Skip to content
LAXMI SUNRISE BANK

नयाँ वर्षसँगै सातै प्रदेशमा पठाओको सेवा सुरु

अर्थ सरोकार

काठमाडौं। राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

‘स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउदैँ काठमाडौँ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौँ ।’ बस्न्यातले भने ।

कोशी प्रदेशका नौ सहरहरू बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा सुरु भएको छ ।

लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ । यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानियको माग अनुसार सुदूरपश्चिम प्रदेशको विरेन्द्रनगरमा समेत सेवा बिस्तार गरिएको बस्न्यातले बताए । भविष्यमा अन्य नयाँ सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ ।

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार भएको बताइएको छ ।

बाइक राइडर बन्न इच्छुकले पठाओको सामाजिक सञ्जाल वा ०१-५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् । नविकरण गरिएको लाइसेन्स र बिलबुकसँगै इन्स्योरेन्स कागजात सहित पठाओमा आबद्धत हुन सकिन्छ । कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिन्छ ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्नेछन् ।

एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK