
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यो साता पनि विभिन्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थासँग विभिन्नखाले सम्झौता गरेको छन् । हेर्नुहोस् यो साता कुन बैंकले, कुन संस्थासंग, के प्रयोजनका लागि, कस्तो सम्झौता गरे :

सनराइज बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच मंगलबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतामा सनराइज बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे ।
कर्जा मासिक किस्ताको आधारमा ७ वर्षअवधिमा भुक्तानी गरिसक्नुु पर्ने बैंकले जनाएको छ । बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता वृद्धि हुने बताए ।
इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि गर्ने बताए ।

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई IME Pay Digital Wallet को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

एनएमबि बैंक र होटेल भिवान्ताबीच बैंकका ग्राहकलाई होटलको सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेकी छिन् ।

माछापुच्छ्रे बैंकका ग्राहकले दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले छुट्टै–छुट्टै मितिमा उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।
नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।

एनएमबि बैंक र आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ ।
यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डोस्ट मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भयो । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा द्यचबलम ब्धबचभलभकक का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
एलसीभी सेग्मेन्ट अन्तर्गत डोस्ट मोडलका सवारी साधनहरु विभिन्न एप्लिकेसनमाजस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

सानिमा बैंक र टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका उपाध्यक्ष शौरभ राज थपलिया र सानिमा बैंकका एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरे ।
टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रहीकर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ । अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ ।
यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

कामना सेवा विकास बैंक लि. र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ । यसबाट ‘आफ्नै व्यक्तिगत घर होस’ भन्ने सपना बोकेका ग्राहकहरुको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफु विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. का प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय, ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गर्नु भएको थियो ।

कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्नहोटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंककाबजार व्यवस्थापन प्रमुख नवीनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरे । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्ट तर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.का तर्फबाट कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले न ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनीबिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सुजुकी ब्राण्डको गाडीको आधिकारीक विक्रेता सिजि मोटो कर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।