काठमाडौं । २७% लाभांश पारित गर्न एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ २१ गते हुने भएको छ । कम्पनीले सभा एसियन लाइफ भवन, मैतीदेवी काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । कम्पनीको ५१% स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरिसकेको छ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।