×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतकर्ताको रकम फिर्ता नगरी फेरी भाग्यो अर्को सहकारी !

PRIME CA

बचतकर्ताको रकम फिर्ता नगरी फेरी भाग्यो अर्को सहकारी !

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बचतकर्ताको लाखौँ रकम फिर्ता नगरी नवरंग बचत तथा ऋण सहकारी संस्था बन्द भएको छ । झापाको दमक नगरपालिका–६ स्थित उक्त सहकारी बचतकर्ताको बचत फिर्ता नगरी बिना सूचना बन्द भएको हो । सहकारी दशैँ अघिदेखि नै बन्द भएको बचतकर्ताहरुले बताएका छन् । 

बिना सूचना सहकारी नै बन्द भएपछि अहिले उक्त सहकारीमा लाखौँ रकम जम्मा गरेका बचतकर्ताहरु मर्कामा परेका छन् । ‘दशैँ अघिदेखि नै कार्यालय बन्द थियो । चाडपर्वले गर्दा बन्द भयो होला भन्ने लाग्यो । तर, अहिलेसम्म पनि कार्यालय खुलेको छैन । फोन गर्दा लाग्छ तर उठ्दैन ।’, सहकारीका एक बचतकर्ताले भने, ‘न जम्मा गरेको पैसा फिर्ता भयो न सहकारीका मान्छे सम्पर्कमा छन् ।’ 

यसो त उक्त सहकारीका अध्यक्ष र सञ्चालक बचतकर्ताको सम्पर्कमा छैनन् । यतिसम्म कि पटकपटक समन्वय गर्न प्रयास गर्दा पनि सहकारीका सञ्चालक पत्ता नलागेको कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीका रजिष्ट्रार हरिबहादुर खत्रीले बताएका छन् । खत्रीका अनुसार नवरंग सहकारीका सञ्चालक कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । ‘संस्थापक सञ्चालकसँग बुझ्दा उक्त सहकारी अरुलाई नै जिम्मा लगाइसकेको बताउँछन् ।’, उनले भने, ‘तर सहकारी दर्ता तथा अन्य कुनै पनि कागजात र तथ्यांक प्राप्त भएको छैन ।’

यद्यपि घरधनी, कर्मचारी र सहकारीका संस्थापक सञ्चालकसँग समन्वय गरेर थप विवरण जुटाउने प्रयास गरिरहेको खत्रीले बताएका छन् । 

त्यस्तै, उनले लामो समयदेखि सहकारी बन्द रहेको र बचतकर्ताको बचत फिर्ता पनि नगरेकोले पीडितहरुले प्रहरी कार्यालय वा सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिनसक्ने बताएका छन् । यसरी प्राप्त पीडितहरुको उजुरीका आधारमा थप प्रक्रिया अघि बढाइने खत्रीको भनाई छ । 

यसो त यसअघि दमक नगरपालिकाबाटै नारायणी, स्वर्गपुरी र गरिबी सहकारी बचतकर्ताको लाखौँ रकम हिनामिना गरेर फरार भएका थिए । पालैपालो सहकारी भाग्न थालेपछि दमकस्थित अन्य सहकारीका बचतकर्ताहरु पनि त्रसित बनेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: