×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९० लाख घुस खाएको आरोप लागेका बैंक मेनेजरलाई जिम्मेवारीबाट हटाइयो, हाकिमका अगाडि डाँको छोडेर रोए

PRIME CA

९० लाख घुस खाएको आरोप लागेका बैंक मेनेजरलाई जिम्मेवारीबाट हटाइयो, हाकिमका अगाडि डाँको छोडेर रोए

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । शिखर अर्गनाइजेसनका अध्यक्ष केदारनाथ शर्माले ९० करोड ऋण लिँदा १ प्रतिशतका दरले ९० लाख रुपैयाँ घुस बुझाएको भनी सीआईबीमा दिएको बयान अर्थ सरोकारले सार्वजनिक गरेपछि सतहमा आएको घुसकाण्डमा मुछिएका नेपाल एसबिआई बैंकका मेनेजरलाई बैंकलाई सुरुवाती कार्वाही गरेको छ । ऋणीसँग घुस खाएको विषयमा स्पष्टिकरण सोधिएकोमा उनलाई छानविन नसकिउन्जेलसम्मका लागि सबै जिम्मेवारीबाट हटाउनेगरी बैंकले कार्वाही गरेको हो ।
अहिले उनी काम गरिरहेको साबिकको शाखाबाट उनलाई बागमती प्रदेश कार्यालयमा सरुवा गरिएको छ । बैंकका साखा प्रबन्धक सन्तोष पुन:ले समेत साबिकका प्रबन्धक मनोज गौतमलाई बैंकले सरुवा गरिदिएको पुष्टी गरे । ‘अहिले मनोजजीले बोक्ने फोन मैले बोकेको छु । उहाँलाई बैंकले बागमती प्रदेश कार्यालयमा सरुवा गरिदिएको छ ।’ पुन:ले अर्थ सरोकारसँग भने, ‘अहिले उहाँ यो शाखामा हुनुहुन्न । उहाँले अहिले ९८५११३७**७ नम्बर बोक्नुहुन्छ ।’ यता सो नम्बरमा फोन गर्दा गौतमले फोन उठाएनन् ।
बागमती प्रदेश कार्यालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार गौतमलाई बैंकले सबै जिम्मेवारीबाट हटाएको छ । ‘अहिले उहाँ अफिस आउनुहुन्छ, हाजिर गर्नुहुन्छ, दिनभरी बस्नुहुन्छ, खाजा खानुहुन्छ, अनि बेलुकी ५ बजेपछि घर जानुहुन्छ । उहाँका सबै युजरहरु हटाइएका छन् । उहाँले केहि पनि काम गर्न पाउनुहुन्न ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘उनका बाँकी हिंडडुल पनि बैंकले वाच गरिरहेको छ ।’ उनका  अनुसार गौतम बेलाबेला बाहिर मान्छे भेट्नसमेत जाने गरेका छन् । उनले फोनमा अन्य साथीहरुलाई पनि आफुलाई केदारले फसाएको भन्ने प्रतिक्रिया दिने गरेका छन् । केहि समय अघि अर्थ सरोकारसँग कुरा गर्दासमेत उनले आफुले घुस नखाएको दाबी गरेका थिए ।
यसो त यो छानविनका क्रममा देखिएका घटना लुकाउन गौतमलाई उनका सहपाठीहरुलेसमेत सहयोग गरेको देखिएको छ । घुस काण्डका छानविनका तथ्यबारे बोल्नुपर्ने डरले अहिले बैंकको कार्यालय समयमा अधिकांश समय बैंकका सूचना अधिकारी रितेश अर्यालले फोन अफ गर्ने गरेका छन् । हामीले शुक्रबार विहान १० बजेर ४० मिनेट, ११ बजेर १५ मिनेट, र ११ बजेर २१ मिनेटमा फोन गर्दा पनि अर्यालको फोन थियो । यसो त यसअघि पनि बैंकले सकेसम्म यो घटनालाई लुकाउने प्रयास गरेको थियो ।
यता बैंकले गरिरहेको छानविनमा संग्लग्न एक अधिकारीले उनले घुस नखाएको प्रमाणित हुने कुनै आधार नदेखिएको दाबी गरेका छन् । ‘यो चानचुने विषय होइन । सीआईबी र अदालतमा रेकर्ड भएको विषय हो । बैंकले यो विषय गम्भीर रुपमा लिएको छ । उनले घुस खाएनन् भन्ने प्रमाण उनले बुझाउन सकेका छैनन् । उनी सीआईबीमा केदारनाथ शर्माले गरेको बयानविरुद्ध पनि अदालत गएनन्, कुनै डिफेन्स गरेनन् । यसको अर्थ गहिरो छ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘अहिले उनलाई सबै जिम्मेवारीबाट हटाइएको छ । उनलाई के कार्वाही गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ । सम्भवत: उनलाई बैंकबाट बिदा गर्नुपर्छ भन्ने लाइनमा नै बैंकले निर्णय गर्छ होला । डिफेन्स गर्नुको सट्टा छानविनका क्रममा उनलाई प्रश्न हरु सोध्दा उनी डाँको छोडेर रुने गरेका छन् ।’
बैंकका अनुसार उनलाई ‘अव उपरान्त कहिल्यै प्रमोसन नगर्नेगरी’ बैंकले कार्वाही गर्ने तयारी गरेको छ । यो तयारीबारे मोटामोटी थाहा पाएका उनी अर्को जागिरको खोजीमा छन् । तर उनलाई तत्काल कुनै बैंकले पत्याउने अवस्था छैन । त्यसैले पनि उनी तनावमा रहेको बुझिएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: