काठमाडौँ । समस्याग्रस्त कम्पनी वर्ल्ड मर्चेन्ट फाइनान्सलाई करिब ६ बर्षपछि नियामक नेपाल राष्ट्र बैंकले कारोबार इजाजत दिई संचालनमा आएको समृद्धि फाइनान्स कम्पनीमा करोडौंको ऋण अपचलन भएको पाइएको छ । फाइनान्स कम्पनीभित्र धितोको अधिक मूल्यांकन गरी, सोमा कर्जा प्रवाह गरी कम्पनीलाई हानी पुग्नेगरी काम भएको पाइएको हो । देश नै ठप्प भएको लकडाउनको स्थितिमा प्रवाह भएको कर्जा गलत ठाउँमा परेपछि अहिले नियामक नेपाल राष्ट्र बैंकले सो कर्जा ‘प्रोभिजनिङ गर्न भनेको छ । तर आफुले अप्रुभ गरेको कर्जा गलत ठाउँमा परेको तथ्य बाहिरिएपछि अहिले सीइओ टिका निधि लोहनीले यो प्रकरण प्रहरीकहाँ लैजानुभन्दा कर्मचारीलाई ‘प्रेसर’ दिएर ऋण तिर्न लगाईरहेका छन् ।


४० लाखको जग्गा राखेर डेढ करोड ऋण !
कम्पनीले कोरोना कालमा एक कृषि फर्मलाई डेढ करोड रुपैयाँ ऋण स्वीकृति गर्यो भने ७५ लाख रुपैयाँ ऋण तत्काल प्रवाह पनि गर्यो । मुलुक लकडाउनमा हुँदा के-के न हतारिएको जसरी कम्पनीले तत्काल ७५ लाख रुपैयाँ फर्मलाई जग्गा किन्न दिने र बाँकी ७५ लाख रुपैयाँ पछि दिनेगरी कर्जा प्रवाह गर्यो । फर्मका संचालकले पनि तत्काल ७५ लाख रुपैयाँ ऋण लिए र पछि अर्को ७५ लाख रुपैयाँ ऋण लिए । यो बीचमा बैंकको टोली सो कृषि फर्मको अनुगमनसमेत गर्न गएको देखिन्छ । तर अनुगमन गर्न गएको टोलीले समेत ‘सबै ठिक छ, बाँकी ७५ लाख रुपैयाँ पनि दिए हुन्छ’ भन्ने रिपोर्ट दिएपछि बैंकले थप ७५ लाख रुपैयाँसमेत दिएको स्वयम् बैंकका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी स्वीकारछन् । तर ऋणीले किस्ता तिर्न रोकेपछि बल्ल थाहा भयो, डेढ करोड रुपैयाँ ऋण दिइएको धितो नै ४० लाख हाराहारीमात्र रहेछ ।

फाइनान्सकै मिलेमतोमा बदमासी !
ऋण लिने फर्मका संचालक, फाइनान्सका तत्कालीन ब्रान्च मेनेजर र ४० लाखको जग्गालाई करोडौंको भ्यालुएसन गर्ने भ्यालुएटर उही सर्कलको व्यक्ति रहेको बैंकका सीइओ लोहनी स्वीकारछन् । ‘बैंकका स्टाफकोसमेत बदमासी देखिएपछि हामीले कर्मचारीलाई नियमानुसार स्पष्टीकरण लियौँ र उनलाई कारवाही पनि गर्यौं । ती कर्मचारीले अहिले बोर्डमा सो कारवाही पुनरावलोकन गर्न निवेदन दिएका छन् र सोहि अनुसार हुँदैछ । बैंकको मोटो रकम फसेको सत्य हो । अहिले सो जग्गाको पुन: भ्यालुएसन गर्दा विभिन्न खाले रिपोर्ट आएका छन् र एउटा रिपोर्टले सो जग्गाको भ्यालुएसन ४० लाख मात्र देखाएको पनि सत्य हो ।’
सीइओका अनुसार सो कर्जा प्रवाह गरेपछि सम्बन्धित शाखाका शाखा प्रबन्धकलाई निलम्बन गरिएको छ । सो धितोको भ्यालुएसन गर्ने भ्यालुएटरलाई प्रक्रिया अनुसार कालोसूचीमा राख्ने काम अघि बढाईएको छ भने बैंकले अनुगमनमा जाने बैंकका सम्बन्धित कर्मचारीलाई सो ऋण उठाउन वा सो ऋण वापतको रकम आफैं तिर्न पत्र काटेको छ । बैंकका सीइओ लोहनी भन्छन्- ‘कर्मचारी विनियमावलीमै संस्थालाई हानी हुने काम गरेको ठहरिए, सम्बन्धित कर्मचारीबाट सो रकम असुल गर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार हामीले अनुगमनमा जाने कर्मचारीलाई रकम तिर्न पत्र काटेको सत्य हो।’

सीइओ नै ‘पोलिने’ डरले कानुनी प्रक्रियामा गएन फाइनान्स !
बैंकमा स्पष्ट बैंकिङ कसुर आकर्षित हुनेगरी बदमासी भएको छ । तर प्रचलित कानुनले यस्तो प्रकरणमा ऋण अप्रुभ गर्ने सीइओलाईसमेत तान्ने भएपछि बैंक कानुनी प्रक्रियामा जान मानिरहेको छैन । बरु कर्मचारीलाई पटक पटक ताकेता गरेर सो रकम तिर्न भनिरहेको छ । यस्तै प्रकरणमा तत्कालीन बैंक अफ काठमाण्डूका सीइओ लामो समय प्रहरी हिरासतमा बसेका थिए । यहि डरले लोहनीले यो केस भित्रभित्रै ‘सेटल’ गर्न खोजेका छन् । ‘यत्रो ठुलो काण्ड हुँदा पनि किन प्रहरीको सहयोग माग्नुभएन ? आफु पनि जाकिने डर हो ?’ हाम्रो प्रश्नमा सीइओ लोहनीले भने, ‘सकेसम्म प्रक्रिया अनुसार नै केस सेटल गरौँ भन्ने हो । त्यसैले प्रहरी नबोलाएको हो ।
उनले आफ्नो यस प्रकरणमा कुनै पनि दोष नरहेको तर्क गरे । ‘मलाई त मेरो तलका मान्छेले सब ठिक छ भनेर फाइल दिएपछि सबै सदर गरेको हुँ । अनुगमनमा गएको स्टाफले सबै ठिक छ भनेपछि हामीले थप हेर्ने कुरा पनि भएन ।’ आफ्नो बचाउ गर्दै सीइओ लोहनीले भने -‘यसमा मेरो कुनै पनि बदनियत छैन ।’
तर स्वयम् फाइनान्सका कर्मचारी भने सीइओकै बदनियतका कारण हतारहतार लकडाउनका बेलामा सो ऋण अप्रुभ भएको तर्क गर्छन् । ‘लकडाउनका बेला, त्यो पनि कृषि गर्ने कम्पनीलाई जग्गा किन्न भनेर किन ऋण दिनु ? लकडाउनका बेला मालपोत त खुल्दैन भने किन यस्तो हतार गरेको ? यसले स्पष्ट संकेत गर्छ, दालमा केहि कालो छ ।’ बैंकका एक कर्मचारी भन्छन्- ‘तर सीइओलाई प्रहरीले समात्ने डरले यो केस भित्रभित्रै सेटल गर्न खोजिएको छ । र सबै दोषी कर्मचारीलाई देखाएर सीइओ उम्किन खोजेका छन् ।’
तर कम्पनीका सीइओ भने लकडाउनका बेला आफुले कर्जा अप्रुभ गरेको र त्यस्ता फाइलहरु धेरै सदर गरेको दाबी गर्छन् । ‘मैले सो फाइलमात्र होइन, लकडाउनका बेला अन्य थुप्रै कर्जाका फाइलहरु अप्रुभ गरेको छु । त्यसैले त्यस्ता फाइलमा मेरो कुनै पनि बदनियत छैन ।’ यद्यपी उनले कानुनी रुपमा आफु पनि सजायको भागेदार हुनुपर्ने अवस्थामा हुने बताएका छन् । ‘अनुसन्धानको क्रममा ममाथि पनि कुनै कारवाही भयो भने म भोग्न तयार छु । यसै पनि कम्पनीको यति ठुलो रकम फसेको छ, यो मलाई दिईएको एक प्रकारको सजाय नै हो ।’ सीइओ लोहनीले भने ।
फाइनान्समा ऋण अपचलनको सुईको पाएपछि राष्ट्र बैंकको विशेष इन्सपेक्सन !
यसरी कम्पनीभित्र करोडौंको ऋणमा गम्भीर प्रकृतिको अपचलन भएको तथ्यबारे थाहा पाएपछि नियामक नेपाल राष्ट्र बैंकले पनि समृद्धि फाइनान्समा विशेष इन्सपेक्सन गरेको छ । राष्ट्र बैंकले पनि सो ऋणमा समस्या भएको भन्दै सो ऋण प्रोभिजनिङ गर्न निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले इन्सपेक्सनका क्रममा फाइनान्सको गम्भीर त्रुटीहरु पनि फेला पारेको छ । राष्ट्र बैंकले सोहि अनुसार आवश्यक निर्देशनसमेत दिईसकेको छ ।
राष्ट्र बैंकको इन्स्पेक्सन पछि बैंक भने सो प्रकरणमा कर्मचारीलाई नै पोल्न खोजिरहेको छ । ‘सबै मिलेर कर्जा अप्रुभ गर्ने, तर कर्मचारीलाई मात्र दोष देखाउन खोजिएको छ । यसले फाइनान्सका सीइओ आफु बच्न र कर्मचारी फसाउन लागेका छन् भन्ने तथ्य बुझ्न गाह्रो छैन ।’ फाइनान्सका एक कर्मचारीले अर्थ सरोकारसँग भने- ‘कानुनी प्रक्रियामा जाने हो भने, सबैभन्दा पहिला कम्पनीका सीइओको हातमा हतकडी लाग्छ ।’

सुरुमा सुधिर बस्नेतको लगानी रहेको कम्पनीको खराब इतिहास यस्तो !
नेपाल राष्ट्र बैंकले २०७० बैशाख १३ गते वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्त घोषणा गरेर सुधार प्रक्रिया थालेको थियो । बर्षौदेखि नियामक नेपाल राष्ट्र बैंकको निर्देशन विरुद्ध गएर फाइनान्सले एकल ग्राहक कर्जा सीमा नाघेर कर्जा प्रवाह गर्दै आएको पाइएपछि राष्ट्र बैंकले सो फाइनान्समाथि हस्तक्षेप गरेको थियो । समानुपातिक चुक्ता पूँजी कायम गर्न नसकेको र पूँजी कोष ऋणात्मक भएको भन्दै समस्याग्रस्त घोषणा गरिएको सो संस्थालाई पछि राष्ट्र बैंकले हस्तक्षेप गरी सुधार गर्यो । संस्थामा नयाँ समूह लगानीकर्ताको रुपमा आएपछि सो कम्पनीको वर्ल्ड मचेन्टको नाम परिवर्तन गरेर ‘समृद्धि फाइनान्स’ राखिएको थियो । तर पूरानै कम्पनीको झल्को दिनेगरी कम्पनीभित्र पुन: करोडौंको घोटाला देखिएको छ । पूरानै वर्ल्ड मर्चेन्टकै शैलीमा खराब धितोउपर फाइनान्सले कर्जा प्रवाह गरेको भेटिएको छ ।
स्थापनादेखि अध्यक्ष रही आएका संस्थाका अध्यक्षले अप्रत्यक्ष रुपमा संस्थाबाटै कर्जा उपयोग गरेकोसमेत भेटिएपछि अहिलेको समृद्धि फाइनान्स (साबिकको वर्ल्ड मर्चेन्ट फाइनान्स)लाई राष्ट्र बैंकले संस्था सुधारका लागि सञ्चालक समितिलाई ६ महिनाको समय दिएको थियो । यो कम्पनीमा सुधिर बस्नेतको सुरुवाती लगानी थियो । तर ६ बर्षपछि सर्तसहित कम्पनीलाई समस्याग्रस्तबाट मुक्त गर्दै सो कम्पनीको नाम समृद्धि फाइनान्स राखिएको थियो । तर अव समृद्धि फाइनान्सको पनि यस्तो हालत देखिएपछि कम्पनी पूरानै वर्ल्ड मर्चेन्टकै हविगतमा जाने हो कि भन्ने आशंका देखिएको छ ।
(समृद्धि फाइनान्सको घोटाला प्रकरण : कम्पनी सुधारिएको कि सिंगारिएको, विशेष भाग लिएर हामी आगामी अंकमा प्रस्तुत हुनेछौं । जसमा हामीले यो प्रकरणमा सीइओले कहाँ कहाँ गल्ती गरे, कम्पनीका कर्मचारीको बदमासी कहाँ-कहाँ रह्यो र कहाँ कहाँ मिलेमतो भयो भन्ने विशेष तथ्यसहितको रिपोर्ट प्रस्तुत गर्नेछौँ ।)