काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले छठ पर्वका लागि वाग्मती नदीको गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिरहेको घठ घाट अर्थात् छठ पूजा स्थलदेखि म्याग्दीको डम्मरामा आफ्नो घरमा पालेको मौरीको घारबाट मह काट्दै गरेकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
काठमार्डौ महानगरपालिका वडा नं ८ स्थित वाग्मती नदीको गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण सुरु भएको घठ घाट अर्थात् छठ पूजा स्थल । कात्तिक २४ गते बुधबारको छठ पर्वका लागि यहाँ घाट निर्माण, सफाइलगायत तयारी भइरहेको छ ।
म्याग्दीको बेनी नगरपालिका ६ स्थित डम्मरामा आफ्नो घरमा पालेको मौरीको घारबाट मह काट्दै महिला ।
सांस्कृतिक भेषभूषामा सजिएका तनहुँको म्याग्दे गाउँपालिकाका युवती । तिहारका अवसरमा देउसीभैलो खेल्न उनीहरु सांस्कृतिक भेषभूषामा सजिएका हुन् ।
महाकाली राजमार्गअन्र्तगत बैतडीको खिरेगाउँमा एक अर्कालाई साइड दिँदै ट्रक र बस । साघुँरा सडकले ठूला गाडी आवागमनमा समस्या हुने गरेको छ ।
रामपुर नगरपालिका ५ स्थित बेझाड खेतमा धान स्याहार्ने काममा व्यस्त किसान । अहिले यहाँका कृषकलाई धानबाली स्याहार्न भ्याइनभ्याइ छ ।
सुनसरीको सदरमुकाम इनरुवा बजारमा बिक्री गर्न उखु लगिँदै । भक्तजनले उखु छठ पर्वमा सूर्य देवलाई चढाने गर्छन् ।
बागलुङ नगरपालिका-८, सिगानास्थित लामिचौरमा पाक्दै गरेको कोदो बाली । पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै नभई, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको छ ।
भीमदत्त नगरपालिका-५, गोबरैयामा रहेको अपाङ्ग कृषक समूहमा आबद्ध अपाङ्गता भएका व्यक्तिहरुले माछापालन व्यावसाय सञ्चालन गर्नका लागि बायोफ्लक प्रविधिमा तयार गरिएका प्लाष्टिकका पोखरी ।














