×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ऋणको ‘पासो’मा नेपाल एयरलाइन्स, चीनबाटै ल्याइएका थोत्रा जहाज बिग्रिएपछि किस्ता तिर्नै धौ-धौ !

PRIME CA

चिनियाँ ऋणको ‘पासो’मा नेपाल एयरलाइन्स, चीनबाटै ल्याइएका थोत्रा जहाज बिग्रिएपछि किस्ता तिर्नै धौ-धौ !

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनबाट खरिद गरेका ६ वटै जहाज बिग्रिएपछि अहिले निगममाथि दायित्व थपिँदै गएको छ । निगमले २०७१ सालमा अनुदान र चिनियाँ ऋण सहयोगमा खरिद गरेका चीनमै निर्मित ६ वटा जहाजहरु बिग्रिएर थन्किएपछि जहाज खरिद गर्दा लिएको चिनियाँ ऋणको दायित्व झन् थपिँदै गएको हो ।

२०७७ सालदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ह्याङ्गरमा थनिएका यी चिनियाँ जहाजहरु बिक्री गर्न अहिले निगम लागि परेको छ । तर, जहाज बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा पनि निगमले जहाज खरिद गर्ने खरिदकर्ता भने पाएको छैन ।

पहिलोपटक निगमले जहाज बिक्रीका लागि गत पुष ५ गते बोलपत्र आह्वान गरेको थियो । त्यसबेला जहाज खरिद गर्न कसैले पनि चासो नदेखाएपछि निगमले पुनः माघ २३ गते दोस्रोपटक सूचना निकालेको थियो । जुन सूचनाको म्याद आगामी बुधबार सकिँदैछ । तर, अहिलेसम्म पनि निगमको जहाज किन्न कसैले चासो देखाएका छैनन् । चीनबाट खरिद गरिएका पाँचवटा जहाज बेच्ने निगमको यो दोस्रो प्रयास पनि असफल हुने निश्चितप्रायः देखिएको छ ।

चिनियाँ ऋण तिर्न धौ-धौ !
२०७१ सालमा नेपालले चीनबाट दुईवटा (एमए-६० र वाई-१२-ई) जहाज अनुदानमा पाएको थियो । सोही बेला नेपाल र चीनबीच भएको सम्झौताअनुसार निगमले एम-६० र तीन वटा वाई-१२-ई जहाज गरी चारवटा जहाज नेपाल-चीनबीचको जिटुजी सम्झौता अन्तर्गत ऋण सहायतामा खरिद गरेको थियो । निगमले खरिद गरेका यी पाँचवटै जहान चीनमा निर्मित जहाज हुन् ।

जहाज खरिद गर्ने क्रममा निगमले ती चिनियाँ जहाजहरु चलाउने र नाफा कमाएर ऋणको किस्ता तिर्ने सहमति भएको थियो । नेपालले जहाज खरिद गर्दा लिएको ऋणको अवधि २० वर्ष र छुट अवधि सात वर्ष रहने भनिएको थियो । तर, किस्ता तिर्ने समय आउँदा जहाज नै बिग्रिएर थन्किएपछि निगमलाई चिनियाँ ऋण तिर्नै मुस्किल भएको छ । निगमका एक उच्च अधिकारीका अनुसार ती चिनियाँ जहाजहरुबाट आम्दानी नै नभएपछि हालसम्म पनि चिनियाँ ऋणको किस्ताबापतको रकम तिरिएको छैन ।

कति छ चिनियाँ ऋण ?
यसो त निगमले त्यसबेला जहाज खरिदका लागि भन्दै चिनियाँ एक्जिम बैंकसँग २१ करोड ८७ लाख ९९ हजार ८ सय ५० चिनियाँ युआन (चार अर्ब तीन करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएको थियो ।

जसको पहिलो किस्ताबापत निगमले २०७७ कात्तिक मसान्तसम्म ८४ लाख १५ हजार २ सय २५ चिनियाँ युआन (१५ करोड ५० लाख रुपैयाँ) तिर्नुपर्थ्यो । तर, २०७७ सालदेखि नै जहाज बिग्रिएर थन्किएपछि हाल निगमलाई जहाज खरिद गर्दा लिएको चिनियाँ ऋण ‘पासो’ बनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: