Skip to content
LAXMI SUNRISE BANK

‘…उफ यो गुप्तबास’, संक्रमित भन्छन्, ‘कोरोनाले रुवायो, मर्नु न बाँच्नु बनायो !’

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । विश्वमा आतंक मच्याएको कोरोनाको प्रभाव बिस्तारै नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । दिनहुँ हजारौँ संक्रमित थपिदै गएका बेला संक्रमणको जोखिम सुदूरपश्चिममा पनि त्यत्तिकै मात्रामा बढेको छ । यता संक्रमितको संख्या दिनप्रतिदिन बढीरहँदा संक्रमितको उपचारका लागि प्रयाप्त अस्पतालको समेत अभाव भएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा अहिले संक्रमितको उपचारका लागि कुनैपनि बेड खाली छैनन् । भएका पनि व्यवस्थित नहुँदा अस्पतालमा उपचारका लागि पुगेका संक्रमित चिन्तामा छन् । ‘डाक्टरको भरोसा भन्दा पनि हामी त भगवानको भरोसामा बाँचीरहेका छौँ’, उपचाररत एक संक्रमितले भने ।
‘कोरोना भन्ने बित्तिकै एकप्रकारको त्रास त छँदै छ गुप्तबास बस्नुको पिडा झनै बेग्लै हुने रहेछ’, उनले भने, ‘न त कसैले राम्रो सँग कस्तो छ ? भनि सोध्छन् न त डाक्टरहरुबाट राम्रो उपचार पाइन्छ ।’ उनले आफ्नो कुरुवा बसेका छोरालाई देखाउँदै भने, ‘यो अवस्था देखेर मेरो कुरुवा बसेको उसलाई पनि कोरोला लाग्छ कि भन्ने पिर परेको छ ।’ झट्ट हेर्दा अस्थाई कोरोना अस्पताल व्यवस्थित नै देखिएतापनि आन्तरिक माहोल भने अस्तव्यस्त नै थियो ।
अस्पतालमा खटिएका चिकित्सक तथा नर्सहरुले पनि अपेक्षा अनुसारको हेरचाह नगर्ने गरेको उनिहरुको तर्क थियो । उपचाररत एक संक्रमितले भने, ‘निको हुन्छु की भनेर अस्पताल पुगेँ तर फर्कन्छु भन्ने आशै छैन ।’ हुनपनि अस्पतालमा झ्याल बाहिर राखिएका अक्सिजनका सिलिण्डर, सास फेर्न गाह्रो भए मुखमा अक्सिजन मास्क लगाईदिने नर्स र संक्रमित कुरेर बसेका बेड र जताततै फोहोरको डंगुर बाहेक केही छैन । संक्रमितहरुले आफै तताएर पानि पिउँछन् भने स्वास्थ्यमा केही समस्या आएमा फोन गरेर चिकित्सकलाई बोलाउनुपर्ने अवस्था रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK