Skip to content
LAXMI SUNRISE BANK

‘भोक लाग्यो सरकार, काम गरी खान देउ’ : ट्याक्सी व्यवसायी (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफुहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् । अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ गते सम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभाग मार्फत सरकारलाई बुझाइएको बताउनुभयो । 
उहाँले ट्याक्सी सन्चालन गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभाग मार्फत सरकारलाई चाबी बुझाइएको बताउनुभयो । उहाँले अहिले ट्याक्सी मात्रै बुझाइएको तर सरकारले सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनी समेत दिनुभयो । 
उहाँले निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्ने जस्तो गरी सरकारले व्यवहार गरेको बताउनुभयो । अध्यक्ष केसीले प्रधानमन्त्रीले समेत कोरोना ठूलो रोग नभएको बताइसकेकाले लकडाउन गरेर मजदुरहरुलाई बन्दी बनाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले भन्नु भयो यो ठूलो रोग होइन समान्य रुघा खोकी हो हाच्छयु गरे निको हुन्छ । तातो पानी र बेसार खाए निको हुन्छ । एकातिर त्यसो भन्ने अर्कोतिर हामीलाई बन्दी बनाइराख्ने ।’
व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् । उनीहरुले सरकारका कारण ट्याक्सी चलाउन नपाउँदा घरमा खाने कुरा सकिएको र रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा आफुहरु पुगेको बताएका छन् । दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ । 
व्यवसायीहरुले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जना मात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन् । उनीहरुले स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यस अघि नै ज्ञापन पत्र बुझाएको तर सरकारले बेवास्ता गरेकोले आन्दोलन गर्नुपरेको बताए । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK