×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आपराधिक विश्वासघात’को अभियोगमा पक्राउ परेका कलाकार अनमोल केसीको लफडा के हो ? अव के हुन्छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार

PRIME CA

‘आपराधिक विश्वासघात’को अभियोगमा पक्राउ परेका कलाकार अनमोल केसीको लफडा के हो ? अव के हुन्छ ?

काठमाडौँ । कलाकार अनमोल केसी । नेपालमा मै हुँ भन्ने राजनीतिक दलका कार्यकर्ता भन्दा उनका युवा फ्यान बढी छन् । अझ उनका फ्यान युवतीहरुको संख्या र क्रेजको त झनै कुरै नगरौँ, अनमोललाई एक पटक हेर्न मात्र पाए पनि, आफ्नो जीवन सार्थक भएको अनुभव गर्ने किशोरी र महिलाहरुको संख्या उत्तिकै छ । क्युट अनुहार, स्वीट स्माइल र मिठो अभिनयका कारण उनी दर्शकको मनमा बसेका छन् । दर्शकको यहि मायाका कारण उनको डिमाण्ड हाईहुने नै भयो । डिमाण्ड हाई भएपछि उनको रेट बढ्ने नै भयो । यतिसम्मकि एउटा फिल्म खेलेको नै ५० लाख रुपैयाँ अनमोललाई छुट्याउनुपर्छ । तर छड्के २ नामक चलचित्रले उनको करियरमा नै छड्के हानिदिएपछि, फिल्मले उही रजतपट अङ्कलको भाषामा भन्दा पानी पनि भन्न नपाएपछि अनमोल तनावमा थिए । अनमोल हुँदैमा फिल्म चल्ने होइन रहेछ भन्ने भाष्य बन्ने डरले, र आफुले लाखौँ लिएको फिल्मको लगानी खोलैमा बगेपछि उनी चिन्तित हुनु स्वाभाविक हो । र त केहि समय अगाडी सामाजिक संजालमार्फत उनले स्क्रिप्ट सार्है चित्त नबुझी फिल्म नखेल्ने आशय प्रकट गरेका थिए ।
जव अनमोलविरुद्ध जाहेरी लिएर फिल्म निर्माता प्रहरीकहाँ पुगे…
तर, छड्के २ फ्लप भएपछि रन्थनिएका अनमोलले फिल्म साइन गर्न भने छोडेका थिएनन् ।  जेरी अन टप, फर्की फर्की रावायण लगायतका फिल्म खेल्न उनले सम्झौता पत्रमा सहि मात्र गरेनन्, एडभान्सस्वरुप लाखौँ रुपैयाँ पनि लिए । उनले रकम त लिए, तर फिल्म रामायण खेल्न तत्काल तयार भएनन् । उता जेरी अन टपको बैसाखबाट नै सुरु हुनुपर्ने सुटिङ्ग सुरु हुन सकेन । अनमोल फिल्म खेल्ने, नखेल्ने दोधारमा बसिरहे, फिल्म निर्माता अनमोलको पर्खाईमा बसिरहे । यसो त अनमोललाई फिल्म खेलाउन कन्भिन्स गर्न नै पनि गाह्रो, त्यसमाथि उनको शुल्क पनि सार्है चर्को । यतिसम्म सहिसहेका निर्माताले उनी फिल्म खेल्नै नआएपछि, आफ्नो करोडौं रकमको लगानी खोलामा बग्ने देखेपछि उनलाई तारान्तर फलोअप गरिरहे । तर निकै फलोअप गर्दा पनि अनमोल शुटीङ्गका लागि फिल्डमा आउन तयार भएनन् । बरु जे सक्नुहुन्छ, गर्नू भनेको निर्माताहरुको दाबी छ । फिल्म बन्नै बाँकी छ, पैसा गईसक्यो, अनमोलकै कारण ५ दर्जन बढी प्राविधिक होल्ड भएका छन्, अरु घाटा त के के हो के के । त्यसपछि फिल्म निर्माण युनिट सहयोगका लागि प्रहरीकहाँ गयो । प्रहरीले अनमोललाई फोन गरेर वार्ताका लागि बोलायो, तर अनमोल प्रहरीकहाँ पनि आउन मानेनन् । त्यसपछि प्रहरीले पक्राउ पूर्जी जारी हुने जानकारी दियो । र पनि वार्तामा आउन छोडेर अनमोल बरु यो लेनदेनको मुद्धा फौजदारी हुन सक्दैन भनेर उच्च अदालत गए । असोज १० गते नै उनले उच्च अदालत पाटनबाट निषेधाज्ञाको आदेश समेत लिए । देवानी लेनदेन वा देवानी दायित्वका बिषयमा प्रहरीको क्षेत्राधिकार नहुने भन्दै कायम मुकायम मुख्य न्यायधीश महेश शर्मा पौडेलको इजलासले उनलाई पक्राउ नगर्न आदेश दिएको थियो । तर प्रहरीलाई टेर्दै नटेरेपछि प्रहरीले लेनदेन नभई अपराधिक विश्वासघातको अभियोगमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी अनुमति लियो र पक्राउ गर्यो ।
अनमोलले एक महिना अगाडि १० लाख रुपैयाँको चेक लिएर निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’मा काम गर्न दिएको बचन नमानेर घात गरेको भन्दै सुदर्शन फिल्मस्की प्रमुख सुप्रिया कटुवालले प्रहरीमा जाहेरी दिइन् । प्रहरीमा सुप्रियाले दिएको उजुरीको आधारमा अनमोल शुक्रबार पक्राउ परे। उनलाई छुताउन १० जनाको वकिलको टिम प्रहरीकहाँ पुग्यो तर उनीहरुको प्रयास सफल हुन सकेन । अनमोललाई कसैगरी पनि निकाल्न नसकेपछि अनमोल बिरामी भएको बाहाना पारेर उनलाई चिरायु अस्पतालमा लगियो । पैसा हुनेहरुले हिरासतमा म बिरामी भएँ, हिरासतमा बस्दिन, अस्पताल जान्छु भन्न पाउँछ । यहि कानुनलाई टेकेर अनमोल अस्पताल लगिए । जिल्ला अदालत काठमाडौँमा उनलाई हतकडी लगाएर पुर्याइएको छ । दुवै पक्षका वकिलहरुले बहस गरेका छन् । जाहेरीकर्ताले अनमोलकै कारण आफ्नो करोडौं रुपैयाँ डुब्ने देखिएको दाबी गरेका छन् ।
अचम्मको कुरा त के छ भने जुन फिल्मको लफडामा परेर उनी प्रहरी हिरासतसम्म पुगे, सो फिल्म असोजमा खेल्न उनी तयार भएका थिए । तर यस अघि नै उनले साइन गरेर जेरी अन टप र फर्की फर्कीका निर्माताले उनलाई झन्डै १ बर्षदेखि कुरिरहेका थिए । बर्षदिनसम्म दुई फिल्मका निर्मातालाई कुराएर तेश्रो चलचित्र खेल्छु भनेर बाचा दिएका अनमोललाई यहि बाचा भारी परेको छ। फिल्म क्षेत्रका जानाकरहरुका अनुसार जेरी अन टप अहिलेसम्म बनिसक्नुपर्ने फिल्म हो । फर्कीफर्कीको निर्माण टोली पनि अनमोललाई कुरिरहेको छ । तर अनमोल मेरो तयारी पुगेको छैन भन्दै फिल्मबाट तर्किरहे, निर्माताले फोन गर्दा ‘आई एम नट रेडी’ भन्दै झर्की रहे । परिणाम उनको हातमा हतकडी लाग्यो । बिगतका दुई फिल्ममा पनि एउटामा १० लाख र एउटामा २२ लाख बुझिसकेका अनमोलले अझै तयारी गर्छु, जुन पाए त्यहि फिल्म खेल्दिन भन्दा सम्झौता गरिसकेका र पैसा बुझाईसकेका निर्माता प्रहरीकहाँ पुगेका हुन् ।
सोच्दै नसोचेको दुर्घटना परेपछि जो कोहि पनि आत्तिन्छ । रीलमा अनेक भूमिकामा रहने अनमोल रियल लाइफमै आफ्नो हातमा हतकडी लागेपछि आत्तिएका छन् । फिल्म क्षेत्रका दिग्गजहरुले उनलाई अस्पतालमै भेटेर नआत्तिन आग्रह गरेपछि उनी केहि शान्त भएका छन् ।
के हो रावायण फिल्म र अनमोलको लफडाको अन्तर्य ?
अव अनमोल र फिल्म रावायणको लफडा कसरी सुरु भयो भन्ने तथ्य बुझौँ । गत भदौ ३१ गते निर्देशक सुर्दशन थापाले सामाजिक सञ्जाल फेसबुकमा भुवन केसी, केसीकी गर्लफ्रेन्डको रुपमा चर्चा कमाएकी जिया केसी, अनमोल केसीसहितको एउटा फोटो पोष्ट गर्दै लेखे- ‘नयाँ क्षितिज, नयाँ आशा– छिट्टै आउँदैछ रावायण’। तर त्यसको ठिक भोलिपल्ट अर्थात असोज १ गते, अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै  अघिल्लो फिल्ममा दर्शकलाई बिश्वासघात भएकाले अब आर्थिक अंकगणित मात्रै नहेर्ने , आफु कुनै पनि प्रोजेक्टमा आवद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भिर रहेको र जबसम्म स्क्रिप्टमा पूर्ण चित्त बुझ्दैन, तब सम्म फिल्म गर्न हतार नगर्ने बताए । साथै आउने प्रोजेक्टहरु जबसम्म आधिकारिक पेजबाट घोषणा हुँदैन तबसम्म अनाधिकारिक रुपमा सम्प्रेषण नगरिदिनुहुन पनि उनको अनुरोध थियो । यसको अर्थ उनले रावायण फिल्ममा हस्ताक्षर गरेपछि उनलाई धेरैले फिल्मबारे आफ्नै तर्क लादेर प्रभावमा पार्न खोजेकोसमेत शंका गर्ने ठाउँ छ । फिल्म सहि गरेको फोटो पोष्ट बाहिर आएको भोलिपल्ट आएको अनमोलको स्टाटसले फिल्ममा अनुबन्धित हुनुमा उनको खास सहमति थिएन कि भन्ने ठाउँ पनि दिएको छ । र त्यहि फिल्मका कारण अनमोलको हातमा हतकडी लाग्यो ।
अव बुझौँ कानुनमा के छ भन्ने तथ्य । अनमोललाई अपराधिक विश्वासघातको अभियोग छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ मा उल्लेख भए अनुसार ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर शिर्षकमा दफा २५२ को ९– ख अनुसार ‘अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको ब्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफु वा अरु कसैलाई फाइदा पुर्याउनका लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा त्यसलाई आपराधिक विश्वासघात गरिएको ठहरिनेछ।’ सो कसुर गरेको ठहरिएमा अनमोलले तीन बर्षसम्म कैद वा तिस हजारसम्मको जरिवाना वा दुबै सजाय भोग्नुपर्ने हुन्छ । तर यो प्रकरणमा अनमोल विरुद्ध अभियोग लगाउनेका कुरा पनि पत्याईहाल्ने ठाउँमा केहि खोट छ । फिल्म घोषणा भएकै २ हप्ताको बीचमा १ करोड ५ लाख रुपैयाँ अनमोलका कारण डुब्न खोजेको आरोप सहजै पुष्टी हुने देखिंदैन । अव के हुन्छ, त्यो अदालतले नै फैसला गर्नेछ ।
अव के हुन्छ त ?
प्रहरीले म्याद थप गरी थप अनुसन्धान गर्छ वा अनुसन्धान सकिएको भए अदालतमा बुझाउँछ । अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएपछि अदालतमा थुनछेक बहस हुन्छ । सो बहस भनेको अनमोललाई रिहा गरेर बाँकी मुद्धा अगाडी बढाउने वा उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने आदेशका लागि हुन्छ । थुनछेक बहसपछि अदालतले अनमोललाई साधारण तारेख वा धरौटीमा रिहा गर्न सक्छ । यसो भए मुद्धा नसकुन्जेल अनमोल बाहिर नै बस्न पाउँछन् । तर अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिए अनमोल पुर्पक्षका लागि जेल चलान हुन्छन् र मुद्धा अघि बढ्छ । मुद्धामा तारेख र पेशी तोक्ने काम हुन्छ । त्यसपछि पेशी तोकिएको दिन दुवै पक्षका वकिलबाट बहस हुन्छ । अदालतले अनमोलका पक्षमा फैसला सुनायो भने मुद्धा सकिन्छ । तर जिल्ला अदालतको फैसला चित्त नबुझे सुदर्शन थापाको टोली उच्च अदालतसमेत जान सक्छ । छोटोमा भन्दा उनीहरुबीच विवाद रहिरहे, अदालती कारवाही अघि बढीरहे यो केस लम्बिन्छ । यता अनमोलको विपक्षमा फैसला भयो भने पनि दुई कुरा हुन्छ । अनमोललाई आर्थिक जरिवाना गराउने मात्र फैसला भयो भने अनमोलसँग कि जरिवाना तिरेर मुद्धा टुङ्ग्याउने कि सो जरिवानाको फैसला चित्त नबुझे उच्च अदालत जाने बाटो रहन्छ । जरिवाना तिरे मुद्धा नै सकीईहाल्यो, उच्च अदालत गए, मुद्धा लम्बिन्छ । उच्चले जिल्लाको फैसला सदर गरिदिए, फेरी अनमोलसँग दुई विकल्प हुन्छ, कि जरिवाना तिर्ने कि सर्वोच्च जाने । सर्वोच्च गएको खण्डमा अनमोलले मुद्धा जिते, जितिहाले, हारे जिल्लाको फैसलाको जरिवानाको डबल तिर्नुपर्छ । अनमोललाई जिल्लाबाट जेल सजाय नै हुने सम्भावना कम छ । केहिगरी सो सजाय भएमा उनले कानुनअनुसार पुनरावेदन गर्न पाउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: