×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगममा ‘इन्साइडर ट्रेडिङ’: भाउ बढ्ने सूचना चुहिँदा व्यापारी मालामाल, निगमका कर्मचारी असुलीमा !

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार

PRIME CA

आयल निगममा ‘इन्साइडर ट्रेडिङ’: भाउ बढ्ने सूचना चुहिँदा व्यापारी मालामाल, निगमका कर्मचारी असुलीमा !

काठमाडौँ । सेयर बजारमा कम्पनीको भित्री सूचना चुहाएर त्यहाँको व्यवस्थापन र सञ्चालक समितिले भित्री कारोबार गरेको त हामीले पक्कै सुनेको छौँ । कम्पनी भित्रको सूचना पहिला नै पाएर आफूले कारोबार गर्ने भित्री कारोबार भनिन्छ । नेपालका अधिकांश कम्पनीमा कानुनले ‘अवैध’ भनेको यस्तो धन्दा चल्ने गरेको छ । सेयर बजारमा जस्तै नेपालमा पेट्रोलको मूल्यमा पनि इन्साइडर ट्रेडिङ अर्थात भित्री कारोबार हुने गरेको रहस्य बाहिरिएको छ । तेलको मूल्य बढ्ने सूचना पाएर, सुरुमै पम्पभर तेल भर्ने, र सकेसम्म सो दिन अलि छिट्टै पम्प बन्द गर्ने प्रचलन फस्टाएसँगै निगमभित्रको यस्तो धन्दा बाहिरिएको हो ।

५ बजे पछि अधिकांश निजी पेट्रोल पम्प बन्द !
यसो त आयल निगमले आइतबारदेखि लागू हुनेगरि पेट्रोल र डिजेलको भाउ बढायो । तर, यो सूचना पाइसकेका पम्पहरूले शनिबार दिउँसो र कतिपयले शुक्रबार नै आफ्नो पम्पभर तेल भरिसकेका थिए । र शनिबार अपराह्नपछि अधिकांश निजी पेट्रोल पम्प बन्द भए । शनिबार बेचिने पेट्रोल र आइतबार बिहान बेचिने पेट्रोलमा फरक हुने र आफ्नो लागत मूल्य भने उही हुने हुनाले पम्पहरुले यहीबीचको चलखेलमै मोटो रकम कमाएका छन् ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको छ । अव एक लिटर पेट्रोलको मूल्य १८५ रुपैयाँ पर्नेछ भने डिजल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँले बढेर प्रतिलिटर १७९ रुपैयाँ कायम भएको छ । अर्थात शनिबार साँझ नै पेट्रोल पम्प बन्द गरेका पम्प साहुजीहरुले एक लिटर पेट्रोल बेच्दा २ रुपैयाँ बढी नाफा कमाएका छन् भने एक लिटर डिजेल बेच्दा ६ रुपैयाँ बढी नाफा कमाएका छन् । 

निगमले नै दिन्छ पूर्वसूचना, सूचना दिएबापत पटकैपिच्छे असुली !
यसो त निगमले मूल्यवृद्धि भएको सबैलाई जानकारी गराउँछ । यो काम यस्तो चलखेल गर्नेहरूका लागि झन् बरदान नै साबित भएको छ । ‘कहाँ मैले सूचना दिनु, पहिला नै विज्ञप्ति आएकाले पम्पवालाहरु बाठो भएर पम्प भरे, वा पम्प रित्याए’ भन्न पाइने हुनाले यो काम यस्तो चलखेल गरेर करोडौं रुपैयाँ कमाउन पल्केका पम्प र सूचना दिनेहरुका लागि गरी खाने बाटो भएको छ । यसरी सूचना दिएबापत निगमका कर्मचारीहरूले असुलीसमेत गर्ने गरेका छन् । यसरी असुल गरिएको रकम आफ्नो नाममा नभई नजिकको विश्वास पात्र र त्यसमा पनि नाता नपर्ने प्रयोग गरेर उठाउने गरिएको भनाई पेट्रोल पम्प संचालकहरुकै छ ।

यसरी मूल्यवृद्धिको सूचना चुहिँदा पम्पवालाहरुले एकै रातमा लाखौँ रुपैयाँ नाफा कमाएका छन् । अझ भारि मूल्यले भाउ बढेका बेला त निगमको फाइदा झन् बढी हुन्छ । यसरी देशभर रहेका झन्डै १४ सय पम्पहरूलाई पेट्रोल र डिजेल बेच्दा नै करोडौं नाफा एक रातमै हुन्छ । र यस्तो काम गर्न पल्किएकाहरुले पेट्रोलको मूल्य बढ्ने समय दशैंझैं मनाउने गरेको पम्पका कर्मचारीहरुको दाबी छ ।

‘आयल निगमबाट भाउ बढ्दैछ, तेल कम बेच्नु भनेर जानकारी जान्छ ।’ निगमका एक अधिकारी भन्छन्, ‘यस्तो काममा हामीभन्दा पनि हाकिमहरुको चलखेल बढी हुन्छ । यति मात्र होइन निगमका कर्मचारीहरुले हाकाहाकी यहीँबाट फोन गरेर नै पम्पवालाहरुलाई मूल्यवृद्धिको जानकारीसमेत दिन्छन् । तेलको भाउ बढ्दा देशभरका पम्पहरुको हिसाब गर्ने हो भने एक रातमै २० करोड ९१ लाख रुपैयाँ पम्पहरुलाई फाइदा भएको छ । अव २० करोड फाइदा गर्नेहरुले सूचनाका लागि २०–२५ लाख खर्च गर्नु वा ५०–६० लाख नै परिआए पनि खर्च गर्नु कुन ठुलो कुरा भो र ?’

ओपन सेक्रेटजस्तै भएको यो विषयमा आयल निगम भने झारा टार्ने खालको मात्र जवाफ दिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: