×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाशकीय : अर्थ सरोकार छैटौँ वर्षमा प्रवेश

‘जनताका मुद्धा बोक्ने हो, गलत गर्नेलाई अक्षरले ठोक्ने हो’ भन्ने नारा बोकेर आर्थिक क्षेत्रमा भएका विकृतिहरुलाई उजागर गरी केहि हदसम्म भएपनि परिवर्तनको साक्षी बन्ने उद्देश्यका साथ २०७३ साल साउन १ गते बाट औपचारिक रुपमा सुरु भएको अर्थ सरोकार डटकमको यात्राले आज पाचौं बर्ष पार गरी छैटौं बर्षमा पाइला टेकेको छ । यो अवधिमा यति धेरै दर्शक, स्रोता र पाठकको माया पाउँदा हामीलाई थप जिम्मेवारीले थिचेको महसुस भएको छ । पाचौँ बर्ष मनाउँदै गर्दा यो खुसीको पलमा हामी, हामीलाई माया गर्ने सबैमा आभार प्रकट गर्दछौं । सबैको मायाले अर्थ सरोकार डटकमले पाएको यो उचाईंको खुसी सबैसँग साट्न चाहान्छौँ । तपाईं पाठककै अगाध मायाका कारण आज अर्थ सरोकार डटकम आर्थिक क्षेत्रको अग्रणी अनलाइन पत्रिका भएकोमा हामी गर्व गर्दछौँ ।

सुरुवातीका दिन सार्है कठिन थिए । तर कठिनताका बीच पनि हामी रति विचलित भएनौँ । निरन्तर लेखिरह्यौं जनताका मुद्धासँग जोडिएका भित्री तथ्यहरु, खोतलीरह्यौं बिकृतिका भ्वाङहरु, उजागर गरिरह्यौं बर्षौंदेखि दबाईएका अन्तरकथाहरु, सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म पुगेर सुन्यौँ पीडीतका पीडा, र आवाज उठायौँ माफियाहरुका विरुद्ध । जति, जति कठिन हुँदै गए दिनहरु, त्यति नै बढी खटेर र खपेर अगाडी बढीरह्यौं । किनकि हामीलाई भत्काउनुथियो अनियमितताको जालो, भन्नु थियो जनतालाई माफियाहरुले गरेको दादागिरीको कथा, बुझाउनुथियो सबैलाई देश लुट्नेहरुको असलियत र प्रमाणित गर्नु थियो हामीलाई ‘सत्य एकदिन सत्य सावित हुनैपर्छ ।’ र त लागिरह्यौं हामी निरन्तर खोजीमा ।

आज सुरुवातीका दिनदेखि पाचौँ बर्ष पूरा गर्दासम्म हामीले के गर्यौं त भन्ने प्रश्न महत्वपूर्ण छ । हो, हामीले जति गर्यौं हामी त्यतिमा सन्तुष्ट छैनौं । तर जति गर्यौं त्यसमा गर्व भने जरुर गर्छौं । हामीले आर्थिक पत्रकारितामा केहि फरकपन दिन खोजेका थियौं । र त्यसमा हामी केहि हदसम्म सफल भएका छौँ । आज कसैले अनियमितता गर्दा, कसैले कसैलाई दु:ख दिंदा, कसैले गलत गर्दा पीडीतले अर्थ सरोकार खोजिरहेका छन् भन्ने सुन्दा हामी सार्है गौरवान्वित हुन्छौँ । डे वानदेखि गलतलाई गलत भन्न कतै नचुक्ने र यस मामलामा कसैसँग नझुक्ने हाम्रो चट्टानी अडान आज पनि यथावत छ ।

आज पूराना दस्तावेजहरु हेर्दैगर्दा अर्थ सरोकार सबैभन्दा बढी डकुमेन्टेड न्युजको अभूतपूर्व गोदाम बनेको देख्दा हामी जति खुसी छौं, पाठकको यस्तै विश्वास टिकाइराख्ने चुनौतीबारे चिन्तित पनि छौं । र हामी आज पनि यहि प्रतिबद्धता दोहोर्याउँछौँ- जहाँ गलत हुन्छ, त्यहाँ अर्थ सरोकारले ‘इफ’ वा ‘बट’ हेर्दैन । जे देख्छ, त्यहि लेख्छ ।

संचारको सहजपानासँगै हेर्ने न्युजको प्रभाव झनै बढेको छ । दर्शकको यहि आवश्यकतालाई बोध गर्दै हामीले सुरुवातीका दिनदेखि नै ‘अर्थ सरोकार’ टेलिभिजन कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएका थियौं । र तपाईंकै सुभेक्षाको परिणाम- हामी आज टेलिभिजनमा प्रशारण हुने आर्थिक टेलिभिजन कार्यक्रममध्ये सबैभन्दा बढी हेरिने कार्यक्रम पनि हाम्रै टिमले उत्पादन गरेको ‘अर्थ सरोकार’ हो भन्दा गौरवान्वित छौँ । अर्थ सरोकार डटकमले तयार गरेका ‘मार्केट टक, काकासँग सेयरका कुरा, बीमा बहस, लगायतका कार्यक्रमहरु सर्वाधिक हेरिने भिडियो कार्यक्रम बन्न सफल बनेको छ भन्ने तथ्य सुनाउँन पाउँदा हामी निकै खुसी छौं । यो असीम मायाका लागि हामी सदैब तपाईंहरु समक्ष ऋणी छौं।

शहरको खाल्डो छोडेर उकाली लाग्दै गर्दा थाहा हुन्छ, सुन्ने समाचारको महत्व । र त अर्थ सरोकार डटकमले अर्थ सरोकार रेडियो कार्यक्रम उत्पादन गरेर समाचार सुन्नेहरुका लागि खोजमूलक समाचार प्रकाशन गरिरहेको छ । अर्थ सरोकार डटकमले तयार गरेको रेडियो कार्यक्रम आज देशका डेढ सय बढी रेडियोहरुबाट प्रशारण हुन्छ । तपाईं स्रोताकै अगाध मायाका कारण अर्थ सरोकार रेडियो कार्यक्रम देशकै सबैभन्दा बढी प्रशारण पहुँच भएको र सबैभन्दा बढी सुनिने रेडियो कार्यक्रम बन्न सफल भएको सम्पूर्ण श्रेय तपाईंहरुलाई नै दिन चाहान्छौं ।

अर्थ सरोकार डटकम, अर्थ सरोकार टेलिभिजन कार्यक्रम, अर्थ सरोकार रेडियो कार्यक्रमको सफलतासँगै हामी अर्थ सरोकार खोज पत्रिकासमेत लिएर तपाईं पाठकमाझ आएका थियौं । कोरोना कहरले हाम्रो प्रिन्ट संस्करणको यात्रामा अल्पविराम लगाईदिएको थियो । तर आजबाट नै हामीले हाम्रो प्रिन्ट संस्करणलाई पनि निरन्तरता दिनेगरी अगाडी बढेका छौं । पूरै ६४ पानाको पत्रिकामा एउटैमात्र विषय उजागर गर्ने हाम्रो फरक प्रयास छ । पत्रिकाको २ अंकमा हामीले गरेको अभ्यास धेरैले मन पराइदिनु पनि भएको छ । आशा छ हाम्रो यो इमान्दार प्रयासलाई पाठकहरुले थप मन पराइदिनुहुनेछ ।

हामी यो तथ्य सुनाउँदा सार्है खुसी छौं कि हामी सबैभन्दा बढी हेरिने, सुनिने र पढिने आर्थिक अनलाइन सञ्चारमाध्यम हौँ । सामाजिक संजालमा आज संचारमाध्यमसँग जोडिएका हरेकजसो पाठक, दर्शक र स्रोताहरु जोडिनुभएको छ । सामाजिक सञ्जाल, समाचार पढ्ने सञ्जालमात्र होइन, परिवर्तनको बल भएको सञ्जाल पनि हो । र त फेसबुकमा सबैभन्दा बढी फलोअर्स भएको आर्थिक मिडिया अर्थ सरोकार नै हो भन्दा हामीलाई हामी बलियो बन्दै गएको महसुस हुन्छ । युट्युबमा सबै भन्दा बढी सब्स्क्राईबर भएको आर्थिक मिडिया पनि अर्थ सरोकार नै हो भन्दा हामी धेरै दर्शकमाझ पुगिरहेका छौं भन्ने तथ्यले हामीलाई थप जिम्मेवार बनाईरहेको छ । अझ संचारको पछिल्लो अभ्यास टिकटकमा त हामी दर्ता भएका अनलाइनहरुमध्येकै सबैभन्दा बढी फलोअर भएको संचारमाध्यम हौँ भन्दा हामी युवाहरुमाझ पनि सार्है प्रिय बनिरहेका छौं भन्ने तथ्य बुझिरहेका छौं ।

पाचौँ बर्षमा प्रवेश गर्दै गर्दा हामीले विभिन्न खाले संचार-अभ्यास पनि गर्यौं । कतिमा सफल भयौँ, कतिमा भएनौँ होला । तर हामीले सुरु गरेको रेडियो अभियान, टेलिभिजन अभियान, सेयर बजार सचेतना अभियान र गलत गर्नेलाई ‘ठोक्ने’ अभियानमा तपाईंहरुको जति माया पाएका छौं, हामीलाई त्यसले उर्जा दिएको भने पक्कै छ । र त हामी आज पनि अविराम, अविरल, खास आर्थिक समाचारको खोजी यात्रामा छौं ।

गर्नु धेरै छ अझै पनि । र त हामी टिम विस्तार गर्दैछौँ । प्रदेशमा ब्युरो कार्यालय नै राखेर संचालन हुने हामी पहिलो आर्थिक अनलाइन संचारमाध्यम हौँ । र आजैबाट पनि हामीले हाम्रो टिमलाई थप विस्तारित बनाएका छौं । आजकै दिनबाट हामीले अर्थ सरोकारको प्रदेश नम्बर १ ब्युरो संचालनमा ल्याएका छौं । छिट्टै नै लुम्बिनी प्रदेशमा पनि हाम्रो ब्युरो कार्यालय संचालन हुँदैछ । प्रविधिको बदलिँदो स्वरूपलाई आत्मसाथ गर्दै हामीले काठमाडौँस्थित कार्यलयमा उच्च प्रविधिको स्टुडियो तयार गर्दैछौँ । रेडियो, टेलिभिजन, अनलाइन र प्रिन्ट संस्करण गरी सबै माध्यमबाट हामी बलियो आर्थिक संचारमाध्यम बन्ने निरन्तर प्रयासमा छौं ।

आजको बार्षिकोत्सव सफलताको उत्सवमात्र होइन, यो सफलता दिलाउने सबैलाई धन्यवाद दिने अवसर पनि हो । र त हामी हामीसँग जोडिनुभएका सबैलाई हामी पाको हुँदै गएको खुसी साट्न चाहान्छौं । अर्थ सरोकारको यो ५ बर्षे यात्रामा विभिन्न समय खण्डमा हाम्रा सहयात्री बन्नुभएका सबै कर्मचारी साथीहरुलाई धन्यवाद भन्न चाहन्छौं । यो अविरल यात्रामा जो-जो मिसिनुभयो, सबैले केहि न केहि दिएरै जानुभएको छ । र त आज अर्थ सरोकार आजको ‘अर्थ सरोकार’ बन्न सफल भएको छ । यो ‘जनताको घर’ मा महत्वपूर्ण इँटा थपिदिनुहुने पूर्वसहकर्मीहरुको योगदानलाई हामी सदैब उच्च सम्मान गर्दछौं ।

हामीलाई यसरी नै माया गरिरहनुहोला । अर्थ सरोकार हेर्दै, पढ्दै र सुन्दै रहनुहोला । तपाईंको विश्वास मर्न दिने छैनौँ । बस् !

सबैलाई धन्यवाद !! सबैलाई बधाई !!

सुरज प्याकुरेल
सम्पादक / सञ्चालक
अर्थ सरोकार डटकम

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: