Skip to content
LAXMI SUNRISE BANK

सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी हुँदै

अर्थ सरोकार

काठमाडौं।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी  बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उक्त गोष्ठी हुन लागेको नेफ्स्कुनले जनाएको छ ।  ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने थिमका साथ दोश्रो राष्ट्रिय गोष्ठी गर्न लागिएको नेफ्स्कुनका सिइओ डा. शिवजी सापकोटाले जानकारी दिए । गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरुको ज्ञान, सीप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पुर्याउने उनले बताए । 

गोष्ठीमा लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यास जस्ता विषयलाई समेटेर कार्यपत्रहरु प्रस्तुत गरिने हुँदा सहभागिहरुका लागि गोष्ठी उपलब्धीमूलक हुने उनको दावी छ । गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आइक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने उनले बताए । गोष्ठीबाट संस्थाहरूलाई सुशासनमा हिँडाउन र लेखा समितिमा रहेका व्यक्तिहरूको क्षमता विकासमा टेवा पुग्ने उनको भनाई छ । 

लेखा समितिको चासो र क्षेत्रहरूको बुझाइ एवम् प्रभावकारिता वृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरूपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरूबीच प्रभावकारी सम्बन्ध विकास गर्ने र सुरक्षित साकोस निर्माणका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औजारहरूको आन्तरिकीकरण गर्ने उद्देश्य गोष्ठीको छ । साकोस अभियानको नियामकीय दृष्टिकोणबाट विद्यमान समस्याको पहिचान गरी सम्बद्ध पक्षहरूको भूमिका स्पष्ट गर्ने, वित्तीय सहकारीको आन्तरिक नियन्त्रण प्रणालीका विश्व अभ्यास र नेपालको वित्तीय क्षेत्रका अभ्यासहरूको जानकारी प्राप्त गरी आगामी कार्यदिशा तय गर्ने तथा सहकारी क्षेत्रको चुनौतीपूर्ण अवस्थामा लेखा समिति लगायत नेतृत्व तहमार्फत समाधानका सम्भावना पहिचान गर्न गोष्ठी सहयोगी बन्ने नेफ्स्कूनको विश्वास छ  ।

गोष्ठीमा लेखा समितिका संयोजक, सदस्य एवम आन्तरिक लेखा परीक्षकलाई समेटिने जनाइएको छ । गोष्ठीमा सहभागिताका लागि बैशाख २० गतेसम्म नाम दर्ता गरि सक्नुपर्ने छ ।  साकोस अभियानको संस्थागत सुशासन प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणालीको मुख्य पक्ष लेखा सुपरीवेक्षण समितिको साझा एवम् स्तरीय बुझाइ विकास गर्ने उद्देश्यले २०७३ सालमा पहिलो पटक यस्तो गोष्ठी आयोजना गरेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK