काठमाडौं । सोमबार साँझ सरकारसँग चार बुँदे सहमति भएपनि ४२ दिनदेखि घर छोडेर सडक संघर्षमा रहेका मिटरब्याजपीडितहरू खासै उत्साहित भने छैनन् । विगतमा पटक-पटक सहमति भएको, तर कार्यान्वयन नभएको अवस्था रहेको भन्दै उनीहरूले सरकारप्रति शंकाको दृष्टिले हेरेका छन् ।
सरकारसँग सहमतिपछि आन्दोलन स्थगित गरेका उनीहरू अब तत्कालै घर फर्किने वा न्याय पाउने थप सुनिश्चित भएपछि मात्रै फर्किने भन्नेबारे आन्तरिक छलफलमा छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारले न्याय दिलाउने आश्वासन दिएपनि आफूहरू ढुक्क हुन नसकेको बताए । ‘सरकारलाई हामीले छ बुँदे माग राखेका थियौँ । तर चार बुँदामा सहमति भएको छ,’ उनले भने, ‘हामीले सरकारको पहललाई स्वागत गरेका छौँ । सकारात्मक रुपमै लिएका छौँ । तर यतिमै ढुक्क हुने अवस्था भने छैन । किनभने विगतमा पटक पटक सरकारसँग सहमति भएपनि कार्यान्वयन भएको छैन ।’
उनले सरकारले समस्यालाई निमिट्यान्न पार्ने गरी कानूनी र राजनीतिक सहित सबै हिसावले पहल लिनुपर्ने बताए । ‘फेरि यस्तो समस्या नहोस् भनेर सरकारले आगामी बजेटबाट सम्बोधन गर्ने भनेको छ,’ उनले भने, ‘अहिलेका समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।’
त्यस्तै, मिटरब्याजको बाहनामा पीडितहरूमाथि भएको अन्याय र हिंसाका विरुद्धमा समेत मुद्दा चल्ने र दोषीलाई कारबाही गर्ने सहमति भएको उनले बताए । ‘पीडितहरूमाथि मुद्दाहरू लगाइएको छ । उनले भने, ‘पीडितहरूले ऋणका कारण मर्नुपरेको छ, महिला हिंसा भएको छ, बलात्कार भएको छ । यस्ता मुद्दाहरूमा सरकारले गम्भीरतापूर्वक छानविन र दोषीलाई कारबाही गर्नुपर्छ’ ।
उनका अनुसार मंगलबारदेखि आन्दोलनका कार्यक्रम तत्काल स्थगित गरिएको छ । तर घर फर्किने विषयमा भने पीडितहरूबीचमै सहमति भइसकेको छैन । अहिले घर फर्किए सरकारले विगतमा जस्तै आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगर्ने पो हो कि भन्ने आशंका उनीहरुमा छ । ‘हामी जिल्लागत रुपमा छलफल गर्दैछौँ, त्यसपछि साझा रुपमा के कसरी अघि बढ्ने भनेर सार्वजनिक गर्छौँ,’ अध्यक्ष कुशवाहाले भने ।
पीडितहरूले अब काठमाडौँमा बस्दा खानका लागि खानेकुरा पनि नभएको र घर गइहाल्नका लागि गाडीभाडा समेत नभएको गुनासो समेत गरेका छन् । २३ दिन पैदल हिडेर काठमाडौं आएका उनीहरू फागुन ९ गतेदेखि भृकुटीमण्डपमा त्रिपाल टाँगेर बसिरहेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः