Skip to content
LAXMI SUNRISE BANK

राइनासकोटमा लालिगुराँसले आकर्षित गर्दै पर्यटक

अर्थ सरोकार

काठमाडौं। समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालेको छ । लमजुङको राइनास नगरपालिका-९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालको हो ।

समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताए । माघको पहिलो सातादेखि लालिगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उनको भनाइ थियो ।

‘यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालिगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ’, गुरुङले भने । चैत-वैशाखमा फुल्ने लालिगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उनको भनाइ थियो । उनका अनुसार यहाँ आइपुगेका अधिकांशले लालिगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन् ।

नगरप्रमुख एवं होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले यतिबेला पर्यटक आगमन भइरहेको जनाउँदै घरवासमा बस्ने भन्दा घुम्ने, पिकनिक खाने प्रयोजनका लागि बढी आउने गरेको बताए । उनका अनुसार शुक्रबार, शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।

भूकम्पले यहाँका घरहरु भत्किएर पुनःनिर्माण भएपछि विसं २०७५ फागुनदेखि ११ घरबाट घरबास सुरुआत भएकामा यतिबेला सिङ्गो गाउँ (१७ घर) मा घरवास सञ्चालन भइरहेको गुरुङले जानकारी दिए । पछिल्लो समय पर्यटकको उल्लेख्य आगमन हुन थालेपछि यहाँका सबै घरमा घरबास सञ्चालन गरिएको उनको भनाइ छ । यहाँका स्थानीयवासीले यही पेसाबाट आम्दानी जीविकोपार्जन गरिरहेका नगरप्रमुख गुरुङले बताए ।

यहाँ सञ्चालित घरबासबाट वार्षिक करिब रु तीन–चार लाख आम्दानी हुँदै आएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताए । ‘घरवास सञ्चालन अघि यहाँ विकासका पूर्वाधार थिएन । गाउँबेँसी गर्न पनि समस्या थियो’, उनले भने, ‘खेतीपातीबाट उत्पादित अन्नले तीन/चार महिना मात्रै पुग्थ्यो । अहिले होमस्टे सञ्चालनमा आएपछि यहीँ व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् ।’ होमस्टे सञ्चालन गरेसँगै स्थानीयवासीको जीवनस्तरमा सुधार आएको उपाध्यक्ष गुरुङको भनाइ थियो ।

पालिकाको सहयोगमा यहाँ सञ्चालित घरबासमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको नगरप्रमुख गुरुङले जानकारी दिए । उनले कृषि र पर्यटनलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमालसहित १८ वटा हिमाल देख्न सकिन्छ । नेपाल एकीकरणको सुरुका विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय कताउँछन् । विश्वकै पहिलो योग स्तम्भ पनि राइनासकोटमा छ ।

साथै यहाँ राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव, वीरभक्ति थापाको शालिकलगायत ऐतिहासिकस्थल रहेका नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ । राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK