×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

अर्थ सरोकार

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार

PRIME CA

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

काठमाडौं । दसैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ-पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।

बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ ।

तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् ।

यसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकुल मानिन्छ । दसैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्ररुपमा पर्यटन क्षेत्रमा उत्साहजनक रहेको बताए । ‘पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहबर्द्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ’, उनले भने ।

पछिल्लो समय होटलका रुमको सङ्ख्या बढेका छन् । तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बौं लगानी भएका छ । यद्यपि ‘सप्लाइ’को तुलनामा माग कम भएकाले यो क्षेत्रलाई थप गतिशिल बनाउन नसकिएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, ‘पर्यटकीय पूर्वाधारमा लगानी धेरै भइसक्यो । लगानीको प्रतिफलका लागि व्यापार चाहिन्छ, छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक ल्याउन नीतिगत र संरचनागत सुधार जरुरी छ ।’

अध्यक्ष शाहले अहिले आइरहेका पर्यटकभन्दा तीन गुणा सङ्ख्यालाई सेवा दिन सकिने गरी पूर्वाधार तयार भइसकेका छन् । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको उनको भनाइ छ । उनले पर्यटकीय याममा तारे होटलमा चहलपहल बढे पनि साना होटलको व्यवसाय भने अझै फष्टाउन नसकेको उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र अबका दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षण गर्न थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुनुपर्ने, गन्तव्य पुग्ने सडक स्तरोन्नति गरिनुपर्नेमा व्यवसायीको जोड छ ।

बढे पर्यटक, बढ्यो आम्दानी

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो पर्यटक आँकडा हेर्दा मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बताए । उनले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आगामी दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालले कोभिड महामारीपछि पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको बताए । उनले भने, ‘समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाई सन्तोषजनक बनाउन सकिएको छैन ।’

पर्यटन व्यवसायी दाहालले आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीगिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गरे ।

नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गरे । उनले पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारका काम जरुरी भएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आम्दानी ५१.३ प्रतिशतले बढेर रु १७ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ अर्ब २४ करोड थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: