काठमाडौं : नेपाल एसबीआई बैंकले १०.८४% नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको छ । बैंकले आइपीएस कनेक्टमार्फत सेयरधनीहरुको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा १०.८४% नगद लाभांश जम्मा गर्न थालेको हो ।
बैंकले हालसम्म पनि डिम्याट खाता नखोल्ने सेयरधनीलाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत खाता खोल्न समेत आग्रह गरेको छ । खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । यता, बोनस सेयर भने सीडीएस तथा नेप्सेमा सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने बैंकको भनाई छ ।
बैंकको मङ्सिर २९ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ६% बोनस सेयर र १०.८४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुगेको छ ।