×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तको आन्दोलनमा ‘अचम्म’ !, एउटा पत्रमा ‘काम नियमित गर्न’ आह्वान, फोन र अर्को पत्रमा ‘धम्कीपूर्ण भाषा’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आशा लघुवित्तको आन्दोलनमा ‘अचम्म’ !, एउटा पत्रमा ‘काम नियमित गर्न’ आह्वान, फोन र अर्को पत्रमा ‘धम्कीपूर्ण भाषा’

६ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । आशा लघुवित्तमा यतिबेला २०० हाराहारी कर्मचारी आन्दोलनमा छन् । हाकिमहरुले भेदभाव गरेको, दुर्व्यवहार गरेको, काम गर्ने वातावरण बिगारेको, अनावश्यक दबाब दिएको र साबिकको राष्ट्र उत्थान लघुवित्तबाट मर्जरपछि आएका कर्मचारीहरुलाई अनुचित व्यवहार गरेको आरोप लगाउँदै विभिन्न ११ बुँदे माग राखेर सामुहिक राजिनामा दिई कर्मचारी आन्दोलनमा होमिएपछि अहिले आशा लघुवित्तको कामसमेत प्रभावित भएको छ ।

तर, लघुवित्तमा यति ठुलो ‘विद्रोह’ हुँदा पनि कम्पनीका हाकिमहरु भने कर्मचारीसँग वार्ता गर्न तयार देखिएका छैनन् । बरु एक एकगरी फोन गरेर, ‘राजिनामा स्वीकृत गरिदिने’ धम्कीपूर्ण भाषा प्रयोग गरिरहेका छन् आशा लघुवित्तका हाकिमहरु । कर्मचारीले विद्रोह गरेपछि हाकिमकै सल्लाहमा सिनियर कर्मचारीहरुले राजिनामा दिएका १९७ कर्मचारीहरुलाई एक एक गरी फोन गरी राजिनामा स्वीकृत हुन लागेको धम्कीपूर्ण आशय प्रस्तुत गरेका छन् । अर्थ सरोकारलाई प्राप्त भएको कम्पनीका उच्च तहका कर्मचारी र राजिनामा दिएका कर्मचारी बीचको फोन सम्बादको अडियो रेकर्डमा लघुवित्तका सिनियर कर्मचारीले फोन गरेर, ‘सामुहिक राजिनामा स्वीकृत गरिदिने कुरा छ, तपाईंको के हो कुरा ?’ भनेर धम्कीपूर्ण आशयसहितको प्रश्न सोधिएको छ । कम्पनीका सिनियर कर्मचारीले सो अडियोमा, ‘तपाईंको हस्ताक्षर होइन भने सोचेर भन्नुहोस् है’ समेत भनेका छन् । कर्मचारीले पनि ‘हामीले सल्लाहमै गरेका हौँ, स्वीकृत गरिदिनुभए हुन्छ’ भनेका छन् ।

(नोट : कर्मचारीको गोपनियतालाई ख्याल गर्दै हामीले सो अडियो प्रशारण गरेका छैनौँ । अडियो रेकर्ड अर्थ सरोकारसँग सुरक्षित छ। )

यसरी एक एक कर्मचारीलाई फोन गरेर धेरैले राजिनामा फिर्ता लिने भईसके, तपाईंको कुरा के हो भनेर हाकिमले भनेपछि केहि कर्मचारीहरु राजिनामा फिर्ता लिनसमेत तयार भएका छन् । केहि कर्मचारीहरु हाकिमको धम्कीपूर्ण भाषाबाट डराएर, ‘मचाहिं काम गर्छु’ भन्नसमेत थालेका छन् । तर आशा लघुवित्तबाट सामुहिक राजिनामा बुझाएका अधिकांश कर्मचारी भने आफ्नो अडानमा कायम रहेको पाइएको छ ।

फोन गर्दा नटेरेपछि पत्र
यसो त आशा लघुवित्तका सिनियर कर्मचारीहरुले एक एक गरी फोन गर्दा पनि कर्मचारीहरु नगलेपछि उनीहरुलाई पत्र नै लेखेर सामुहिक राजिनामा स्वीकृत गरिदिने आशय प्रकट गर्न तल्लीन देखिए । अर्थ सरोकारलाई प्राप्त पत्रमा राजिनामा गरेको हो वा होइन भन्ने विषयमा लिखित रुपमा जानकारी दिनू भनिएको छ । जवकि सामुहिक रुपमा राजिनामा दिएका कर्मचारीहरुले लिखित रुपमै यसअघि नै आफ्नो हस्ताक्षरसमेत राखेर लिखित राजिनामा नै बुझाएका थिए । तर ‘कर्मचारीहरु न फर्कीहाल्छन् कि’ भन्ने शैलीमा लघुवित्तका सीइओले कतिपय कर्मचारीहरुले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भनी कुरा आएकोले तपाईंको विषयमा कुरा के हो भनी पत्र लेखेका छन् ।

(हेर्नुहोस् कम्पनीका कामु सीइओ बद्री प्रसाद दुलालले लेखेको पत्र)

पत्र लेख्दा पनि नटेरेपछि अलि नरम आह्वान !
यसरी एक एक गरी पत्र लेखेर कर्मचारीहरुलाई ‘थर्काउन’ खोज्दा पनि केहि नलागेपछि बैंकका कामु सीइओ बद्री प्रसाद दुलालले जानकारी सम्बन्धमा भन्दै अर्को पत्र लेखेर आफुहरुमाथि लागेको आरोपप्रति खेद प्रकट गरेका छन् । प्रेस विज्ञप्ति शैलीमा पठाइएको सो पत्रमा दुलालले अफिस समयभन्दा पछि अनुगमनमा गएको स्वीकारे पनि उनीमाथि लागेको ‘रक्सी खाएर कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप’को भने खण्डन गरेका छन् । सबै शाखाहरु निरीक्षण गर्ने उद्देश्य राख्दा बढी समयसम्म निरीक्षणको कम भएको दुलालको दाबी छ ।

कर्मचारीले उठाएको तलवभत्ता समायोजनको विषयलाई भने सो पत्रले सम्बोधनको प्रयास गरेको छ । सो पत्रमा कम्पनीको निर्णयअनुसार नै १ बर्षभित्र कर्मचारीको तलव समायोजन गर्ने विषयमा कम्पनी प्रतिबद्ध रहेको दाबी गरिएको छ । पत्रमा कर्मचारीहरुले ऋण असुलीलाई ठप्प पारिएको प्रति ध्यानाकर्षण भएकोसमेत जनाइएको छ ।

पत्रको अन्त्यमा भने लघुवित्तमा आफ्नो भविष्य खोजिरहेकाहरुलाई काममा फर्कनु भन्ने आशय राखेर नरम भाषा प्रयोग गरिएको छ ।

(हेर्नुहोस् पत्र)

बोल्नै मान्दैनन् सीइओ दुलाल !
यस विषयमा सीइओ दुलाल प्रतिक्रिया दिन नै मानिरहेका छैनन् । संस्थामा चलिरहेको आन्दोलनको विषयमा उनको धारणा बुझ्न अर्थ सरोकारले दुई दिन अघि सम्पर्क गर्दासमेत उनले फोन उठाएनन् । ‘व्यस्त हुन सक्लान्’ भनेर हामीले त्यसपछि केहि समय ‘ग्याप’राखेर उनलाई फलोअप गर्दासमेत उनले फोन उठाएनन् । त्यसपछि हामीले एसएमएसमार्फत उनलाई सम्पर्क गर्न खोज्यौँ । तर, यति हुँदा पनि उनले अर्थ सरोकारलाई कुनै प्रतिक्रिया दिन चाहेनन् । यो समाचार तयार गर्दा पनि हामीले उनलाई ३ पटक फोन गर्यौँ । तर उनले फोन उठाएनन् । उनले फोन नउठाएपछि हामीले कम्पनीमा उनीभन्दा तलका तर सिनियर मानिएका एक कर्मचारीलाई फोन गर्यौँ । उनले आफ्नो नाम उल्लेख गर्दा अफ्ट्यारो पर्ने भन्दै, ‘कामु सीइओसँग यस प्रकरणमा पत्रकारले सोध्ने सटिक प्रश्नको जवाफ नै नभएकोले उहाँले फोन उठाउन अफ्ट्यारो मान्नुभएको होला’ भन्ने प्रतिक्रिया दिए । ती कर्मचारीका अनुसार लघुवित्त सकेसम्म सबैलाई पेलेरै तह लगाउने भन्ने लाइनमा देखिएको थियो । कर्मचारीले अटेर गरेपछि अलि नरम हुँदा पो कुरा मिल्छ कि भनेर दोश्रो पत्र पठाइएको हो ।

यता सञ्चालक समितिका केहि संचालकहरुले भने यो केस समाधान नभए कामु सीइओलाई राजिनामा गराउने विषयमा आन्तरिक छलफल गरेका छन् । कम्पनीका एक सञ्चालकले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार अध्यक्ष कामु सीइओकै पक्षमा रहे पनि केहि संचालकहरुले भने कम्पनीभित्रको आन्तरिक समस्या समाधान गर्न नसक्ने व्यक्ति कामु सीइओमा राख्न नहुने तर्क गरेका छन् । कम्पनीको आन्तरिक विवाद मिलाउन संचालक समितिको दबाब आएपछि केहि समयअघि मात्र कम्पनीकि तत्कालीन प्रमुख कार्यकारी अधिकृत जया लोहनीले लघुवित्तबाट राजिनामा दिएकी थिइन् ।

कम्पनीको व्यवस्थापन कतिसम्म झुर छ भन्ने प्रमाण कम्पनीले वेव साइटमा राखेको विवरण पनि हो । आन्तरिक पत्रमा दुलालले आफुलाई कामु सीइओ भनेका छन् । तर, कम्पनीको वेवसाइटमा भने लोहनीलाई नै सीइओको रुपमा रकहिएको छ भने दुलाललाई सिनियर डेपुटी सीइओ भनिएको छ ।

(हेर्नुहोस् स्क्रिनशट)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: