×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पैसा खर्च गरेर’ बीमा अवार्ड लिएकाहरु नै भन्छन्- ‘हामीलाई झुक्याईयो’, पाउनेलाई भन्दा सुन्नेलाई लाज भएको दाबी !

अर्थ सरोकार

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार

PRIME CA

‘पैसा खर्च गरेर’ बीमा अवार्ड लिएकाहरु नै भन्छन्- ‘हामीलाई झुक्याईयो’, पाउनेलाई भन्दा सुन्नेलाई लाज भएको दाबी !

काठमाडौँ । केहि समय अघि नेपालका एक बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्समा भारतीय चेम्बर अफ कमर्शका अधिकारीहरुले सम्पर्क गरे । उनीहरुले भारतमा ठुलो एउटा कन्क्लेभ हुन लागेको र सो कन्क्लेभपछि अवार्ड वितरण हुने कुरासमेत बताए । यसै पनि भारतीय चेम्बर अफ कमर्श एउटा प्रतिष्ठित संस्था हो । त्यसमाथि पनि, पीडब्लुसीजस्ता अन्त्राष्ट्रिय फर्महरुसमेत जुरीमा भएको दाबी गर्दै सो संस्थाका प्रतिनिधिले सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई सो अवार्डका लागि आवेदन दिन भनियो । सूर्यज्योति लाइफले पनि पनि अवार्ड नै पाउने भएपछि सो अवार्डमा आवेदन दियो । यसै पनि काम राम्रै गरिएको छ, कसैले अवार्ड दिने भन्दा के बिग्रिन्छ र भन्ने भयो सूर्यज्योति लाइफलाई । केहि दिनपछि सूर्यज्योति लाइफलाई अवार्ड दिने संस्थाबाट तपाईंले एउटा वा सो भन्दा बढी अवार्ड प्राप्त गर्नुभएको छ, सो अवार्ड पाउन हाम्रो कन्क्लेभमा भाग लिन आउनुपर्छ भनियो । अवार्ड आवेदन दिने बेला शुल्क लाग्दैन भनेको संस्थाले अव सो अवार्ड लिन अवार्ड कार्यक्रम अघि हुने कन्क्लेभमा भाग लिन प्रति व्यक्ति १२००० भारतीय रुपैयाँ लाग्छ भन्यो । भारतमा अवार्ड पाउने र कन्क्लेभमा पनि भाग लिन पाउने भएपछि सूर्यज्योति लाइफले सो रकम तिर्यो र सहभागीता जनाउने निर्णय गर्यो ।
अहिलेको प्रचलित व्यवस्था अनुसार कुनै पनि कम्पनीको सीइओ देश बाहिर जाँदा नियामक बीमा प्राधिकरणको स्वीकृति लिनुपर्छ । सूर्यज्योति लाइफले सोहि अनुसारको स्वीकृति लिन प्राधिकरण जाँदा पो बल्ल थाहा भयो, सो संस्थाबाट फोन आएको सूर्यज्योति लाइफलाई मात्र होइन रहेछ, अरु कम्पनीहरुलाई पनि रहेछ । र पनि केहि थिएन, अरु बीमा कम्पनीहरुले पनि छुट्टै विधामा अवार्ड पाए भन्ने होला लागेर सूर्यज्योति लाइफका सिइओ अवार्ड लिन र सो कन्क्लेभमा भाग लिन भारत गए । तर अवार्ड लिने बेलामा पो थाहा भयो, अवार्ड त एउटा होइन, एउटा कम्पनीलाई ३-४ वटा, कसैलाई मुख्य अवार्ड र कसैलाई फर्स्ट वा सेकेन्ड रनरअप भनेर अवार्ड वितरण भयो । त्यहाँ पुगेका सबैजसो बीमा कम्पनीले अवार्ड पाए, त्यो पनि एउटा होइन, ३-४ वटा नै । अनि सबैलाई आएको इमेल, सबैलाई अवार्डमा आवेदन दिन गरिएको सम्पर्क उस्तै उस्तै रहेछन् । बीमा कम्पनीहरुका सीइओहरुले आफु झुक्किएको भान जव गरे, त्यो बेलासम्म उनीहरुको हातमा किसानले बेच्न लैजाँदै गरेको मुलाजसरी ठुला ठुला तर आफैँलाई लाज लाग्छ कि भन्ने अवार्ड हात परिसकेको थियो ।
यसरी बग्रेल्ती अवार्ड बाँडिएपछि त्यहाँ पुगेका सीइओहरुले यस विषयमा बुझ्न खोजे । बुझ्दैजाँदा पो थाहा भयो, कन्क्लेभमा मान्छे बढी सहभागीता गराउन पनि अवार्डको आयोजना भएको ठहर गरे उनीहरुले । अवार्ड मात्र भन्दा विदेशबाट कोहि नजाने तर तर अवार्ड भनेपछि आउने हुनाले आयोजकले अवार्ड पनि राखेको रहेछ कार्यक्रममा । र त दिनभर कन्क्लेभ गरेर बेलुकी १ घण्टामात्र अवार्ड कार्यक्रम आयोजना गरिएको थियो ।
अवार्ड पाएकाहरु नै सन्तुष्ट देखिएनन् 
अवार्ड पाएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्सले अवार्डको प्रचारप्रसार गर्यो । उसको प्रचारप्रसार सुरु भएपछि अरु कम्पनीले पनि प्रचार प्रसार सुरु गरे । पछी त बीमा कम्पनीहरुले अवार्ड पाएको समाचार हेर्ने पाठक नै झुक्किए, सबैले अवार्ड पाएका छन्, सबैले ३-४ वटा नै पाएका छन्, अनि कुनले के कुराको अवार्ड पाएको छ भन्ने कुरा पाउनेले बाहेक कसैले थाहा पाएको स्थिति रहेन । हदै आलोचना भएपछि केहि कम्पनीले त सामाजिक संजालमा हालेको पोष्ट पनि लाजले हटाए । केहिले लाजैले अवार्ड पाएको खबर सार्वजनिक गरेनन् । जतिले गरे, उनीहरुको पनि मान भन्दा बढी बेइज्जत भयो । कारण न अवार्डको मापदण्ड बारे सार्वजनिक रुपमा आम जनतालाई थाहा छ, न अवार्ड पाएकाहरु अवार्ड पाउन लायक छन् कि छैनन् भन्ने विषयमा पनि उचित ठहर छ । र पनि, पैसा तिरेर कन्क्लेभमा पुगेकाहरुले केहि थान अवार्ड लिएर आए । अझ कतिपय सीइओ त प्रति अवार्डको ३ हजार परेको भन्दै ठट्टा गरिरहेका छन् । कतिपय सीइओहरु जान आउनसमेत खर्च लागेकाले एउटा अवार्डको १० हजार रुपैयाँजति लागेको भन्दै चर्चा गरिरहेका छन् । समग्रमा अवार्ड पाउनेहरुमध्ये अधिकांश नै अवार्ड पाएकोमा खुसी छैनन् । नपाउनेहरुले अवार्ड पाउनेहरुलाई गिज्याईरहेका छन् । अवार्ड पाउनेहरु पनि कसैले बधाई भन्दा पनि ‘नजिस्काउनुस् न यार’ भनिरहेका छन् ।कतिपयले भने चार वटा अवार्ड पाएको भन्दै फेसबुकमा खुसी साटीरहेका छन् ।
जीवन बीमक संघका अध्यक्षसमेत रहेका सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषकराज पौडेल स्वयम् पनि अवार्ड पाउँदा मज्जा नआएको तर्क गर्छन् । ‘कन्क्लेभ गज्जबको थियो । अन्य देशहरुबाट सार्है राम्रा मान्छेहरु आएका थिए । नेटवर्किङका हिसाबले सो कन्क्लेभ सार्है राम्रो भयो । तर अवार्ड वितरण सोचेजस्तो रहेनछ । फर्स्ट रनरअप वा सेकेन्ड रनर अप घोषणा नभएको भए राम्रो हुन्थ्यो ।’ पौडेलले अर्थ सरोकारसँग भने, ‘केहि समय त कसले कुन अवार्ड पाए भन्ने कुरा पनि अलमलजस्तै भएको थियो । अधिकांश साथीहरुले अवार्ड लिएपछि आफुहरुलाई झुक्याइएको महसुस गर्नुभयो । हामीले पनि अवार्ड त पायौँ, तर अवार्ड नै पाएजस्तो रमाइलोचाहीं भएन ।’
यता अवार्ड पाएका अन्य बीमा कम्पनीका सीइओहरु पनि अवार्ड पाएर खुसी नभएको तर्क सुनाउँछन् । अवार्ड पाएको खबर सुनेपछि कतिपय शुभचिन्तकहरुले फोन गर्दासमेत लाज लागेको बताउने एक बीमा कम्पनीका सीइओले आफुले अवार्ड पाएको खबर पनि नलेखिदिन आग्रह गरे । ‘मेरो नाम पनि कतै नभन्नुहोला । अवार्ड पाएको त झनै नभन्नुहोला । हामीलाई झुक्याइयो, मज्जा आएन ।’ ती सीइओले अर्थ सरोकारसँग भने ।
हिमालयन एभरेष्ट अवार्डपछि थप विवादमा
अझ अवार्ड पाएको विषयमा सतहमै रहेर केहि कम्पनीको आलोचना पनि भईरहेको छ । अवार्ड पाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि पर्छ । तर सो कम्पनीले लघु बीमा अन्तर्गत कोरोना बीमा र कृषि लघु बीमाको दाबी भुक्तानी नगरेपनि उत्कृष्ठ लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल) र अतिप्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल) अवार्ड प्रदान गरेको भन्दै अवार्ड दिने र लिने दुबैको तीब्र आलोचना भईरहेको छ ।
कोरोना बीमा र कृषि बीमाको दाबी भुक्तानीको समस्या भएको आरोप खेपीरहेका बेला कम्पनीका सीइओ विजयबहादुर शाहले उत्कृष्टताको अवार्ड थाप्दै गर्दा कम्पनीको झन् आलोचना बढ्दै गएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडले लघु बीमा अन्र्तगत कोरोना बीमा तथा कृषि लघु बीमा गरेर दावि परेका बीमीतहरुको बर्षौ सम्म पनि दाबी नगरेको गुनासो जनस्थरमा छ । नेपालमा लघु बीमा प्रोत्साहनका लागि नेपाल सरकारले बीमा प्रिमियममा अनुदान दिने ब्यवस्था गरेको छ तर त्यही अनुदान समयमा नपाएको भन्दै नेपालका निर्जिवन बीमा कम्पनीहरुले लघु बीमा गरेका बीमीतको दावि भुक्तानीमा आलटाल गर्ने गरेका छन् ।
हिमायलन एभरेष्टमा बीमा गरेका बीमीतले बीमा दाबी रकम नपाएर बीमा प्राधिकरण धाउँदा पनि सुनुवाई नभएर आन्दोलन र कम्पनीमा तालाबन्दी समेत गर्नुपरेका घटना छन् । नेपाल सरकारले अनुदान उपलब्ध गराइसकेको कृषि बीमाको दावि समेत नदिएर कम्पनीले करिव १००० भन्दा धेरै बीमीतले अझै कागजपत्र पेश गरेको करिव ८ महिना सम्म पनि दाविको चेक रकम पाएका छैनन् । कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने बिबरणमा भुक्तानी देखाएपनि बीमीतले भने चेक पाएका छैनन् ।तर सोहि कम्पनीले उत्कृष्ट कम्पनी भन्दै अवार्ड पाएको छ । यो त एउटा उदाहरणमात्र भयो, अवार्ड पाएका अधिकांस बीमा कम्पनीहरु सम्बन्धित विषयमा अब्बल देखिने खालका छैनन् ।
यता बीमा प्राधिकरणका अधिकारीहरु पनि आफुहरुलाई बीमा कम्पनीहरुले कन्क्लेभमा भाग लिन जान लागेको बताएको दाबी गर्छन् । केहि कम्पनीका सीइओहरुले अवार्ड पाउन लागेको र केहिले भने कन्क्लेभमा भाग लिन जान लागेको भन्दै स्वीकृति मागेका थिए । तर अवार्ड आयोजक वा पाउनेहरुले अवार्डसम्बन्धि विस्तृत विवरण नबताएको बीमा प्राधिकरणका अधिकारीहरुको दाबी छ ।
यसअघि पनि आयोजना भएको थियो यस्तै विवादित अवार्ड
यस अघि पनि एक भारतीय कम्पनी नेपाल आएर यसरी नै बग्रेल्ती अवार्ड बाँडेको थियो । त्यतिबेला पनि प्रति अवार्ड ५० हजार रुपैयाँ तिरेर विभिन्न कम्पनीहरुले अवार्ड लिएका थिए । तर अवार्डका नाममा मनपरी भएको गुनासो बढेपछी नेपाल राष्ट्र बैंकले विदेशी कम्पनीहरुले दिने अवार्डका विषयमा चासो दिएर कडाईसमेत गरेको थियो । ब्राण्डमा सबैभन्दा कम काम गर्नेले विदेशमा उत्कृष्ट ब्राण्ड मेनेजर अवार्ड पाएको विषयमा पनि नेपाल राष्ट्र बैंकले ध्यानाकर्षण भएको बताएको थियो । यसपाली विभिन्न कम्पनीले अनेक शीर्षकमा अवार्ड पाएपछि बीमा प्राधिकरण पनि झस्किएको छ । अव आइन्दा अवार्ड कसले दिने हो, कहाँ दिने हो भन्ने लगायतका विषय ख्याल गरेर मात्र अप्लाई गर्न प्राधिकरणका अधिकारीहरुले मौखिक सुझाव विभिन्न बीमा कम्पनीहरुलाई दिईरहेको स्वयम् बीमा प्राधिकरण र बीमा कम्पनीका सीइओहरु बताईरहेका छन् । कतिपय बीमा कम्पनीका सीइओहरुले त प्राधिकरणले यस्ता ‘वाइयात’ अवार्डमा प्रतिबन्ध लगाउनुपर्नेसमेत बताईरहेका छन् । यस्तो बताउने सीइओ, अवार्ड पाउने सीइओ नै पर्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: