काठमाडौँ – शुक्रबार मुस्ताङमा टिपर दुर्घटना हुँदा २० जना मजदुरले ज्यान गुमाए । कसरी भयो टिपर दुर्घटना ? टिपर दुर्घटनाबाट बचेका घाइते रोल्पाका ऋषि घर्तीमगरले घटनाको नालीबेली कान्तिपुर दैनिकलाई यसरी सुनाएका छन्ः
–हामी काम गर्ने ठाउँमा जहिल्यै टिपर चढेर ओहोरदोहोर गथ्र्यौं । शुक्रबार पनि खाना खाएर काममा जाँदै थियौं ।
हिँडेर जाँदा ४५ मिनेट लाग्छ । शुक्रबार टिपरमा बालुवा भरी थियो । हामी ३०–३२ जना कामदार थियौं । म दाङको सुरवीर चौधरीको काखमा बसेको थिएँ ।
रोल्पा लिवाङको अर्जुन घर्ती र प्रसाद पुनलाई अंगालो हालेर जिस्किँदै थिएँ । हामी त्यसरी नै कहिले ढुंगा, कहिले बालुवामाथि बसेर जान्थ्यौं । कोरला जाने पुरानो बाटोबाट टिपर गुडेको थियो । टिपर न्युट्रलमा थियो जस्तो लाग्छ । एकछिनमा झ्याक–झ्याक गर्दै ओरालोतिर गयो ।
ब्रेक नलागेपछि गुल्टियो । पछाडिको ढालामा लक लागेको रहेनछ, ढ्याम–ढ्याम भयो । ढालाले धेरै मान्छे च्याप्यो । अलि तल पुगेर गाडी पर्लङ्गै पल्टियो । त्यसपछि के भयो, मलाई केही थाहा भएन । १५–२० मिनेट बेहोस भएछु । उठेर हेर्दा जताततै लासैलास थियो ।
मेरो माइलो भाइ सन्त घर्तीमगर पनि दुर्घटनामा बित्यो । जिस्किँदै, चल्दै आएका तीनै जना बिते । हाम्रै साथीभाइले हामीलाई उद्धार गरे । घेलुङबाट नर्स पनि आए । घटनास्थलमै १९ जनाले ज्यान गुमाइसकेका थिए । ड्राइभर लाइसेन्सवाला नै हो । बरु लाइसेन्स नहुने अरू थुप्रै ड्राइभर छन् । हिजै त्यस्तो भयो । भाग्यको खेल होला ।
ड्राइभरले युवती काखमै बसालेर टिपर चलाएको थियो भन्ने कुरा पनि आएको छ । हामी पछाडि थियौं । अगाडि ड्राइभरसहित तीन जना बस्ने सिटमा ७–८ जना थिए । दुई जना अपरेटर, दुई युवती, खलासी र ड्राइभर थिए । ढालाको लक भइदिएको भए पनि यति धेरै जना मर्ने थिएनन् ।
हामी २०५७ सालदेखि मुस्ताङमा बस्थ्यौं । बाटो खन्ने काम गथ्र्यौं । बेनीबाट कोरला जोड्ने बाटोमा ग्याबिन, पर्खाल, पुल, कल्भर्ट बनाउने काम गर्छौं । बिरुवा कन्स्ट्रक्सनमा काम गर्ने हामीजस्ताको धेरै समूह छ । दुर्घटनामा परेको दुई समूह मात्रै हो ।
मेरो पार्टनर रमेशका श्रीमती, दुई साला, जेठान, दिदीसासू, साढुदाइ र भदैलाई पनि यही दुर्घटनाले खायो । मेरो साँप्राको हड्डी भाँचिएको छ । अन्तिमसम्म कम्पनीले उपचार गर्ने हो कि होइन ? ठूलो भाग्यबाट बँचियो जस्तो लाग्छ ।