
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको सोमबार शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएको थियो ।
उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई खरीद गरी ल्याएका समेत पाँच मेशिन जडान गरी मिर्गौला पीडितलाई डाइलाइसिस गर्ने क्रममा सोमबार तीन बिरामीलाई पहिलो पटक डाइलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । नगरप्रमुख महतले अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गौला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पुर्याउने उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको जानकारी दिनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिलाई सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई पनि अब आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना जागृत गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति रहेको बताउनुभयो । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा तथा शल्य चिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ प्रतिष्ठानले सङ्घीय सरकारसँग सहकार्य गर्नाका साथै योजना तर्जुमा गरिने जानकारी दिनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले अस्पताललाई दीर्घकालसम्म गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ विभिन्न चरणमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै मिर्गौला रोगका बिरामीलाई उपचारका लागि हेटौँडाबाट बाहिरतिर भौँतारिनु नपर्ने अवस्था सृजना भएकामा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले जिल्लामा मिर्गौला रोगका बिरामीको चापलाई दृष्टिगत गर्दै डाइलाइसिस सेवालाई क्रमशः दैनिक तीन समूहमा सञ्चालनमा ल्याउने पनि जानकारी दिनुभयो । करीब तीन वर्षअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा हेटौँडाको चुरेहिल अस्पतालमा डाइलाइसिस सेवा सुरु गर्दै आएको थियो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्