाउँदा हामीले समाचारको पात्रसँग यति धेरै पटक फोन गरेका थियौं । तर १४ पटक कल गर्दा र २ पटक एसएमएस गर्दा समेत न उनी सम्पर्कमा आउन चाहे, न उनले कल ब्याक नै गरे । यस अघि पनि अर्थ सरोकार डटकमले उनका कर्तुतहरुबारे समाचार प्रकाशित गरेको थियो । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा समेत उजुरी परिसकेको छ ।
साथै हामीले पाएको गोप्य कागजातमा कम्पनीले विभिन्न भौचरमा गरेका बदमासी र संचालकहरुको हकमा समेत देखिएका कैफियतहरु उल्लेख छ । साथै उक्त रिपोर्टमा विभिन्न कर्जाका फाइलहरुमा गरिएका बदमासीसमेत उल्लेख छन् । हामी आगामी अंकमा एक-एक गरी सो तथ्य प्रस्तुत गर्दैछौं । मञ्जुश्री फाइनान्ससँग सम्बन्धित उक्त गोप्य रिपोर्ट अर्थ सरोकार डटकमसँग सुरक्षित छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: