×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सके पक्राउ गरे हुन्छ, अहिलेका नेताका काल नै म हुँ’: दुर्गा प्रसाईं (अन्तरवार्ता)

PRIME CA

‘सके पक्राउ गरे हुन्छ, अहिलेका नेताका काल नै म हुँ’: दुर्गा प्रसाईं (अन्तरवार्ता)

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । नेकपा एमाले र तिनका नेताविरुद्ध चर्को अभिव्यक्ति दिईरहने व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेले दबाब दिएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई पक्राउ गर्न प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए । प्रसाईंले गणतन्त्रलाई नै चुनौती दिएको भन्दै सरकार चुप लागेर बस्न नहुने र यसमा ध्यान दिन ओलीले प्रचण्डलाई ध्यानाकर्षण गराएका हुन् । प्रचण्डले पनि ओलीका कुरा सुनेपछि यस विषयमा आफ्ना नेताहरुलाई यस विषयमा ब्रिफिंग गराएका छन् ।

एमाले छाडेर राजतन्त्र पुनःस्थापना गर्ने अभियानमा लागेका प्रसाईं र एमाले अध्यक्ष ओलीको सम्बन्धमा ठुलो तिक्तता देखिएका बेला ओलीको यस्तो आग्रहलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको आग्रहबारे प्रचण्डले आइतबार बालुवाटार पुगेका आफ्ना पार्टीका नेताहरुलाई जानकारी गराएका छन्। प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ओलीको आग्रहका बारे जानकारी दिईसकेका छन् ।

यता देशमा २० लाखसम्मको सहकारी तथा लघुवित्तको ऋण नतिर्ने अभियान चलाएका प्रसाईंलाई पक्राउ गर्ने तयारी भइरहँदा उनी भने भारतमा छन् । खासमा प्रसाईंलाई पक्राउ गर्ने कुरा के हो ? यस विषयमा हामीले व्यवसायी प्रसाईंसँग संक्षिप्त कुराकानी गरेका छौँ । प्रस्तुत अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईलाई त पक्राउ गर्ने कुरा छ नि ! खासमा कुरा के हो ?
मैले पनि समाचार पढेरै थाहा पाएको हुँ । गणतन्त्रमा बोल्न पाइन्छ, सत्य कुरा बोल्दा पक्राउ गर्छन् भने गरुन् । न मैले २०२८ सालमा विष्णुप्रसाद बिमलीलाई मारेको हो न मैले धर्मप्रसाद ढकाललाई मारेको हो । मैले कसैको बलात्कार गरेको पनि छैन अनि मैले देशको ढुकुटी रित्याएको पनि छैन । अहिले हजारौँ युवाहरु देश छोडिरहेका छन् । यही कुरा बाहिर ल्याउँदा, नीतिगत भ्रष्टाचारका कुरा बाहिर ल्याउँदा मलाई पक्राउ गर्छन् भने गरुन् । अहिले अधिकांश लघुवित्त, सहकारी, बैंक, एनजिओ र आईएनजिओ एमालेले चलाएको छ । केपी ओलीको झोलेहरुले ओलीको जयजयकार गर्लान् तर ओलीले देशमा नीतिगत भ्रष्टाचार धेरै गरेका छन् । म राज्यलाई च्यालेन्ज गर्छु, राज्य लुट्नेलाई पक्राउ नगर्ने अनि मलाई चाहिँ किन पक्राउ गर्ने ?

ओली र महेश बस्नेतमाथि तपाईले बोलेका अराजक अभिव्यक्तिबाट एमाले रुष्ठ छ नि ! त्यसैले तपाईमाथि खनिएको हो ?
होइन, म देखि एमाले त्यसरी रुष्ठ हुनै पर्दैन । एमालेका महेश बस्नेतले जति नै ठूला कुरा गरे पनि कुरा छर्लगं छ, महेश बस्नेतकै आडमा सयौँ ऐलानी गज्जा निजिकरण भएका छन् । नेता आफूले गर्ने होइन, गराउने हो । युवासंघका केटाहरुले कसरी त्यत्रोत्यत्रो करोड–करोडको गाडी चढेका छन् ?

झन् केपी ओली त मिसन ८४ भन्दै हिँडेका छन् । तर, २०८४ मा देशमा ५० लाख जनसंख्या पनि हुँदैन भनेर ओलीले बुझेका छैनन् । मान्छे नै नभएको देशमा केपी ओलीले के को राजनिति गर्छन् ? पढ्न गएका ५० लाख नेपाली फर्किन्छन् भन्ने लागेको होला तर ती नेपालीहरु फर्किदैनन् । तर, खाडी गएका ५० लाख नेपाली फर्किन्छन् कि भन्ने आश हो । मलाई पक्राउ गरे पनि गर्लान् तर यो मुलुकको व्यवस्था म परिवर्तन गरेरै छोड्छु । खाडी गएका ५० लाख नेपालीलाई कुनै पनि हालतमा स्वदेश फर्किने वातावरण बनाउँछु ।

देशमा तपाइलाई पक्राउ गर्ने कुरा छ तर तपाई देश बाहिर हुनुहुन्छ, पक्राउ पर्ने डरले भाग्नु भएको हो ?
दुर्गा माताको कसम, म भागेको होइन । म होटलको मार्बल छान्नुपर्ने भएकोले म केही दिनका लागि किसनगढ आएको छु, भोलि नै नेपाल फर्किन्छु । अनि पुलिस पठाइदिउन् न, म पक्रिएर जान तयार छु । म केपी ओलीको डरले भाग्छु ? यी राजनीतिक दलको काल भनेको दुर्गा प्रसाईं हो । म भागेको छैन, म डराउँदिन पनि ।

यदि तपाई पक्राउ परिहाल्नु भयो भने तयारी के छ ?
होइन, मलाई पक्राउ गर्दा देश छोडेर गएका नेपालीहरु फर्किन्छन् ? बन्द भएका काठमाडौँमा सटर खुल्छन् भने पक्राउ गर्दा भयो । म दुर्गा माताको भक्त हुँ, पाथिभारा देवी माताको कसम खाएर कफन बाँधेर हिँडेको मान्छे हुँ, मलाई डर छैन । मलाई कतिबेला प्रहरीले बोलाउँछ म आउन तयार छु । कुन ठाउँमा आउनुपर्यो ? टुँडीखेलमा आउनु पर्यो कि ? नक्साल हेडक्वाटरमा आउनुपर्यो ? म मर्न पनि तयार छु । क्यान्सर सर्भाइभल हुँ, बाँच्न त कति नै बाँच्छु र ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: