×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैदी गिरीको आशंका – ‘मेरो इन्काउन्टर गर्ने योजना हुँदैछ’

PRIME CA

कैदी गिरीको आशंका – ‘मेरो इन्काउन्टर गर्ने योजना हुँदैछ’

५ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । मोरङ कारागारमा जेल जीवन बिताइरहेका कैदी अभिषेक गिरीले आफुलाई ‘इन्काउन्टर’ गर्ने योजना बनाइएको भन्दै जीवन याचनाको माग गरेका छन् । कानुन अनुसार जेल सजाय पुरा गरी बाहिर निस्कन लागेको समयमा आफूलाई मार्ने योजना बनाएर भिमफेदी कारागार सरुवा गरिएको भन्दै उनी अदालत पुगेका छन् ।

गृह मन्त्रालयको ठाडो आदेश भन्दै गिरीलाई कारागार प्रशासनले सरुवा गर्ने योजना बनाएको छ । जेल सजाय भुक्तान गरेर फागुन ३ गते उनी बाहिर निस्कदै थिए । जेल सजाय पुरा हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा आफूलाई गलत नियतले सरुवा गर्न लागिएको भन्दै उनले उच्च अदालत, विराटनगरमा रिट निवेदन दायर गरेका हुन् ।

जेल सजाय पुरा गरी आफू अब सुध्रिएको भए पनि सजाय पुरा गर्ने बेलामा बदनियत पूर्ण तरिकाले सरुवा गर्न लागिएको भन्दै सरुवा रोक्ने आदेश उनले माग गरेका छन् । आफ्ना वकिलमार्फत दिएको निवेदन उच्च अदालतमा दर्ता भए पनि सुनुवाई भने भएको छैन ।

यसअघि गिरी काठमाडौंको डिल्ली बजार कारागारबाट मोरङ सारिएका थिए । विराटनगरका स्थानीय समेत रहेका गिरी कांग्रेस सरकारका पालामा गृहमन्त्री बालकृष्ण खाँडले उनको सरुवा गरेका थिए । कांग्रेस निकट मानिने गिरी गुण्डागर्दीमा सक्रिय रहेको र जेलभित्रै बाट गैरकानूनी गतिविधिहरु गरेको प्रहरीको आशंका छ ।

उनलाई मोरङ सरुवा गर्दा त्यहाँका कैदिबन्दीले विरोध समेत गरेका थिए । उनी काठमाडौंको कारागारमा ल्याउनु भन्दा पहिले पनि मोरङ कारागारमा नै रहेका थिए । त्यहाँ उनले अन्य कैदिबन्दीलाई कुटपिट गर्ने गरेकाले काठमाडौं पठाइएको थियो । तर खाँड गृहमन्त्री बनेपछि उनी पुनः २०७८ कात्तिकमा मोरङ सरुवा भएका थिए । यद्यपि अहिले भने माहोल फरक छ । मोरङका धेरै कैदीहरु गिरीलाई सरुवा गर्न हुँदैन भन्दै केहीदिन अघि धर्ना नै बसेका थिए ।

अहिले उनले पहिले गरेकै कार्य पुनः दोहो¥याएका कारण उनलाई सरुवा गर्न लागिएको कारागार व्यवस्था विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए । ‘कारागारमा अभद्र व्यवहार गरेको र त्यहाँ राख्न नसक्ने अवस्था आएपछि उनलाई सरुवा गर्न लागिएको हो,’ उनले भने । अन्य कैदिबन्दीको रक्षा गर्नका लागि पनि उनलाई सरुवा गर्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेक प्रसाद राईले भने प्रहरीले कसैलाई पनि नमार्ने बताए । केटिएम भ्वाइससँगको कुराकानीमा प्रवक्ता राइले नेपालमा मृत्युदण्डको सजाय नभएको तथा प्रहरीले सबैको संरक्षण गर्ने भएकाले इन्काउन्टर गर्ने कुरामा सत्यता नभएको दाबी गरे । ‘नेपालमा जन्म कैदसम्म गर्ने व्यवस्था रहेको छ । कुनै पनि नागरिकलाई मार्ने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो,’ डीआईजी राईले भने ।

यता गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने यो विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘यो विषय कारागार व्यवस्था विभागको हो, उतै बुझ्नु पर्छ हामीलाई जानकारी हुँदैन,’ उनले भने । कारागार प्रशासनका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय पाएका गिरीको ३ फागुनमा सजाय पुरा हुँदैछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: